व्यवसाय विस्तारकालागि बर्दियाका युवालाई डिजिटल मार्केटिङ तालिम

  ।   २०८२ पुष ३, बिहीबार २२:२३

नेपालगन्ज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा बर्दियाको ठाकुरद्वारामा युवाहरूकालागि तीनदिने डिजिटल मार्केटिङ सम्बन्धी क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ ।

क्लबले ग्रीन इकोनोमी परियोजना अन्तर्गत सञ्चालन गरेको तालिममा राजापुर नगरपालिका र ठाकुरबाबा नगरपालिकाबाट समान रूपमा १५–१५ गरी जम्मा ३० जना युवाको सहभागिता रहेको थियो ।

तालिमको मुख्य उद्देश्य युवाहरूलाई डिजिटल प्लेटफर्म प्रयोग गरी आफ्ना उत्पादन तथा सेवाहरूको प्रवद्र्धन, व्यवसाय विस्तार, डिजिटल सामग्री निर्माण र अनलाइन बजार व्यवस्थापनसम्बन्धी व्यावहारिक सीप प्रदान गर्नु रहेको थियो ।

तालिमका सहजीकरणकर्ता प्रभात खड्काले डिजिटल मार्केटिङको आधारभूत अवधारणा, हरित व्यवसायमा यसको महत्व, साधारण व्यवसायिक वेबसाइट निर्माण, फेसबुक तथा इन्स्टाग्राम बिजनेस पेज सञ्चालन, मेसेन्जर मार्केटिङ, पोस्टर, रील्स, भिडियो जस्ता डिजिटल सामग्री डिजाइन तथा प्रकाशनका साथै हाम्रो बजार, दराज र नेपाल ट्रेड पोर्टल जस्ता अनलाइन बजारमा हरित उद्यम दर्ता गर्ने प्रक्रियाबारे प्रशिक्षण प्रदान गर्नुभयो ।

तालिमको समापन कार्यक्रम बाँके युनेस्को क्लबका अध्यक्ष परवेज अली सिद्दीकी, कार्यकारी निर्देशक रवि कुमार तुलाधर तथा युनेस्को काठमाडौंका शिक्षा प्रमुख डा. ध्रुवराज रेग्मीको उपस्थितिमा सम्पन्न भयो ।

समापनमा तालिमका सहभागी अस्मिता थारूले तालिमले डिजिटल मार्केटिङ, वेबसाइट डिजाइन तथा व्यवसाय प्रवद्र्धनका लागि सामग्री निर्माणमा आफ्नो क्षमता उल्लेखनीय रूपमा बढाएको बताउनुभयो । त्यस्तै अर्का सहभागी छोटरानी थारूले तालिममार्फत फेसबुक बिजनेस पेज खोल्न, वेबसाइट बनाउन र डिजिटल सामग्री तयार गर्न सिकेको भन्दै बाँके युनेस्को क्लबप्रति आभार व्यक्त गर्नुभयो ।

समापन मन्तव्य दिंदै युनेस्को काठमाडौंका शिक्षा प्रमुख डा. ध्रुवराज रेग्मीले वर्तमान समय डिजिटल युग भएको उल्लेख गर्दै प्रविधिको माध्यमबाट व्यवसाय प्रवद्र्धन गर्न सकिने सम्भावनाबारे जानकारी गराउनुभयो ।

बाँके युनेस्को क्लबका अध्यक्ष परवेज अली सिद्दीकीले तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न र सफल नेपाली उद्यमीहरूको अनुभवबाट निरन्तर सिक्न सहभागी युवाहरूलाई प्रोत्साहित गर्नुभयो ।

तालिमको प्रभावकारी कार्यान्वयनमा परियोजना अधिकृत राधेकृष्ण थारू तथा फिल्ड सुपरभाइजरहरू सञ्जिता रिजाल र कञ्चन दहितको महत्वपूर्ण भूमिका रहेको थियो ।

Next Post

मानव बेचबिखन नियन्त्रणका लागि छलफल र अन्तक्रिया

२०८२ पुष ३, बिहीबार २२:२३
नेपालगन्ज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारी तथा राजापुर नगरपालिकाको समन्वयमा मानव बेचबिखनका घटनामा प्रभावकारी समन्वयकालागि सीमा क्षेत्रमा कार्यरत जिम्मेवार निकायहरुसंग अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ । सुरक्षा परियोजना अन्तर्गत आयोजित सो कार्यक्रममा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र, नीति निर्माण तहका प्रतिनिधि तथा स्थानीय […]