नेपालगन्ज। नेपालगन्ज ख्रीष्टियन समाजको आयोजनामा ख्रीष्टमस शुभकामना आदान–प्रदान कार्यक्रम नेपालगन्जस्थित द ग्यालेक्सी दरवारमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम नेपालगन्ज ख्रीष्टियन समाजका अध्यक्ष पास्टर प्रवजन शाहीको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रममा प्रमुख अतिथि पूर्व मन्त्री मोहम्मद इस्तियाक राईले इसाई धर्मगुरु तथा सम्पूर्ण ख्रीष्टियन समुदायलाई ख्रीष्टमसको शुभकामना दिँदै नेपालगन्जलाई धार्मिक सहिष्णुता र सहअस्तित्वको सहरका रूपमा उल्लेख गर्नुभयो। उहाँले आफूलाई नेपालगन्जको विकाससँग जोडेर हेर्ने गरेको बताउँदै ख्रीष्टियन समुदायका जायज मागहरू आफू जिम्मेवारीको स्थानमा पुगेपछि सम्बोधन गरेरै छाड्ने प्रतिबद्धता जनाउनुभयो। पूर्व मन्त्री राईले भन्नुभयो, “मलाई चुरन मन्त्रीसम्म पनि भन्न भ्याए, तर आज ती कामहरू भइरहेका छन्।”
कार्यक्रममा नेपाल ख्रीष्टियन समाजका केन्द्रीय अध्यक्ष पास्टर लोक बहादुर चौधरीले लुका २:११ बाट ख्रीष्टमस सन्देश दिनुभयो। उहाँले ख्रीष्टमस केवल धार्मिक पर्व मात्र नभई मानवताका लागि आशा, प्रेम र उद्धारको सन्देश भएको उल्लेख गर्नुभयो। समाजमा सहिष्णुता, मेलमिलाप र न्याय स्थापनाका लागि ख्रीष्टियन समुदायको भूमिका अझ जिम्मेवार हुनुपर्ने उहाँको भनाइ थियो।
प्रवचनपछि शुभकामना मन्तव्य राख्दै लुम्बिनी प्रदेश ख्रीष्टियन समाजका सचिव डा. डम्बर थापाले सबैलाई ख्रीष्टमसको शुभकामना दिँदै धार्मिक सहअस्तित्व र सामाजिक सद्भावलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो। त्यसपछि अतिथि पत्रकार डा. डक्ट धितालले ख्रीष्टियन समुदायलाई अझै पनि दोस्रो दर्जाको नागरिकझैँ व्यवहार गरिएको गुनासो व्यक्त गर्दै समाधिस्थल, कार्यालय तथा संस्थागत पहिचानजस्ता आधारभूत विषयमा राज्य गम्भीर हुनुपर्ने बताउनुभयो। उहाँले यी मागहरू राज्यको प्राथमिकतामा राख्न प्रमुख अतिथिसँग आग्रह गर्नुभएको थियो।
कार्यक्रमको सञ्चालन नेपालगन्ज ख्रीष्टियन समाजका कोषाध्यक्ष राजेन्द्र सुनारले गर्नुभएको थियो भने समाजका उपाध्यक्ष प्रेम रोकायले स्वागत मन्तव्य राख्दै अतिथि तथा सहभागीहरूलाई स्वागत गर्नुभएको थियो। कार्यक्रममा आराधना तथा सामूहिक प्रार्थनासमेत गरिएको थियो।
कार्यक्रममा प्रमुख अतिथि पूर्व मन्त्री मोहम्मद इस्तियाक राई, विशिष्ट अतिथि नेपाल ख्रीष्टियन समाजका केन्द्रीय अध्यक्ष पास्टर लोक बहादुर चौधरी, लुम्बिनी प्रदेश ख्रीष्टियन समाजका सचिव डा. डम्बर थापा, पत्रकार डा. डक्ट धिताल, समाजका निवर्तमान अध्यक्ष रमेश राज रेग्मी, पास्टर कुलप्रसाद शर्मा लगायतको उपस्थिति रहेको थियो। नेपालगन्ज र आसपासका क्षेत्रबाट ७० जना भन्दा बढी पास्टर तथा ख्रीष्टियन अगुवाहरू कार्यक्रममा सहभागी भएका थिए।
कार्यक्रमको अन्त्यमा नेपालगन्ज ख्रीष्टियन समाजका अध्यक्ष पास्टर प्रवजन शाहीले समापन मन्तव्य राख्दै ख्रीष्टमसको सन्देश प्रेम, शान्ति र मेलमिलापको बाटोमा हिँड्न सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो।





