प्रमिला विश्वकर्मा
दाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले लुम्बिनी प्रदेशको दाङ, लमही–देउखुरीमा आयोजना गरेको एकता सन्देश सभा भव्यतापूर्वक सम्पन्न भएको छ। लुम्बिनी प्रदेश आयोजक समितिका अनुसार शनिबार दिउँसो आयोजित सभामा हजारौँ कार्यकर्ता तथा स्थानीय जनसमुदायको उत्साहजनक सहभागिता रहेको थियो।
कार्यक्रमलाई नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपाल, नेता भीम रावल, वर्षमान पुन लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्नुभएको थियो ।
सभामा बोल्दै नेताहरूले समसामयिक राजनीतिक अवस्था, बाम एकताको आवश्यकता र पार्टीको आगामी दिशा–निर्देशबारे विस्तृत धारणा राख्नु भयो । शीर्ष नेतृत्वका अनुसार लमहीमा सम्पन्न विशाल जनसभाले देशभर बाम एकताको शक्तिशाली सन्देश प्रेषित भएको छ।
संयोजक तथा पूर्वप्रधानमन्त्री प्रचण्डले कार्यकर्ताको व्यापक उपस्थितिले आफूहरू उत्साहित भएको बताउँदै नेकपा नै देशलाई राजनीतिक निकास दिने मुख्य शक्ति भएको दाबी गर्नु भयो । उहाँले धनगढी र लमहीमा देखिएको जनसमुदायको उपस्थितिको तुलना गर्न कठिन हुने गरी उत्साहजनक उपस्थिति भएको बताउनु भयो । उहाँको भनाइमा—“हिजो धनगढीको जनसमुदाय हेर्दा यस्तो सभा अरू कतै हुँदैन कि भन्ने लागेको थियो। तर आज लमहीमा देखिएको भीडले कुन ठूलो भनेर छुट्याउनै मुस्किल पारेको छ।”
शीर्ष नेताहरूले सभालाई आत्मालोचनाको थलोका रूपमा प्रस्तुत गर्दै विगतका गल्ती–कमजोरी स्वीकार गरे र “अब सुधार गर्ने” प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सह–संयोजक माधवकुमार नेपालले पार्टी अब जेनेरेसन अनुसार नेतृत्व विकास गर्दै नयाँ पुस्तालाई जिम्मेवारीसहित अघि ल्याउनेतर्फ केन्द्रित रहेको बताउनु भयो । साथै उहाँले नेकपाले आगामी निर्वाचनमा जनविश्वास पुनःस्थापित गर्ने दाबी पनि गर्नुभयो ।
नेकपाले शुक्रबार मात्रै धनगढीमा बृहत एकता सभा सम्पन्न गरेको थियो। सोही अभियानलाई निरन्तरता दिँदै शनिबार लमहीमा कार्यक्रम आयोजना गरिएको जनाएको छ। पार्टीले मंसिर महिनाभर देशका विभिन्न प्रदेश राजधानीहरूमा समेत एकता सन्देश सभा सञ्चालन गर्ने तयारी गरेको छ।



