सिंहको ‘सङ्गीत स्वर सरगम’ पुस्तक सार्वजनिक बहुआयामिक योगदानको कदर

  ।   २०८२ असार २१, शनिबार २२:५४

सबिता चन्द

नेपालगन्ज । वरिष्ठ कलाकार श्यामानन्द सिंह ठकुरीद्वारा लेखिएको सङ्गीत स्वर सरगम नामक आधारभूत सङ्गीत ज्ञान पुस्तक शनिबार नेपालगन्जमा एक विशेष समारोहका बीच सार्वजनिक गरिएको छ। असल शासन मिडियाले प्रकाशन गरेको उक्त पुस्तक खुशी शाही, ओनिर काफ्ले, सामान भण्डारी, समृद्धि भण्डारी लगायत सात जना बालबालिकाहरुको संयुक्त हस्ताक्षरबाट विमोचन गरिएको हो। बालबालिकाको हातबाट पुस्तक विमोचन गराउनु कार्यक्रमको प्रमुख सन्देश बन्न पुग्यो, नयाँ पुस्तासँग संगीतको परम्परा हस्तान्तरण।

कार्यक्रमको सञ्चालन असल शासन मिडियाका प्रमुख नमस्कार शाहले गर्नु भएको थियो । सो अवसरमा वरिष्ठ कलाकार सिंहलाई विशेष नागरिक अभिनन्दनसमेत प्रदान गरिएको थियो। संघीय संसद डा. धवल शमशेर राणा र लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्लेले सिंहलाई असल शासन मिडियाको तर्फबाट सम्मान–पत्र प्रदान गर्नु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डा. राणाले सिंहको योगदान केवल कलामा सीमित नरहेको, सामाजिक चेतना अभिवृद्धिमा समेत उल्लेखनीय रहेको धारणा व्यक्त गर्नुभयो । “कलाका माध्यमबाट समाज रूपान्तरण गर्न सिंहले पुर्याउनु भएको योगदानको राष्ट्रले कदर गर्नैपर्छ,” डा. राणाले भन्नुभयो । प्रदेश सांसद काफ्लेले भने सिंहको नाममा कला केन्द्र स्थापनाका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उक्त कार्यक्रममा पतञ्जली योग समिति, नील सागर आश्रम, जनमत अर्धसाप्ताहिक लगायतका दर्जनौं संस्थाहरुले सिंहलाई सम्मान–पत्र प्रदान गरेका थिए। यसले सिंहप्रतिको सामाजिक श्रद्धा र मान्यतालाई प्रतिबिम्बित गर्‍यो। 

पुस्तक प्रकाशन संयोजक हेमन्तराज काफ्लेले सङ्गीत स्वर सरगम पुस्तकलाई नेपाली संगीत साधकका लागि प्रारम्भिक र सैद्धान्तिक ज्ञान प्रदान गर्ने महत्वपूर्ण स्रोतको रूपमा चित्रण गर्नुभयो । सरस्वती सङ्गीतालयका अध्यक्ष बिरेन्द्र यादवले सिंहको व्यक्तित्वको बहुआयामिक पक्षमाथि प्रकाश पार्दै वहाँलाई ‘जीवित सङ्गीत परम्पराका संवाहक’ को संज्ञा दिनुभयो ।

दिला शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजका विभिन्न क्षेत्रका एक सयभन्दा बढी प्रबुद्ध व्यक्तिहरुको उपस्थिति थियो। कार्यक्रम केवल पुस्तक विमोचनमा सीमित नभई एक सांस्कृतिक हस्तीप्रतिको सामूहिक सम्मान र स्मरणको रूपमा परिणत भएको देखियो। श्यामानन्द सिंह ठकुरीको जीवन योगदानको कदर गर्दै आयोजित उक्त कार्यक्रमले नेपाली सांगीतिक इतिहासको एक अध्यायलाई सम्मानसाथ अभिलेख गरेको छ।

समाजमा कलालाई योगदान दिने व्यक्तिहरुको कदर गर्ने परिपाटी कमजोर हुँदै गइरहेको समयमा यो कार्यक्रमले एउटा सकारात्मक सन्देश दिएको छ। सिंहजस्ता मौन साधकहरुप्रति सम्मान दर्शाउनु केवल एक व्यक्तिलाई होइन, सम्पूर्ण सिर्जना संस्कृतिप्रतिको कदर हो।

बालबालिकामार्फत पुस्तक विमोचन गरिनु सिंहको शिक्षाशील र दूरदर्शी सोचको परिचायक बनेको छ, जहाँ संगीत केवल अभिव्यक्ति मात्र होइन, संस्कार पनि हो।

Next Post

वैदेशिक रोजगारीका लागि सीप अनिवार्य, ‘लियाना’ले स्वदेशमै स्वरोजगारको बाटो खोल्दै

२०८२ असार २१, शनिबार २२:५४
बाँके । वैदेशिक रोजगारीमा जान अब पेसागत सीप अनिवार्य भएपछि दक्ष भएर विदेशिने युवाको संख्या उल्लेख्य रूपमा बढ्न थालेको छ। सीपयुक्त कामदारको माग बढेसँगै सीप सिकेर विदेशिने प्रवृत्ति तिव्र भएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ। यही सन्दर्भमा, लियाना हस्पिटालिटी एण्ड होटल ट्रेनिङ सेन्टरले नेपालगञ्जमा कार्यालय स्थापना गर्दै लुम्बिनी, कर्णाली […]