सबिता चन्द
बाँके । नेपालगन्जको सिने रोयल हलमा सारंग फिल्म चलिरहेको छ । माघ २९ गते ३ बजे एक दर्जन पत्रकार सो हलमा फिल्म हेर्न पुग्नु भयो । फिल्मको सुरुमै पत्रकार लगायत अन्य दर्शकहरुका आँखा रसाए ।
´लहरै बसेका पत्रकारका आँखामा देखिएको आँसुले बुझ्न सकिन्छ फिल्म कति गहिरो छ´ पत्रकार डा.डक्ट धितालले बताउनु भयो । धितालले भन्नुभयो,´ यसका तीन वटा पाटा छन् । तिनै पाटामा फिल्म सारंग अब्बल छ ।`
बाल मनोबिज्ञानमा आधारित फिल्म सारंगको कथा बस्तुले अधिकांशको मन छोयो । श्रीमान र श्रीमती बसेर हेर्नै पर्ने फिल्म रहेछ भन्दै दर्शहरुले फिल्मका कलाकारको प्रसंशा गरेका थिए । बाबुआमाको व्यवहारले छोराछोरीमा नथापाउने तरिकाले प्रभाव पर्ने मनोबिज्ञानको उजागर गरेको पत्रकारहरुको बिश्लेषण छ । वरिष्ठ पत्रकार सिराज खानले सारंग फिल्म सबैले हेर्नुपर्ने बताउनु भयो । उहाले भनुभयो ´फिल्म हेरेपछि मेरो आँखाबाट आँसु झर्यो ।` एक दर्जन पत्रकारको लामले समय गएको थाहा नै नभएको उहाँले बताउनु भयो । अन्य दर्शकहरूले सबैले सारंग हेर्नै पर्ने बताउनु भयो । पत्रकार दिपेन्द्र दिधालले मेरो त हुँक्क हुँक्कको आवाज धन्नै बाहिर आउन थालेको थियो भन्दै फिल्म हेरेकोमा आफूले ठूलो शिक्षा पाएको बताउनु भयो ।
पत्रकार मात्र हैन सारंग फिल्म हेर्ने हरेक दर्शकलाई भावुक बनाउने यो फिल्मले धेरैको मनोबिज्ञानलाई समेत परिवर्तन गर्ने छ भन्ने विश्वास दर्शकको छ । फिल्म ´सारंग`मा पतिपत्नी बिचको सम्बन्ध, आमाबाबुले छोराछोरीको भावना नबुझ्दा आउने परिस्थिति, आमाबाबुको गरिव प्रतिको धारणा र अबोध बालबालिकाको साथीप्रति गर्ने व्यवहार प्रत्यक्ष देखाइएको छ ।
फिल्मा नृत्य निर्देशकको रुपमा चिनिएका प्रशान्त तामाङको लेखन तथा निर्देशन, ऋचा शर्मा, उत्पल झा, समीरमणी दीक्षित, सुरज तमु, मणि राई, अनिषा न्यौपाने, नीरज ब्ल्याक, दीपिका थापा, सुमन सागरजंग केसी, सम्राट थापा र आदित्य कार्कीले अभिनय गर्नुभएको छ । सबै कलाकारहरुले अब्बल प्रस्तुति गरेको दर्शकहरूको भनाई छ ।