नेपालगन्ज । सात महिनादेखि भारतको बिहारस्थित हाजीपुरमा अड्किएको नेपाली ब्रोडगेज रेल बिहीबार जयनगरस्थित रेल्वे स्टेसनमा आइपुगेको छ । परीक्षणका लागि आज शुक्रबार मध्याह्न जनकपुर आइपुग्ने भएको छ ।
नेपालले भारतको कोंकन रेल्वे कर्पोरेसनसँग ८४ करोड ६५ लाखमा दुईवटा ब्रोडगेज रेल खरिद गरेको थियो । कोरोना भाइरसको महामारीका कारण दुवै रेल गत फागुनदेखि भारतको बिहारस्थित हाजीपुरमा राखिएका थिए । अहिले दुवै देशमा यातायात सञ्चालन भएपछि परीक्षणका लागि रेल नेपाल ल्याउन लागिएको हो । बिहीबार जयनगर पुगेको रेल शुक्रबार जनकपुर पुग्ने नेपाल रेल्वे कम्पनीले जनाएको छ ।
रेल्वे कम्पनीका अनुसार शुक्रबार रेल नेपाल पुग्ने भएपनि फेरि भारत नै फर्किने भएकोछ । रेल सञ्चालन नभएसम्म नेपाली रेल जयनगरस्थित स्टेसनमै रहने छ । त्यसको सुरक्षाको जिम्मा तत्कालका लागि भारतीय कर्मचारीलाई नै दिइएको छ । न्यारोगेजमा जनकपुर–जयनगर २९ किलोमिटर सञ्चालन हुँदै आएको रेल ०७१ माघदेखि बन्द भएको थियो ।
लामो समयपछि रेल नेपाल पुग्ने भएपछि सर्वसाधारण हर्सित छन् । प्रधानमन्त्री केपि शर्मा ओलिले नेपालमा रेल छिटोभन्दा संचालन गर्न रेलवे कम्पनीलाई निर्देश दिएको कुरा पनि बाहिरिएको छ । रेल नेपालमा चल्ने भएपछि सर्वसाधारणको कौतहुलता बढेको छ ।