विश्वासको मत लिनुपूर्व सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभामा गर्नुभएको सम्बोधन

  ।   २०८१ जेष्ठ ७, सोमबार १३:४३

सम्माननीय सभामुखज्यू,

काठमाडौ । नेपालको संवैधानिक व्यवस्थाअनुसार विश्वासको मतका लागि एकपटक पुनः यस सम्मानित सदनसमक्ष उपस्थित भएको छु । हामी नेपाली इतिहासको अलि विशिष्ट अवस्थामा राष्ट्रको प्रतिनिधित्व गरिरहेका छौँ । कतै न कतै एउटा भाष्य बनाइँदै छ कि यो देश बन्दैन । । प्रधानमन्त्रीका रूपमा सुरूदेखि नै मेरा जोड यो गलत भाष्यका ठाउँमा देशमा जसरी पनि आशा जगाउनुमा छ । किनकि आशाहीन देश अन्ततः भविष्यहीन हुन्छ ।

यो सम्मानित संसदको साथ र सहयोगमा सरकारले सबैजसो क्षेत्रमा आशा जगाएको छ । करिब १७ महिनाअघि अत्यन्त संकटग्रस्त भनिएको अर्थतन्त्रमा अहिले ठोस सुधारको आशा जागेको छ । पछिल्ला दिनमा विश्वविद्यालयहरूबारे छलफलसम्म हुन छाडेको थियो । त्यहाँ मेरिटमा नियुक्तिहरू हुन थालेका छन् ।

लगानी सम्मेलनबाट हामीले स्वदेशी र विदेशी लगानीकर्ताको विश्वास जितेका छौँ । व्यवहारिक र नीतिगत सुधारमा सरकारले लिएको अग्रसरताले लगानीकर्तामा एकदमै सकारात्मक प्रभाव परेको छ । कतारका राजा, जापानका विदेशमन्त्री लगायतका उच्चस्तरीय भ्रमणबाट राष्ट्रको प्रतिष्ठा र अन्तर्राष्ट्रिय आयाम फराकिलो भएको छ । जलवायु परिवर्तनमा अब नेपालले पर्वतीय देशहरूका तर्फबाट विश्वव्यापी नेतृत्व गर्ने अवस्था बनेको छ । पर्यटक आगमनमा कीर्तिमान कायम भएको छ । रासायनिक मलदेखि पाठ्यपुस्तकसम्मको अभावका समाचार अब इतिहास भएका छन् । हुण्डाईको मोटर एसेम्बल प्लान्टलगायतका पछिल्ला आर्थिक गतिविधिलाई मैले विदेशी र स्वदेशी लगानीकर्तामा जागेको आशा मानेको छु ।

सम्माननीय सभामुख

योभन्दा ठूलो आशा अहिले सुशासनका क्षेत्रमा जागेको छ । पछिल्ला दिनमा लोकतन्त्र कता कता नेतातन्त्रजस्तो देखिँदै गएको थियो । राजनीतिक नेतृत्व कानुनभन्दा माथि भएको डरलाग्दो वैचारिकी बनिरहेको थियो । त्यसले समग्र व्यवस्थामाथि नै अविश्वास र घृणा बढाइरहेको थियो । तर भुटानी शरणार्थी, ललिता निवास, बाँसवारी, बाल मन्दिर, सुनकाण्ड लगायतका प्रकरणमा सरकारको निर्भिक र निष्पक्ष कारवाहीले जनतामा लोकतन्त्र र त्यसको शक्तिप्रति ठूलो भरोसा जागेको छ ।

सत्य यो हुँदाहुँदै सरकारले सबैजसो मोर्चामा सार्थक उपलब्धि र गौरव हासिल गर्दागर्दै पनि जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । यो अवस्थामा फेरि एकपटक विश्वासको मत लिन म सरकारका तर्फबाट सम्मानित संसदमा उभिएको छु । सुरूदेखिको निरन्तर सहयात्राका लागि जसपा नेपालप्रति आभारी छु । सरकारलाई समर्थन वा विरोधको उसको राजनीतिक अधिकारको पनि म सम्मान गर्छु । तर राष्ट्रका चुनौतीहरूको सामना गर्न फेरि पनि मिलेर अगाडि बढ्न आग्रह गर्छु ।

सम्माननीय सभामुख

सम्माननीय राष्ट्रपतिज्यूले नीति तथा कार्यक्रम पेश गरिसक्नुभएको र बजेटको छलफल चलिरहेको अवस्थामा म यो सार्वभौम संसदको लामो समय लिन चाहन्नँ । यत्ति भन्छु, प्रधानमन्त्रीका रूपमा मैले संसदको पहिलो सम्बोधनमै प्रतिवद्धता जनाएको थिएँ, म आज सरकारका उपलब्धिहरूको रिपोर्ट कार्डकै आधारमा यो सम्मानित संसदको विश्वासको मत माग्दछु ।

सोह्रौं आयोजनाका लक्ष्यहरू हासिल गर्न संसद र सरकारले धेरै काम गर्न बाँकी छ । सरकारका दीर्घकालिन प्रतिबद्धताहरू सम्मानित संसदको साथ र सहयोग बिना पुरा हुन सक्दैनन् । हामीले असीको दशक तीव्र विकासको दशक भनेका छौँ । त्यसका लागि बृहत छलफल र साझा राष्ट्रिय दृष्टिकोण चाहिएको छ । भारत र बंगलादेशससँग विद्युत् व्यापार सम्झौता भइसकेको र चीनसँग पनि निर्यातको सम्भावना बढिरहेका बेला गेमचेञ्जर ठूला विद्युत् आयोजनामा धेरै काम गर्न बाँकी छ । समष्टिगत आर्थिक परिसूचकहरू त सकारात्मक भए, तर अर्थतन्त्रलाई पूर्ण गतिशील बनाउन सरकार र संसदले एकीकृत प्रयास आवश्यक छ ।

म आज यो सार्वभौम संसदसँग केवल विश्वासको मत माग्दिनँ, देशमा देखिएको निराशा चिर्न सार्थक साथ र सहयोग माग्छु । लोकतन्त्रले जगाएको सामाजिक र राजनीतिक चेतनालाई लोकतन्त्रकै विरूद्ध प्रयोग गर्ने प्रयासविरूद्ध संसदको हस्तक्षेप माग्छु । संघीयताको वास्तविक कार्यान्वयन र शान्ति प्रक्रियाको तार्किक निष्कर्षका लागि यहाँहरूको प्रतिवद्धता माग्छु । नागरिक राज्यसँग ठोकिने सबै बिन्दुमा शासकीय सुधारका लागि म कृतसंकल्पित छु, त्यसमा संसदको सहयोग माग्छु, उद्यमशीलताका माध्यमबाट आर्थिक उन्नति र रोजगारीका लागि नीतिगत गाँठाहरू फुकाउन संसदको हस्तक्षेप माग्छु । निरपेक्ष गरिबीको रेखामुनि रहेको ठूलो संख्यालाई सम्मानपूर्ण जीवनसम्म लैजान एकीकृत प्रयास माग्छु ।

प्रतिपक्षका साथीहरूलाई मेरो आग्रह छ, हामी सबैको गन्तव्य राष्ट्र निर्माण भएकाले यही गन्तव्यका लागि सरकारलाई विश्वासको मत दिनोस् । त्यसले यो सम्मानित संसद राष्ट्रको निर्माणमा विभाजित छैन भन्ने सन्देश जानेछ । राष्ट्र निर्माणका लागि सरकारलाई सम्मानित संसदको निष्क्रिय होइन, सक्रिय विश्वासको मत चाहिएको छ । त्यो प्राप्त हुनेछ भन्ने मेरो विश्वास छ ।

धन्यवाद ।

Next Post

विद्युत अनियमितताबारे कांग्रेस बाँकेको चासो

२०८१ जेष्ठ ७, सोमबार १३:४३
नेपालगन्ज, । नेपाली कांग्रेस बाँकेले विद्युत अनियमितताबारे चासो व्यक्त गर्दै नेपाल विद्युत प्राधिकरणको ध्यानाकर्षण गराएको छ । सभापति नारायण प्रसाद गौडेलले आज एक प्रेस विज्ञप्ती निकालेर बढ्दो गर्मीमा विद्युत प्रवाहलाई नियमित बनाई आमनागरिकको दिनचर्यालाई सहज बनाउन गम्भीर ध्यानार्षण गराउँदै समस्या समाधानका लागि अग्रसर हुन अपिल गर्नु भएको छ । “नेपालगञ्जको […]