अज्ञात रोगले बिरामीको सङ्ख्या बढ्यो, स्वास्थ्य संस्थामा औषधि छैन

  ।   २०७७ भाद्र ३१, बुधबार ०९:०३
Close – up of many different pills and capsules

हुम्ला । जिल्लाको मध्ये क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकाको उनापानी गाउँमा अज्ञात रोगले बिरामीको सङ्ख्या बढ्दै गएको छ । विगत केही दिनयता ज्वरो आउने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने जस्ता लक्षणका बिरामीको सङ्ख्या बढ्दै गएको स्थानीय पुसे कार्कीले जानकारी दिनुभयो ।

गाउँमा हरेक दिन बिरामीको सङ्ख्या बढ्दै गएपछि अहिले १५ देखि २० जनामा त्यस्तो रोगको लक्षणका बिरामी देखिने गरेका छन् । बिरामीको सङ्ख्या बढ्दै गएपछि उपचारका लागि स्थानीय आधारभूत स्वास्थ्य केन्द्रमा जाँदा औषधिको पनि अभाव भएपछि बिरामीलाई थप समस्या भएको कार्कीले गुनासो गर्नुभयो ।

गाउँपालिका र जिल्ला स्वास्थ्य कार्यालयबाट औषधि नगएपछि बिरामीलाई थप समस्या भएको हो । थप उपचारका लागि एक बिरामीलाई गएको साता जिल्ला अस्पताल सिमकोट ल्याइएको भए पनि उनको ज्यान गएपछि त्रसित भएका स्थानीयवासीले स्वास्थ्यकर्मीको टोली खटाइ दिन आग्रह गरेका छन् ।

ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीहरुले समन्वय नगरेका कारण औषधि भए नभएको थाहा नहुने स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेम सिंहले बताए । बिरामी र स्वास्थ्य इकाइमा औषधिको अवस्था बुझेर जानकारी गराउने बताउनुभयो ।

सर्केगाड गाउँपालिका स्वास्थ्य शाखामा औषधि अभाव भएका कारण स्वास्थ्य संस्थाहरुमा समेत अभाव देखिएको संयोजक सन्तोष धामीले बताउनुभयो । केही दिनअघि गाउँपालिकामा पुगेको औषधि दाखिला गरिनसकेको उहाँले बताउनुभयो । औषधिको मुचुल्का भएको र दाखिला गरी सबै वडाका स्वास्थ्य संस्थामा पठाउने तयारी भइरहेको धामीले बताउनुभयो । रासस

Next Post

एकैदिन अहिलेसम्मकै धेरै १५३९ जनामा कोरोना सङ्क्रमण, १०६८ जना डिस्चार्ज

२०७७ भाद्र ३१, बुधबार ०९:०३
काठमाण्डौ । नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ५८ हजार तीन सय २७ पुगेको छ । गएको २४ घण्टामा एक हजार पाँच सय ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गएको २४ घण्टामा १० हजार चार सय ९४ जनाको पीसीआर परीक्षण गर्दा एक हजार […]

सम्बन्धित शीर्षक