कर्णालीमा नागरिकको स्वास्थ्य परीक्षण अभियान

  ।   २०८० पुष २२, आईतवार १४:२०

कर्णाली । कर्णाली प्रदेश सरकारले ५५ वर्षमाथिका नागरिकको स्वास्थ्य परीक्षण अभियान सञ्चालन गरेको छ । प्रदेश सरकारले सुर्खेत, रुकुमपश्चिम र हुम्लामा स्वास्थ्य परीक्षण अभियान सञ्चालन गरेको हो ।

शनिबार रुकुमपश्चिमको आठबीसकोट नगरपालिकामा आयोजित ‘नागरिक स्वास्थ्य परीक्षणका लागि स्वास्थ्यकर्मीहरूको अभिमुखीकरण’ कार्यक्रममा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेशभित्रका नागरिकको स्वास्थ्य अवस्था सुधारका लागि नागरिक स्वास्थ्य परीक्षण सुरु गरिएको बताउनुभयो । नसर्ने रोगले पछिल्लो समयमा स्वास्थ्य चुनौती आएकाले यसको रोकथाम गर्नलाई पनि स्वास्थ्य परीक्षण थालिएको उहाँले बताउनुभयो ।

अहिले तीन जिल्लामा नमूनाका रूपमा नागरिकको स्वास्थ्य परीक्षण गरे पनि यसलाई कर्णालीका सबै जिल्लामा विस्तार गर्छौँ”, उहाँले भन्नुभयो, “सरकारले स्वास्थ्य सेवालाई प्रवर्द्धनात्मक र उपचारात्मक दुवै किसिमले समुदायमा लिइरहेको छ ।” नागरिकको स्वास्थ्य परीक्षण, उपचार र जनचेतना जगाउने जिम्मेवारी स्वास्थ्य क्षेत्रमा क्रियाशील जनशक्तिको रहेको उहाँको भनाइ थियो । उहाँका अनुसार नागरिक स्वास्थ्य परीक्षणका आधारमा सरकारले स्वास्थ्य नीति र कार्यक्रम ल्याउनेछ ।

कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा रबिन खड्काले सुर्खेतको चौकुने गाउँपालिका र वीरेन्द्रनगर नगरपालिका, रुकुमपश्चिमको आठबीसकोट नगरपालिका र हुम्ला जिल्लाका ५५ वर्षमाथिका नागरिकको स्वास्थ्य अवस्था बुझ्न र सुधार ल्याउन परीक्षणकार्य सुरु गरिएको जानकारी दिनुभयो । स्वास्थ्य परीक्षणबाट प्राप्त नतिजाका आधारमा अबको पञ्चवर्षीय नीति तथा कार्यक्रम बन्ने उहाँले बताउनुभयो ।

प्रदेश सरकारले भूकम्प प्रभावित पालिकामा प्रदेश सरकार स्वास्थ्यका विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । कार्यक्रममा कर्णाली प्रदेश सरकारका प्रमुख सचिव चुडामणि पौडेलले स्वास्थ्यलाई प्राथमिकता दिएर बजेट तथा कार्यक्रम तय भएको जानकारी दिनुभयो । आठबीसकोट नगरपालिका उपप्रमुख धनकुमारी शाहीले तीनै तहका सरकारको समन्वयमा स्वास्थ्य नीति निर्माण हुनुपर्ने विचार व्यक्त गर्नुभयो । (रातोपाटीबाट)

Next Post

विपन्न, जेष्ठ नागरिक र बालबालिकालाई आगोको व्यवस्था

२०८० पुष २२, आईतवार १४:२०
नेपालगन्ज । जिल्ला प्रशासन कार्यालयले विपन्न, ज्येष्ठ नागरिक र बालबालिकालाई आगो ताप्ने व्यवस्था मिलाएको छ। शीतलहरको असर क्रमशः बढ्दै गएर उच्च ठन्डी जोखिम देखिन थालेपछि जिल्ला प्रशासन कार्यालयले आगो ताप्ने व्यवस्था मिलाएको हो । विपद् व्यवस्थापन समिति बाँकेका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले दिनुभएको जानकारी अनुसार शीतलहर र […]

सम्बन्धित शीर्षक