भेरी अस्पतालमा भूकम्पका घाइते बिरामीको सङ्ख्या शून्य

  ।   २०८० मंसिर २८, बिहीबार १५:२४

नेपालगन्ज । जाजरकोट र रुकुमपश्चिममा गत कात्तिक १७ गते राति गएको भूकम्पमा परी घाइते भई उपचारका लागि विभिन्न समयमा भेरी अस्पताल ल्याइएका बिरामीहरु निको भएर डिस्चार्ज भएसँगै अब अस्पतालमा उपचाररत घाइतेको सङ्ख्या शून्य भएको छ ।

उपचारपश्चात् कोही बिरामी निको भएर डिस्चार्ज भई घर गए भने कोहीलाई थप उपचारका लागि काठमाडौं पठाइएपछि यहाँ उपचार गराउने भूकम्पका घाइते बिरामीको सङ्ख्या शून्य भएको हो ।

बुधबार भेरी अस्पतालमा उपचाररत दुई बिरामीमध्ये एक जनालाई डिस्चार्ज गरिएको र एक जनालाई थप उपचारका लागि रिफर गरी काठमाडौं पठाइएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिनुभयो ।

बुधबार भेरी नगरपालिका–१ जाजरकोटका १५ वर्षीया अनामिका शाहीलाई डिस्चार्ज गरिएको र सानिभेरी–२ रुकुमपिश्चमका ५ वर्षीय बालक सुशान्त पुनमगरलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको फोकल पर्सन श्रेष्ठले जानकारी दिनुभयो ।

उक्त भूकम्पमा परी घाइते भएका विभिन्न जिल्लाका ६० जना बिरामीलाई उपचारका लागि भेरी अस्पतालमा ल्याइएको थियो । जसमध्ये हालसम्म ५४ जना बिरामी निको भएर डिस्चार्ज हुनुभएको हो । अस्पतालमा उपचार गराउन ल्याइएकामध्ये एक जनाको अस्पताल पुर्‍याउँदै गर्दा मृत्यु भएको र पाँच जनालाई थप उपचारका लागि जिल्ला बाहिर रिफर गरिएको अस्पतालले जनाएको छ ।

जाजरकोट र रुकुमपश्चिममा गत कात्तिक १७ गते राति गएको भूकम्पमा परी घाइते भएका बिरामीहरुलाई उपचारका लागि भेरी अस्पतालमा १८ गते बिहानदेखि ल्याउन सुरु गरिएको थियो । तत्पश्चात विभिन्न समयमा ६० जना घाइतेलाई उपचारका लागि भेरीमा ल्याइएको थियो । अस्पतालले छुट्टै ‘डिजास्टर वार्ड’को व्यवस्थापन गरेर भूकम्पका घाइतेलाई मात्र उपचार सुरु गरेको थियो ।

Next Post

भुकम्पबाट प्रभावित क्षेत्रमा सहकर्मी समाज नेपालको श्रम शिबिर

२०८० मंसिर २८, बिहीबार १५:२४
जाजरकोट । गत कार्तिक १७ गते मध्य राति जाजरकोटको रामीडाँडा केन्द्र बिन्दु बनाएर गएको बिनाशकारी भुकम्पबाट प्रभावित घरपरिवारलाई राहत सामग्री सहित श्रम सहयोग गरिएको छ ।          सहकर्मी समाज नेपाल र फास्टर्न एक्सनको सहकार्यमा जाजरकोटको भेरी नगरपालिका वडा नं। १, ४ र रुकुम पश्चिमको सानोभेरी गाँउपालिका मा […]