चौध बर्षीया बालिका हत्या गर्ने चौहान कारागार चलान

  ।   २०८० मंसिर १२, मंगलवार १०:३७

नेपालगन्ज । बाँकेमा एक चौध बर्षीया बालिकालाई कर्तव्य गरी ज्यान मारेका एक भारतीय नागरिक कारागार चलान भएका छन् ।

डुडुवा गाउँपालिका वडा नं. १ टेपरीका श्यामलाल चमारको १४ बर्षीया छोरी रिता हरिजन भन्ने सिलावती चमारलाई मारेको आरोपमा जिल्ला बहराइच थाना रुपैडिहा तहसिल नानपारा ग्राम बाबागञ्ज भारतका ३० बर्षीय महेश चौहानलाई बाँके जिल्ला अदालतले सोमबार कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो ।

प्रनाउ डाँगीका अनुसार निज चौहानले सोही ठाउँका रामकुमार बाहुनको खेत ट्र्याक्टरले जोत्ने क्रममा गत कार्तिक १४ गते खेतमा गाडिएको अवस्थामा बालिकाको शव फेला परेको भनी प्रहरीलाई सूचना दिएका थिए । सूचना प्राप्त गरेपछि शङ्का लागेर ट्र्याक्टर चालक चौहानलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा निज चौहानले नै बालिकालाई कर्तव्य गरी ज्यान मारेको खुलेको सूचना अधिकारी डाँगीले बताउनुभयो ।

चौहानले नै बालिकाको ज्यान मारेको खुलेपछि सोही अनुसार अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा पेस गरिएको र बाँके जिल्ला अदालतले सोमबार चौहानलाई पुर्पक्षमा कारागार कार्यालय बाँकेमा चलान गरेको उहाँले जानकारी दिनुभयो ।

चौहानलाई मुलुकी फौजदारी संहिता २०७४ को दफा १७७ बमोजिम जन्म कैद हुन सक्ने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भारत घर भएका चौहान डुडुवा गाउँपालिका वडा नं. १ गुलरिया गाउँस्थित आफ्नो ससुराली घरमा बस्दै आएका थिए ।

 

Next Post

अवैध कुर्ता सुरुवाल बरामद

२०८० मंसिर १२, मंगलवार १०:३७
नेपालगन्ज । बाँके प्रहरीले भारतबाट अवैधरुपमा भन्सार छली गरी नेपाल ल्याइएका कुर्ता सुरुवाल बरामद गरेको जनाएको छ । सोमबार भारतबाट भन्सार छली गरि ल्याइएका कुर्ता सुरुवाल नेपालगन्जबाट बरामद गरेको वडा प्रहरी कार्यालय नेपालगन्जले जनाएको छ । प्रहरीका अनुसार उक्त सामानको मूल्य ६२ हजार रुपैयाँ बराबरको रहेको छ । बरामद गरिएका […]

सम्बन्धित शीर्षक