नेपालगन्जका गल्लीमा जुम्ला सिँजाका भट्ट

  ।   २०८० कार्तिक २८, मंगलवार १८:३६

नेपालगन्ज । कनकासुन्दरी गाउँपालिका-८, भट्टभण्डारी गाउँ सिंजा जुम्लाका देवऋषि भट्ट अहिले नेपालगन्जका विभिन्न सडक र टोल टोलमा भेटिनुहुन्छ ।

५७ वर्षीय भट्ट आफ्नो पाखुरामा पाँच सातवटा अल्लोबाट निर्मित जुहारीकोट र पछाडी झोला बोकेर टोल टोल र घरघरमा बिक्री गर्दै हिँड्दै गरेको भेटिनुहुन्छ । भट्ट जुम्लादेखि अल्लोबाट निर्मित जुहारीकोट बिक्री गर्नका लागि अहिले नेपालगन्ज आउनुभएको हो ।

भट्टले अल्लोका जुहारीकोट मात्र नभएर सिजन अनुसारका राडी पाखी, गलैंचा, सिरकका खोल तथा तन्नाहरुलगायतका सामग्रीहरु बिक्री गर्ने गरेको बताउनुभयो । “मैले यस्तो घुमन्ते व्यवसाय गर्न थालेको २५ वर्ष पुगिसक्यो । घरमा तीन छोरा, बुहारीहरु श्रीमति नाति नातिना गरेर १० जनाको परिवारलाई यसै पेसा व्यवसायबाट पालेको छु ।” उहाँले भन्नुभयो, “तीन छोरामध्ये जेठो छोरा दुबई गएको छ । माइलो र कान्छो छोराले पनि यही पेसा अङ्गालेका छन्, बाँच्नका लागि केही न केही त गर्नुपर्‍यो ।”

विगत २५ वर्षदेखि घुमन्ते व्यवसायमा रमाई रहनुभएका भट्टले धन दौलत कमाउन नसकेको प्रति भने चिन्ता व्यक्त गर्नुभयो । “२५ वर्षदेखि गरेको यो पेसाबाट रुपियाँ पैसा कमाउन सकिन, परिवारको पेटसम्म पालिरहेको छु, आधाभन्दा बढी जिन्दगी विभिन्न ठाउँका कुना कन्दारा घुमेरै बित्यो, परिवारको लागि एउटा घरसम्म पनि बनाउन सकिन ।” भट्टले भन्नुभयो, “जेठो छोरो बाहेकको नौ जनाको परिवार बैजनाथको बानियाभारमा भाडाको घरमा बसिरहेका छौं, मुस्किलले भाडा तिर्न र परिवारको पेट पाल्नका लागि मात्रै यो पेसाले धानेको छ ।”

“परिवारलाई राम्रो शिक्षादिक्षा दिने, सहरमा सुख दिने भनेर सबै जनालाई बाँकेमै ल्याएर राखें, तर ती सपना पूरा हुन सकेनन् । न त राम्रो शिक्षा नै दिन सकियो, न त जग्गा जमिन र घर नै जोड्न सकियो ।” उहाँले गुनासो गर्नुभयो ।

उहाँले जुहारीकोट आफ्नै हातबाट बनाउने गरेको र राडीपाखी, खोल तन्ना, गलैंचा चाहिँ खरिद गरेर बिक्री गरेको बताउनुभयो । “सिस्नो टिप्नु प¥यो, पानीमा भिजाउनु प¥यो, उमालेर सुकाउनु प¥यो अनिमात्र चर्खामा कातेर तानबाट यसलाई बनाउनु प¥यो । धेरै दुःख छ यसमा । तर, कोही कोहीले सित्तैमा ल्याएर बेच्न लागेको जस्तो गरेर निकै कम मूल्य भन्नुहुन्छ, हेप्ने गर्नुहुन्छ, हामी घुमन्ते व्यापारीलाई हेर्ने दृष्टीकोण नै नराम्रो राख्नुहुन्छ । दुःख लाग्छ । हाम्रो दुःख, परिश्रम र लगानीको वास्ता गर्नुहुन्न ।” भट्टले दुखेसो पोख्नुभयो ।

शुद्ध जडीबुटीबाट निर्मित अल्लोको जुहारीकोट लगाउँदा ब्लड सुगर प्रेसरजस्ता रोगहरु नियन्त्रणमा राख्ने र सधैँभरी शीतलता प्रदान गर्ने उहाँ बताउनुहुन्छ । अल्लोको सामान बाह्रै महिना बिक्री हुने र राडीपाखी, गलैचा लगायतका सामान भने सिजन अनुसार बिक्री हुने गरेको उहाँले बताउनुभयो ।

सिजन अनुसारको सामानहरु लिएर बाँके, बर्दिया, सुर्खेत, दैलेख, दाङ, कैलाली, कञ्चनपुरमात्र नभएर नेपालका धेरै जिल्लाहरुमा पुग्ने गरेको उहाँले बताउनुभयो । सिस्नो तयार हुने सिजनमा आफू जुम्ला पुगेर अल्लोको सामग्री तयार गर्ने र ती सामग्रीहरु लिएर तराई झरेर व्यापार गर्ने गरेको भट्ट बताउनुहुन्छ । अल्लो पहाडी जिल्लामा पाइने चाल्ने सिस्नोबाट बन्ने र यो बहुउपयोगी बनस्पति भएको उहाँले जानकारी दिनुभयो ।

Next Post

बाँके खजुराकी गुरुङको फूल खेती

२०८० कार्तिक २८, मंगलवार १८:३६
बाँके । बाँके खजुराकी महिला उद्यमी अरुणा गुरुङ सिभिल इन्जिनियरिङको विद्यार्थी हुनुहुन्छ । गुरुङले नेपालगञ्जको नेशनल इन्जिनियरिङ कलेजबाट सिभिल इन्जिनियरिङमा डिप्लोमा कोर्स उत्तीर्ण गर्नुभएको छ । खजुरा गाउँपालिका –३ की स्थायी बासिन्दा महिला उद्यमी गुरुङले खजुराकै २ नम्बर वडाको के गाउँमा सयपत्री फूलको खेती गर्दै आउनुभएको छ । उक्त ठाउँमा […]