भुकम्पमा परि मृत्यु भएका हरुको सम्झनामा आइतबार सार्वजनिक बिदा

  ।   २०८० कार्तिक १९, आईतवार १४:४६

नेपालगन्ज । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले शुक्रबार राति गएको भूकम्पमा परी मृत्यु भएकाहरूको सम्झनामा आज सार्वजनिक बिदा दिएको छ ।

साथै नगरकार्यपालिकामा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ । नगरप्रमुख रवि केसीले जाजरकोट र रुकुम पश्चिम जिल्लामा भूकम्पबाट  मानवीय एवं भौतिक संरचनामा पनि  क्षति पुर्‍याकाले आठबीसकोट नगरपालिकाले  सार्वजनिक बिदा दिइ उद्धारमा एकीकृत हुन आह्वान गरेको बताउनुभयो ।

उहाँले  कठिन परिस्थितिमा आ–आफ्नो ठाउँबाट राहत तथा उद्धारमा जुट्न नगरवासीलाई अनुरोध गर्नुभएको छ । भूकम्पपीडितको राहत तथा पुनःस्थापनाका लागि नगरपालिकामा कार्यरत शिक्षक, कर्मचारी र जनप्रतिनिधिले एक–एक महिनाको तलब नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरिएको नगरप्रमुख केसीले जानकारी दिनुभयो ।

तत्कालका लागि मृतकका परिवारलाई रु २५ हजारका दरले किरिया खर्च उपलब्ध गराइने नगरपालिकाले जनाएको छ । उपप्रमुख धनकुमारी शाहीको संयोजकत्वमा ११ सदस्यीय विपद् क्षति लगत सङ्कलन मूल्याङ्कन समिति निर्माण गरिएको नगरप्रमुख केसीले जानकारी दिनुभयो । नगरपालिकामा मानवीय र भौतिक संरचनामा क्षति पुगेकाले दातृ निकाय, सङ्घसंस्थालाई सहयोग गर्न नगरपालिकाले अपिल गरेको छ ।

शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको थियो । सोही भूकम्पमा परी ४२ जनाको मृत्यु भएको छ भने सात जनाको प्रादेशिक अस्पताल सुर्खेत र ९५ जनाको नगर अस्पताल राडीम उपचार भइरहेको नगरप्रमुख केसीले जानकारी दिनुभयो । पहिलो चरणको उद्धार सकिए पनि आजबाट भने राहत वितरणको काम सुरु हुने नगरपालिकाले जनाएको छ । रासस

Next Post

१३ जनाको सामुहिक दाहसंस्कार

२०८० कार्तिक १९, आईतवार १४:४६
नेपालगन्ज । जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर १ च्युरी गाउँमा भूकम्पमा परि ज्यान गुमाएका १३ जनाको सामुहिक दाहसंस्कार गरिएको छ। उनीहरूको स्थानीय नलगाड खोलामा सामुहिक दाहसंस्कार गरिएको हो। शुक्रबार रातिको भूकम्पमा नलगाड नगरापलिका वडा नम्बर १७ जनाको मृत्यु भएकोमा १३ जना च्युरी गाउँका मात्रै हुन्। च्युरी गाउँमा एकै परिवारका चारजनासहित […]