सम्भावित दुर्घटनाबाट बचाउन बाँकेको कम्दीस्थित राप्ती नदीमा उद्धार टोली तैनाथ पारिएको छ । दुर्गा मूर्ति विसर्जन कार्यलाई सुरक्षित बनाउन र हुन सक्ने सम्भावित दुर्घटनाबाट बचाउन राप्ती नदीको सिधनीया घाटमा उद्धार टोली खटाइएको बाँकेका प्रजिअ श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो ।
प्रजिअ पोखरेलका अनुसार राप्तीसोनारीको अगैयास्थित राप्ती नदीमा पनि गोताखोरसहितको उद्धार टोली परिचालन गरिएको छ । कतिपय ठाउँहरुमा दुर्गा मुर्ति विसर्जनका क्रममा नदीमा डुबेर बेपत्ता हुने तथा ज्यानसमेत जाने घटनाहरु भइरहेको हुँदा सर्वसाधारणलाई नदीबाट हुने सम्भावित दुर्घटनाबाट बचाउन गोताखोरसहितको टोली परिचालन गरिएको प्रजिअ पोखरेलले बताउनुभयो ।
राप्ती नदीको सिधनियाघाट र अगैयास्थित घाटमा बाँकेका विभिन्न स्थानमा राखिएका दुर्गाका मूर्तिहरु विसर्जन गरिने परम्परा छ । ती घाटमा अत्यधिक भीडभाड हुनेगर्छ ।
मूर्ति विसर्जनका क्रममा निस्कने रैलीलाई सभ्य, शान्त, अनुशासित एवम् मर्यादित बनाउदै आफ्नो टोल र समुदायमा रहेका दुर्गा भवानीको मूर्ति विसर्जन कार्य साँझ ५ बजेभित्रै सम्पन्न गर्न प्रजिअ पोखरेलले जिल्लावासीलाई आग्रह गर्नुभएको छ ।