बाउले छोरालाई मार्न खोज्दा प्रहरीद्वारा उद्धार

  ।   २०८० कार्तिक १०, शुक्रबार १५:१४

नेपालगन्ज । बाँकेको कोहलपुरमा एकजना बाबुले आफ्नै २० दिनको बालक छोरालाई बन्धक बनाएर मार्न खोज्दा प्रहरीले बालकको उद्धार गरेको छ ।

कोहलपुर –२ दीपनगरका कुशल थापाले आफ्नै २० दिनको नवजात छोरालाई आफ्नै घरमा बन्धक बनाएर परिवारका अन्य सदस्यलाई बाहिर राखी भित्रबाट चुकुल लगाएर मार्ने धम्की दिएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिनुभयो ।

सूचना पाएपछि उद्धारका लागि गएको प्रहरी टोलीमाथि थापाले चक्कु प्रहार गर्दा इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी सुन्दर तिवारी घाइते हुनुभएको डिएसपी डाँगीले जानकारी दिनुभयो ।

डिएसपी तिवारीले थापालाई झ्याल बाहिरबाट लामो समयसम्म सम्झाउने प्रयास गर्दा पनि नमानेपछि झ्यालबाट भित्र छिर्ने क्रममा तिवारीमाथि चक्कु प्रहार गरेका थिए । चक्कुको झटारोबाट डिएसपी तिवारीको दाहिने हातको कुहिनामा चोट लागेको र उपचारका क्रममा ७–८ वटा टाँका लगाइएको प्रहरी प्रवक्ता डाँगीले बताउनुभयो ।

त्यसपछि प्रहरी टोलीले ढोका फोडेर थापालाई नियन्त्रणमा लिएको थियो । गए राति करिब ११ बजेदेखि थापाले छोरालाई बन्धक बनाएर मार्ने धम्की दिँदै गर्दा परिवार र आफन्तले उद्धारका लागि प्रहरीलाई खबर गरेका थिए । परिवारको भनाइलाई उद्धृत गर्दै प्रहरी प्रवक्ता डाँगीले थापाको मानसिक सन्तुलन ठीक नभएको बताउनुभयो ।

Next Post

शिशु फोटो प्रतियोगिता हुँदै

२०८० कार्तिक १०, शुक्रबार १५:१४
नेपलगन्ज । तिहारको अवसर पारेर नेपालगन्जमा ‘परम्परागत नेपाली पोशाक शिशु फोटो प्रतियोगिता’ सञ्चालन हुने भएको छ । नेपालगन्जमा जैविक कपडा (कोक्रोमा)को उत्पादनहरु विक्रीवितरण गर्दै आएको नाना चाचाले तिहारको अवसर पारेर नेपाली संस्कृति र परम्परा जोगाउने उद्देश्यले ‘परम्परागत नेपाली पोशाक शिशु फोटो प्रतियोगिता’ सञ्चालन गर्न लागेको सञ्चालक नीता जिसीले बताउनुभयो । […]