नेपालगन्जको ट्राफिक लाईट जडान कार्यले तीव्रता पाउने

  ।   २०८० कार्तिक ३, शुक्रबार १२:४१

नेपालगन्जमा ट्राफिक लाइट जडान गर्ने कार्यले अब तीव्रता पाउने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बाँकेका प्रजिअ श्रवणकुमार पोखरेलको नेतृत्वमा बसेको सरोकारवालाको बैठकले उक्त कार्यलाई तीव्रता दिइने निर्णय भएको बताइएको छ ।

ट्राफिक लाइट जडानका लागि ठेकेदारले स्ट्रिट लाइटका पोल गाड्ने तथा भूमिगत तार बिछ्याउने प्रयोजनले खनेका नेपालगन्जका सडकका खाल्डाखुल्डी पुर्ने, त्यसमाथि पिचिङ गर्ने, फिनिसिङ गर्ने कार्यहरु अब तुरुन्तै सम्पन्न गर्नका लागि ठेकेदार प्रतिनिधिलाई निर्देशन दिइएको बाँकेका प्रजिअ श्रवणकुमार पोखरलले जानकारी दिनुभयो ।

त्यसैगरी बिपीचोक र धम्बोझी चोकको बीचमा पर्ने नालामाथिको कल्भर्ट बनाउने कामपनि यथाशीघ्र सम्पन्न गर्न सम्बन्धितलाई निर्देशन दिइएको छ । “नेपालगन्जमा ट्राफिक लाइट जडान गर्ने कार्यका लागि सुरु गरिएको काम विगत लामो समयदेखि अलपत्र रहेछ, धेरै ढिलासुस्ती भयो भनेर धेरै जनगुनासाहरु आएका रैछन्, मेयरज्यूले पनि अनुरोध गरेपछि सम्बन्धित सरोकारवासँग बैठक बसियो ।” प्रजिअ पोखरलले भन्नुभयो, “सरोकारवालाको छलफलमा ठेकेदारले तीन दिनभित्र सडकका खाल्डाखुल्डी पुरेर पिचिङ गरेर फिनिसिङ गर्ने प्रतिबद्धता जनाएको छ ।”

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले ठेकेदारले सडक डिभिजन कार्यालयसँग ठेक्का सम्झौता गरी ट्राफिक लाइट जडान कार्य सुरु गरेको भन्दै सडक डिभिजन र ठेकेदारको ढिलासुस्तीले समयमा काम सम्पन्न हुन नसकेको बताउनुभयो ।

“हामीले ठेक्का दिएका होइनौं, सडक डिभिजनले ठेक्का सम्झौता गरेको हो, मैले पटकपटक मात्र होइन धेरैपटक सडक डिभिजनलाई अनुरोध गर्दा पनि समयमा काम हुन सकेन, त्यसपछि सम्बन्धित सबैलाई बोलाएर सिडिओकहाँ छलफल गरियो ।” उहाँले भन्नुभयो । काममा ढिलाइ हुनुमा सबै कमजोरी सडक डिभिजनको रहेको उहाँले बताउनुभयो । सिडिओको समन्वयमा बसेको सरोकारवालाको बैठकबाट अब कामले नतिजा ल्याउने प्रमुख विष्टले बताउनुभयो ।

स्ट्रिट लाइट, ट्राफिक लाइट तथा नाला माथिको कल्भर्टको काम तदारुकताका साथ अघि बढाउन सम्बन्धितलाई निर्देशन दिइएको र काम पनि सुरु भइसकेको उहाँले बताउनुभयो । ठेकेदारले दसैंपछि ट्राफिक लाइट जोड्ने प्रतिबद्धता गरेको उहाँले बताउनुभयो ।

रत्न राजमार्गअन्तर्गत जमुनाहा–कोहलपुर सडक खण्डमा पर्ने नेपालगन्जको राँझा चोक, पुष्पलाल चोक, धम्बोझी चोक, बिपी चोक र गणेशमान चोक गरी पाँच स्थानमा ट्राफिक लाइट जोड्ने प्रयोजनले गत साउनको पहिलो हप्तादेखि ठेकेदारले सडक खनेर अलपत्र अवस्थामा छोडेको थियो ।

महिनौंदेखि हरेक चोकका सडक खनेर अलपत्र छोडिदिँदा दैनिकजसो सवारी दुर्घटना हुने गरेका थिए । पैदल हिँड्ने यात्रु तथा सवारी साधनलगायतलले धेरै सास्ती खेप्नुपरिरहेको थियो । केहि दिनदेखि भने ठेकेदारले पोल तथा तार बिछ्याउँदा खनेका खाडलहरु पुरेर पिच गर्ने कार्य सुरु गरे पनि निरन्तरता भने दिएको थिएन । बिहीबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बसेको बैठकमा नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्ट, विद्युत् प्राधिकरण कार्यालयका प्रमुख, सडक डिभिजन कार्यालयका प्रमुख तथा सम्बन्धित ठेकेदारको उपस्थिति थियो ।

Next Post

रुपैडिया-जमुनाह नाका भएर नेपाल पस्नेहरुको संख्यामा कमी

२०८० कार्तिक ३, शुक्रबार १२:४१
नेपाल–भारत सिमाक्षेत्रस्थित बाँकेको जमुनाहा नाका नेपालकै ठूलोमध्येको एक हो । यो नाका भएर नेपालबाट भारत र भारतबाट नेपाल आउने–जाने नागरिकको उल्लेख्य चहलपहल हुनेगर्छ । तर यसपाली दसैंमा घर आउने नेपालीको संख्या तुलनात्मक रुपमा कम रहेको छ । इलाका प्रहरी कार्यालय जमुनाहाका प्रमुख प्रहरी बरिष्ठ नायव निरीक्षक मीनबहादुर विष्टले पहिलाका बर्षभन्दा […]

सम्बन्धित समाचार