जुम्लाका एमाले नेता शाही विरुद्ध बालबालिका विरुद्धको कसुर मुद्दा दर्ता

  ।   २०८० आश्विन २३, मंगलवार २२:५७

सुर्य प्रसाद धिताल

जुम्ला । नेकपा एमाले जुम्लाका उपाध्यक्ष सुरत बहादुर शाहीविरुद्ध बालबालिका विरुद्धकाे कसुरमा मुद्दा दर्ता भएकाे छ । एक १७ वर्षीया किशोरीलाई यौनजन्य क्रियाकलापका लागि प्रस्ताव गरेकाे आराेपमा नेता शाहीविरूद्व मंगलबार जिल्ला प्रहरी कार्यालय जुम्लामा मुद्दा दर्ता भएकाे हाे ।

यसअघि शाहीले तातोपानीकी एक किशोरीलाई यौनजन्य क्रियाकलापका लागि प्रस्ताव गरेकाे, फकाएकाे र प्रलोभनमा पार्ने गरि फाेन गरेकाे अडियो सार्वजनिक भएकाे थियाे । त्यसपछि उक्त  घटना बाहिरिएको हाे ।

पीडित किशोरीका बुबाले दिएकाे जाहेरीकाे आधारमा मुद्दा दर्ता भएकाे जुम्लाका डिएसपी प्रह्लाद कार्कीले बताउनुभयो । ‘पीडित किशोरीका बुबाले जाहेरी दिनु भएकाे छ,’ उहाँले भन्नुभयो, ‘बालबालिका सम्बन्धि ऐन २०७५ अनुसार मुद्दा दर्ता भएकाे छ।’ सार्वजनिक भएकाे अडियाेमा नेता शाहीले बालिकालाई प्रवेश परिक्षामा नाम निकालिदिने, पढाइदिने, ट्युसन खर्च आफै बेहाेरिदिने र बदलामा याैन सम्बन्ध राख्न दिनुपर्ने  तथा संवेदनशील फाेटाे पठाउनुपर्ने भनि प्रस्ताव गरेकाे अडियो सार्वजनिक भएकाे छ।

पीडक शाही र पीडित किशाेरी एउटै गाउँका हुुन् । किशाेरीकाे नाताले ठूलो बुबा पर्छन्, शाही । उनले याैन सम्बन्ध राख्न दिनुपर्ने सर्त म्यासेन्जर र फाेनमा समेत गर्न थालेपछि अत्ति भएर रेकर्ड गरेकाे पीडित किशोरीले बताएकी छिन्। ‘सुरुमा मलाई म्यासेज गर्दा हाम्राे गाउँकाे ठूलाे नेताले सम्पर्क गरे। हाम्राे पनि काेही रहेछ भन्ने लाग्याे,’ पीडित किशाेरीले भनिन्, ‘ठूलाे बुबा भनेर आश मानेकाे त अपराधिक मानसिकता रहेछ। मलाई अत्ति नै भएपछि मुद्दा पक्रियामा जानुपर्ने स्थित आएकाे हाे।’

किशाेरी काठमाडौंमा ११ कक्षामा अध्ययनरत छन् ।  बालिकालाई नेता शाहीले नर्सिङ पढाइदिने भनी प्रलोभनमा  पार्ने प्रयास गरेकाे पीडित किशाेरीकाे भनाई छ । उनले नेता शाहीलाई प्रचलित कानुन अनुसार सजाय दिलाउन न्यायकाे ढाेका ढकढक्याउन पुगेकाे बताएकी छन्। ‘म्यासेज र फाेनमा याैन प्रस्ताव राखेर तनाव दिन थालेपछि मैले कल रकेर्ड गरेकी हुँ,’ उनले भनिन्, ‘त्याे रेकर्ड गरेकाे अडियाे र उसले गरेका म्यासेजहरु प्रमाणकाे रुपमा पेस गरेकी छु।’

किशोरीका बुबाले बालबालिका सम्बन्धि ऐन २०७५ काे दफा ६६ काे उपदफा (३) खण्ड (ग) बमोजिम जाहेरी लिएर जिल्ला प्रहरी कार्यालय जुम्लामा दर्ता गरेकाे बताउनु भएको छ । ‘हामी साेझा मान्छे देखेर आफ्नै छाेरी समान माथि नेता शाही याैन अपराध गरे,’ उहाँले ‘मेरी छाेरीले न्याय पावस र दाेषीलाई सजाय हाेस भनी जाहेरी दिएकाे हुँ।’

यस्ताे छ, कानुनी व्यवस्था 

उहाँले साेही ऐनकाे परिच्छेद ९ मा रहेकाे बालबालिका विरुद्धको कसुर अन्तर्गत मुद्दा दर्ता गर्नुभएको छ । खण्ड (ग) अनुसार ‘यौनजन्य क्रियाकलापका लागि प्रस्ताव गर्ने, फकाउने, दबाब दिने वा धम्काउने, गरेकाे खण्डमा दुर्ववहार गरेकाे मानिने’ भनी उल्लेख गरिएकाे छ।

ऐनकाे परिच्छेद ९ दाफा ७२ काे उपदफा ३ काे खण्ड (ख) मा ‘दफा ६६ को उपदफा (२) को खण्ड (छ), (ञ), (ट), (ठ), (ड), (ण) वा (थ) वा उपदफा (३) को खण्ड (क), (ख), (ग), (ङ), (च) वा (ञ) बमोजिमको कुनै कार्य गरेमा पचहत्तर हजार रूपैयाँ सम्म जरिबाना र तीन वर्षसम्म कैद गरिनेछ’ भनी लेखिएकाे छ।

त्यस्तै ऐनकाे दफा ७३ मा बाल अदालतले प्रचलित कानून र ऐन बमोजिमको बालबालिका विरुद्धको कसूरको कसूरदारलाई भएको जरिबानाको रकमभन्दा कम नहुने गरी पीडित बालबालिकाको शिक्षा, शारीरिक तथा मानसिक स्वास्थ्य, विकास र परिवारमा पुगेको हानी समेतको विचार गरी मनासिब क्षतिपूर्ति एकमुष्ठ वा आवधिक रूपमा कसूरदारबाट भराइदिने व्यवस्था गरेकाे छ।

पीडित बालिकाले ऐनकाे दफा ७४ काे उपदफा (१) मा उल्लेखित दफा ६६ अन्तर्गत प्रचलित कानूनकाे हदम्याद भित्र जाहेरी लिएर मुद्दा प्रक्रियामा गएकाे बताएकी छिन्।

नेता शाही यसअघि २०७४ र २०७९ मा तातोपानी गाउँपालिकाकाे अध्यक्ष पदका उम्मेदवार बनेका थिए। दुई पटक पराजित भएका उनी आउँदाे स्थानीय तहकाे चुनावमा पनि प्रत्यासीकाे रुपमा चर्चा गरिएका पात्र हुन् ।

Next Post

नेपाल-जर्मन बीच दक्ष श्रम आप्रवासन र ज्ञान आदानप्रदान सम्बन्धि संयुक्त हस्ताक्षर

२०८० आश्विन २३, मंगलवार २२:५७
काठमाडौँ । नेपाल र जर्मनीले दक्ष श्रम आप्रवासन र ज्ञान आदानप्रदान सम्बन्धी संयुक्त घोषणापत्र (जेडीओएल) मा हस्ताक्षर गरेका छन् । श्रममन्त्री शरतसिंह भण्डारी र जर्मनीको संघीय श्रम तथा सामाजिक मामिला राज्य सचिव (उपमन्त्री) लियोनी गेबर्सको उपस्थितिमा हस्ताक्षर गरिएको हो । उक्त घोषणापत्रमा नेपालको तर्फबाट नेपाली राजदूत रामकाजी खड्का र जर्मन […]

सम्बन्धित शीर्षक