कर्णालीको भेडाच्याङ्ग्रा बिक्री गर्न गण्डकी प्रदेशको म्याग्दीसम्म

  ।   २०८० आश्विन २३, मंगलवार १६:१८

नेपालगन्ज । कर्णाली प्रदेशको जुम्लाका कृषक भेडाच्याङ्ग्रा बिक्री गर्न १७ दिन हिँडेर गण्डकी प्रदेशको म्याग्दी आएका छन् । जुम्लाको पातारासी गाउँपालिका–३ का तीर्थराज बोहराको टोली दुई सय ७० भेडाच्याङ्ग्रा हिँडाएर १७औँ दिनमा आज म्याग्दीको सदरमुकाम बेनी आइपुगेका हुन ।

‘हामीले गाउँमा पालेकाबाहेक बझाङ र बाजुराबाट खरिद गरेर ल्याएका भेडाच्याङ्ग्राको बजार खोज्दै बेनी आइपुगेका हौँ’, उहाँले भन्नुभयो ‘यहाँ ल्याइपुर्‍याउँदा एउटा रोज्जा च्याङ्ग्राको मूल्य रु ५० देखि ५५ हजार परेको छ ।’ उनीहरु जुम्लादेखि डोल्पा, रुकुमपश्चिम, ढोरपाटन हुँदै म्याग्दीको धवलागिरि गाउँपालिकाबाट परम्परागत व्यापारिक मार्गको प्रयोग गरेर च्याङ्ग्रा बेच्न बेनी आएका हुन् । मुस्ताङी भेडाच्याङ्ग्राले बजार लिन थालेपछि करिब १५ वर्षयता म्याग्दीमा डोल्पा र जुम्लाबाट भेडाच्याङ्ग्रा ल्याइएका थिएनन् ।

स्थानीयका अनुसार करिब १५ वर्षपछि जुम्लाका कृषक (तराल) भेडाच्याङ्ग्रा बिक्रीका लागि म्याग्दी आएका हुन् । भेडाच्याङ्ग्रा बिक्री गर्न आउने व्यापारी र कृषकलाई म्याग्दीमा तराल भन्ने चलन छ । तीर्थराजसहित चार जना मिलेर भेडाच्याङ्ग्रा बिक्री गर्न आएका हुन् । हालसम्म करिब १५ मात्र भेडाच्याङ्ग्रा बिक्री भएको श्यामराज बोहराले बताउनुभयो । ‘सबैले महँगो भयो भन्छन्’, उहाँले भन्नुभयो, ‘पोखरासम्म पुर्‍याउँदा बिक्री हुन्छन् कि भन्ने आशा छ ।’ दसैं पर्वलाई लक्षित गरेर यसपाली म्याग्दीमा मुस्ताङभन्दा पहिले जुम्लाबाट च्याङ्ग्रा आइपुगेका हुन् ।

म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडाँैलगायत जिल्लाबाट च्याङ्ग्रा खरिद गर्नका लागि व्यापारीहरु मुस्ताङको सदरमुकाम जोमसोम पुगेका छन् । मुस्ताङका कृषकका गोठबाट सङ्कलन गरेर जोमसोम ल्याइएका च्याङ्ग्रा व्यापारीले खरिद गरेर निकासी गर्दछन् । च्याङ्ग्राको हुल भित्रिएसँगै दसै आगमनको महसुस गराउँछ । उच्च हिमाली भेगमा पालन गरिएका भेडाच्याङ्ग्राले विषेश गरी लेकाल जडीबुटी खाने भएकाले दसैँ तिहारजस्ता पर्वमा पोषिलो मासुका रुपमा मुस्ताङका भेडाच्याङ्ग्राको माग बढी हुने गर्दछ ।

स्वादिलो र पोषिलो हुने भएकाले दशैमा हिमाली भेडाच्याङ्ग्राको मासु उपभोग गर्ने चलन रहेको बेनीका देवेन्द्र घिमिरेले बताउनु भयो । तीन वर्षअघि प्रतिवटा रु २५ हजारमा पाइने च्याङ्ग्राको मूल्य अहिले दोब्बरले बढेकाले सामान्य वर्गका उपभोक्ताले स्थानीय खसीबोका प्रयोग गर्न थालेका छन् ।

Next Post

बाँकेका ट्राफिक प्रमुख भन्नुहुन्छ- रकम असुली गरेका छैनौं

२०८० आश्विन २३, मंगलवार १६:१८
नेपालगन्ज । ट्राफिक प्रहरी बताउँछन्,´कसैले आरोप लगाएको छ भने व्यक्तिगत कुरा होला। हामीले सेवा दिन्छौँ। सबैलाई समान न्याय दिन्छौँ। फाइन (जरिवाना) का नाममा रकम असुल्छन् भन्ने कुरा गलत हो। उनीहरू गलत छन् भने त कारबाही हुन्छ। हाम्रो उद्देश्य कसैलाई अनावश्यक दुःख दिने हुँदैन। कसैले व्यक्तिगत हिसाबमा भनेको होला। हामीले कसैलाई […]