नयाँ दिल्ली रुटको यात्रुवाहक बसबाट अवैध सामान बरामद

  ।   २०८० आश्विन २०, शनिबार २२:०३

सिराज खान

नेपालगन्ज । नेपालगन्जबाट भारतको नयाँ दिल्लीसम्म आवागमन गर्ने नेपाल–भारत मैत्री यात्रुवाहक बसबाट प्रहरीले करिब ५ लाख रुपियाँ बरावरको अवैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार भारतको नयाँ दिल्लीबाट नेपालगन्ज आउँदैगरेको ना ६ ख २५६२ नम्बरको यात्रुवाहक बसबाट प्रहरीले ४ लाख ६८ हजार रुपियाँ बराबरको भन्सार राजस्व छलेको कपडा र मोटरसाइकलका पार्टस्हरु बरामद गरेको हो ।

बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले नेपालगन्ज–नयाँ दिल्ली रुटमा चल्दैआएको सो बसको मुनि पछाडिको पाङ्ग्रानजिकको ठाउँमा गोप्य बाकस बनाएर कसैले थाहा नपाउने र शङ्का समेत नगर्ने हिसाबले अवैध सामान भरेर ल्याइएको  बताउनुभयो ।

उहाँले नेपाल–भारत नाकामा रहेका भारततर्फका दुई चेकपोष्ट र नेपालतर्फका जमुनाहा, भन्सार र सशस्त्र प्रहरीको चौलिकास्थित गरेर तीनवटा चेकपोष्ट पार गरेर ट्राफिक चोकमा पुगेपछि सो बसबाट उक्त सामान बरामद गरिएको बताउनुभयो । सो बसको मुनिपट्टि गोप्य बाकस बनाएर तस्करीका सामान नेपालबाट भारत लैजाने र भारतबाट नेपाल ल्याउने गरिएको सूचनाका आधारमा बसलाई नेपालगन्जस्थित ट्राफिक चोकमा रोकेर खानतलासी गर्दा सो अवैध सामान बरामद भएको प्रहरीले जनाएको छ ।

बाँकेका प्रहरी प्रवक्ता डिएसपी डाँगीले बस र सामानलाई नेपालगन्ज भन्सार कार्यालयमा बुझाएर घट्नाको अनुसन्धान गर्ने कार्य भइरहेको बताउनुभयो । भारतबाट आउने हरेक नेपालीको खानतलासी गरेर सय रुपियाँभन्दा बढीको सामान ल्याएमा भन्सार तिर्न लगाउने प्रहरी, सशस्त्र प्रहरी र भन्सारका कर्मचारीले पाँच लाखको सामान कसरी ल्याउन दिए भनेर स्थानीयले प्रश्न गरेका छन् । नेपालगन्ज ११ का स्थानीय जगदम्बा पाठकले सामान्य नागरिकले घर खर्चका लागि अलिकति सामान ल्याउँदा लठ्ठी देखाएर भन्सार राजस्व तिराउनेहरूले पाँच लाखको सो कपडा कसरी आउन दिए गम्भीर विषय भएको बताउनुभयो । उहाँले यसको अनुसन्धान गरेर यसमा कसैको मिलेमतो छ भने कारबाही गर्नुपर्ने पनि बताउनुभयो ।

नेपालगन्ज मात्र नभई यसरी नेपाल–भारत रुटमा चल्ने मैत्रीबसबाट अन्य सीमा नाकाहरूमा समेत पटक पटक तस्करीको सामान बरामद हुँदैआएको छ । उता, केही दिन यता विवाद भएर नेपालगन्ज अशान्त भएको र सो नियन्त्रण गर्न अधिकांश सुरक्षाकर्मीलाई खटाइएको हुँदा सीमापारिबाट हुने तस्करी बढेको प्रहरीले जनाएको छ । नेपालगन्जमा लागेको निषेधाज्ञा र कर्फ्युको मौका छोपेर तस्करहरू सक्रिय बनेको पाइएको छ । सुरक्षा निकायको ध्यान नेपालगन्जलाई शान्त बनाउनेतर्फ केन्द्रित भएका बेला सोही मौका छोपेर तस्करी र अवैध आयात बढेको स्थानीयको बुझाइ छ ।   (गोरखापत्रबाट)

Next Post

अशान्त नेपालगन्ज शान्तिको बाटोमा

२०८० आश्विन २०, शनिबार २२:०३
नेपालगन्ज । केही दिनदेखि अशान्त बनेको नेपालगन्ज बिस्तारै शान्त बन्दै आएको छ । प्रशासनले दैनिक रुपमा लगाउदै आएको कर्फ्युलाई बिस्तारै खुकुलो पार्दै समय घटाउदै लगेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले आइतबार बिहान एक सूचना जारी गर्दै शनिबार राति ८ बजेदेखि नेपालगन्जमा लगाइएको कर्फ्यु आइतबार बिहान ४ बजेदेखि हटाइएको जानकारी […]