नेपालगन्ज । दमक नगरपालिकाले शारीरिक रुपमा हिंडडुल गर्न नसक्ने अशक्तता भएका समुदायको दैनिक जीवनयापनमा सहजता प्रदान गर्न घरमै सहायता सामग्री पुगाउन सुरु गरेको छ ।
यो अभियान अन्तर्गत नगरभित्र बसोबास गर्ने अपाङ्गता भएका ७२ जनालाई ह्वीलचियर प्रदान गरिएको दमक नगरपालिकाका उपप्रमुख रेगिना भट्टराईले बताउनुभयो । अपाङ्गता भएकासँग सम्बन्धित सङ्घ संस्थाको समन्वयमा ६३ वटा र नगरपालिकाले सोझै ९ वटा ह्वीलचियर वितरण गरेको हो ।
नगरपालिकाको महिला तथा बालबालिका शाखाको संयोजनमा यस्ता व्यक्तिको पहिचान गरी अभियान सुरु गरिएको शाखाका प्रमुख सरिता भण्डारीले बताउनुभयो । अति अशक्त र ओछ्यानमा परेकालाई आवश्यक बेडसहितका सामग्री पनि घरमा नै पुर्याएका छौं, भण्डारीको भनाइ छ ।
दमक नगरपालिका भित्र अपाङ्गता भएकाको सङ्ख्या ७ सयभन्दा बढी रहेको बताइएको छ । यसभन्दाअघि नगरपालिकाले रातो कार्ड भएका अपाङ्गता हुनेलाई घरमा गएर विशेषज्ञ सेवा पनि सुरु गरेको थियो । मासिक रुपमा औषधिसहित यस्ता व्यक्तिहरुको घरमा पुग्दै आएको भण्डारीले बताउनुभयो ।



