रन्जित कुमार चौधरी । नेपालगन्ज कारकादो चोक देखि बसपार्क जाने सडक मै मापदण्ड बिपरित बनेको घरको कारण सडक साघुरो हुने भएको छ । वरपरका अन्य सर्वसाधारणका घर भत्काएर भएपनि सडक बनाउदै आएको उपमहानगरपालिकाले चण्डी प्रधानको घरनिर पुगेपछि मापदण्ड विपरीत बनेको सो घर नभत्काएरै सडक निर्माण गर्न थालेपछि सर्वसाधारणले चर्को बिरोध गरेका छन् ।
सर्वसाधारणको चर्को विरोधको वास्था नगरी उपमहानगरपालिकाले सडक निर्माण गर्न कडा आदेश दिएको छ । सडक निर्माणमा खटिएका मजदुरहरु बताउ छन् ” माथिको आदेश छ, त्यसैले हामी सडक बनाउन आएका छौँ ।” स्काइबेटरले सडक मिलाए पछि मजदुरहरुले पेटि बनाइरहेको स्थानीयहरु बताउछन् । एशियाली विकास बैंकको शहरी विकास परियोजना अन्तर्गत सडक निर्माण गर्दा अन्य अधिकांस स्थानीयका मापदण्ड बिपरितका घर र पर्खाल भत्काए पनि सो घरलाई केही गरिएको थिएन । मापदण्ड अनुसार घरधनीले घर भत्काउन नमानेपछि एडिबीले बाईपासरोडको मुखको कालोपत्रे गरेको थिएन । दुई वर्ष देखि विवाद यथावत थियो । तर शुक्रवार निषेधाज्ञाकै बीच उपमहानगरपालिकाले मापदण्ड बिपरितको सटरलाई केही नचलाई सडकका अन्य पूर्वाधार बनाउन शुरु गरेपछि विवाद चर्किएको हो । काम शुरु भए लगत्तै आफ्नो घर र पर्खाल भत्काएर सडक निर्माणका लागि सहज वातावारण गराइदिएका स्थानीयहरु गर्जिएका हुन् । स्थानीयले पहुँचका आधारमा जनप्रतिनिधिबीचको मिलोमतोमा नाली समेत गायब पार्ने गरी काम गरिएको भन्दै मेयर धवल शम्सेर राणाको चर्को बिरोध गरेका छन् । 
स्थानीय जिआर भुषाल भन्नुहुन्छ, ‘रेखांकन गरिए अनुसार सबैले महंगो मूल्यको जग्गामा बनेको घर र पर्खाल भत्काएका थियौं । तर अहिले यो घरलाई किन उन्मुक्ति दिएको होला आशंका उब्जिएको छ ।’ भुषालका अनुसार डेढ मिटरको नाली सुर्खेतरोडको मुख्य नालीमा जोडिनुपर्ने हो । ‘छिमेकसम्म पुगेको डेढ मिटर नाली उपमहानगरपालिकाले एउटा व्यक्तिको घर जोगाउने चक्करमा गायब पार्ने काम गरेको छ ।’– भुषालले भन्नुभयो । रिता सापकोटा भन्नुहुन्छ, ” जबर जस्ती गरिएको छ । जग्गा वालाको राय नबुझि कनै मेरो पर्खाल भत्काइयो । मेयरको प्रेसर मै मेरो पर्खाल भत्कियो र मेयर कै प्रेसरमा यो मापदणड विपरीत सडक बन्दै छ । अरु ठाउँमा पनि भत्काउनु पर्ने हो खै भत्किएको ? मेरै मात्रै किन भत्काइयो ? यो मेयरको दादागिरी हो ।’
त्यस्तै राजन चौलागाइका अनुसार अन्याय, अत्याचार भयो । बोल्न सक्ने, पहुँच पावर भएकोको केही पनी जाँने रहेनछ । बोल्न नसक्ने, पहुँच पावर नभएकाहरु लाई जे नि गर्न मिल्ने । त्यसैले हामीलाई नाली सहितको सडक चाहिन्छ भन्दै दबाब दिनुभयो । भोला नाथ सिटौला भन्नुहुन्छ, ” मेयरलाई यसबारे जानकारी गराउँदा पनि केही प्रतिक्रिया दिनुहुन्न । हाम्रो अवरोध भनेको मापदणड अनुसारको नाली र सडक निर्माण गर्नलाई हो, भन्ने मात्रै हो । नाली नबन्दा अप्ठ्यारो भयो । अरु सबैको भत्कीयो तर यहाँको घर किन भत्कीएन त ? हाम्रो कुरा कसले सुन्नु ? “
घर धनी प्रधानका आफन्तका अनुसार अदालतले स्टेअर्डर गरे अनुसार घर नभत्काएरै सडक निर्माण गर भनेको छ । अदालतले स्टे अर्डर गरेका कागजात नेपालगन्ज उपमहानगरपालिका र एडिबीको स्थानीय आयोजनामा बुझाएको उहाले बताउनु भयो । उहाले गलत तरिकाले रेखांकन गरिएकाले आफ्नो जग्गाको धेरै भाग भत्काउनुपर्ने अवस्था बनाएर अन्यायमा पारेको दाबी समेत गर्नु भयो ।
चर्को विवादको बीच नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवल शमशेर राणाले बिकास गर्न कसैले रोक्नु हुदैन भन्दै एडिबी संगको सम्झौता अनुसार काम गर्न अवरोध नगरौं, पछि सबै कुरा मिल्छ भन्नुभयो । मेयर राणाले भन्नू भयो, ” जसरी पनि सडक निर्माण हुन्छ । यदि कसैले अवरोध गरे बल प्रयोग गरेर भए पनि सडक निर्माण गरिन्छ ।”
यसरी जबर्जस्त मापदण्ड विपरीत बनाउन थालिएको सडकले यो क्षेत्र डुवानमा पर्ने खतरा बढेको जानकारहरु बताउनु हुन्छ । निषेधाज्ञाका बीच मापदण्ड विपरीत बनाउन खोजिएकोले सर्वसाधारणको गम्भीर आपत्ती छ । जुनसुकै अवस्थामा पनि सानाका घर भत्काएर ठुलाका घर जोगाउने परिपाटीको विरोध गर्छन्, सर्वसाधारण र यस्ता कार्य गर्ने जोसुकैलाई कानुनी कठघरामा उभ्याउनु पर्छ भन्दै सर्वसाधारणले आफ्नो माग खरो रुपमा राखेका छन् ।




