अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई पनि योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने घोषणा

  ।   २०८० श्रावण ३१, बुधबार १७:३४

संवाददाता ।

सरकारले आज देखि अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिक तथा स्वरोजगार व्यक्तिहरूलाई पनि योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने घोषणा गरेको छ ।

काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले अनौपचारिक क्षेत्रका श्रमिकलाई कोषमा आवद्ध गराउन पाउँदा निकै हर्षित भएको बताउनुभएको छ । अनौपचारिक क्षेत्रका श्रमिकहरू आवद्ध हुन सरकारले तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको २०.३७ प्रतिशत रकम सामाजिक सुरक्षा कोषमा जम्मा गर्नुपर्ने हुन्छ ।

उनीहरूका लागि सरकारले पनि सहयोगदान गरिदिनुपर्ने व्यवस्था छ । कोषका उपनिर्देशक रोहित रेग्मीका अनुसार कोषमा श्रमिकले सरकारले तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको ११ प्रतिशत रकम प्रत्येक महिना जम्मा गर्नुपर्ने हुन्छ ।

सम्बन्धित स्थानीय सरकारले ९.३७ प्रतिशत सहयोगदान गरिदिनुपर्ने हुन्छ । यो भनेको सरकारले तोकेको पछिल्लो न्यूनतम आधारभूत पारिश्रमिक (९ हजार ३८५ रूपैयाँ) को ९.३७ प्रतिशत अर्थात् ८७९.३७ रूपैयाँ हो । प्रत्येक स्थानीय तहले आफ्नो क्षेत्रमा अनौपचारिक क्षेत्रमा कार्यरत सबै श्रमिकको खातामा सहयोगदान गर्नुपर्ने उहाँले बताउनुभयो ।

अब ७५३ वटै पालिकामा यो कार्यक्रम लागु गरिने घोषणा सरकारले गरेको छ । अनौपचारिक क्षेत्र तथा स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा सञ्चालन कार्यविधि २०७९ अनुसार कोषमा योगदान गरेपछि श्रमिकहरू विभिन्न योजनाहरूमा सहभागी हुन सक्छन ।

कोषमा जम्मा भएकोमध्ये १०.३७ प्रतिशत औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा र आश्रित परिवार सुरक्षा योजनाका लागि जम्मा हुनेछ । त्यस्तै १० प्रतिशत वृद्धवस्था सुरक्षा योजनामा जम्मा हुने कोषले बताएको छ । स्वरोजगारमा रहेका व्यक्तिले कम्तीमा न्यूनतम आधारभूत पारिश्रमिकको ३१ प्रतिशत रकम कोषमा जम्मा गर्नुपर्नेछ ।

उनीहरूले अधिकतम ३१ प्रतिशतको तीनगुणा बढीसम्म योगदान गर्न सक्छन । उक्त योगदान रकम कोषले विभिन्न योजनाहरूमा बाँडफाँट गर्नेछ। उक्त रकमको एक प्रतिशत औषधि उपचार स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनामा रहन्छ । दुर्घटना तथा अशक्तता सुरक्षा योजनाका लागि १.४०, आश्रित परिवार सुरक्षा योजनाका लागि ०.२७ प्रतिशत र वृद्धअवस्था सुरक्षा योजनाका लागि २८.३३ प्रतिशत रहन्छ ।

योगदानकर्ताको पत्नी गर्भवती भई नियमित गर्भ परीक्षण गराउँदाको खर्च पनि कोषले उपलब्ध गराउँछ । अस्पताल भर्ना भई प्रसूति सम्बन्धी शल्यक्रिया वा उपचार गराउँदाको खर्च पनि कोषले बेहोर्छ । सुत्केरी भएको ६ हप्तासम्मको सुत्केरीसँग सम्बन्धित खर्च तथा तीन महिनासम्मको शिशुको उपचार बापत खर्च पनि बेहोर्ने व्यवस्था कार्यविधिमा छ ।

योगदानकर्ता अस्पताल भर्ना भई उपचार गराउँदा लागेको खर्च सम्बन्धित अस्पताललाई सिधै कोषले भुक्तानी गर्नेछ । अस्पताल भर्ना नभई उपचार गराउँदा योगदानकर्तालाई चिकित्सकको प्रेस्क्रिप्सन अनुसार वार्षिक बढीमा २५ हजार रुपैयाँसम्मको खर्च कोषले उपलब्ध गराउँछ ।

अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिहरू महिला योगदानकर्ता वा पुरूष योगदानकर्ताका पत्नी प्रसूति भएको अवस्थामा शिशु स्याहारका लागि प्रति शिशु एक महिनाको न्यूनतम आधारभूत पारिश्रमिक बराबर रकम कोषले उपलब्ध गराउँछ । यस्तो रकम २४ हप्ताभन्दा बढी अवधिको गर्भपतन वा मृत शिशु जन्म भएको अवस्थामा पनि प्रदान गरिन्छ ।

यस्तो सुविधा पति पत्नी दुवै कोषमा आवद्ध भए पनि एक जनाले मात्रै दाबी गर्नुपर्नेछ । महिला योगदानकर्ताले यस्तो सुविधा बापत ९८ दिन बराबरको मासिक न्यूनतम आधारभूत पारिश्रमिकको ६० प्रतिशतले हुने रकम प्रसूति सुविधा बापत पाउँछन् । दुर्घटनामा परी अस्पतालमा उपचार गर्दा लागेको खर्चको अधिकतम ७ लाख रुपैयाँसम्म कोषले उपलब्ध गराउँछ । दुर्घटनाका कारण अस्थायी पूर्णअसक्षमता भएको व्यक्तिलाई काममा फर्कन सक्ने अवस्था नभएसम्म न्यूनतम आधारभूत पारिश्रमिकको ६० प्रतिशत बराबर रकम मासिक रुपमा दिइन्छ ।

दुर्घटनाका कारण स्थायी असक्षमता भए निजको जीवनकालभर आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकम कोषले मासिक निवृत्तिभरण उपलब्ध गराउँछ । योगदानकर्ताको मृत्युभएको अवस्थामा निजको आश्रित परिवारलाई कोषले सुविधा उपलब्ध गराउँछ । यस्तो अवस्थामा कोषले योगदानकर्ताको पति वा पत्नीलाई आधारभूत पारिश्रमिकको ४० प्रतिशतर रकम आजिवन निवृत्तभरण उपलब्ध गराउँछ ।

१८ वर्ष उमेर पूरा नभएका योगदानकर्ताका छोराछोरीलाई पनि शैक्षिकवृत्ति स्वरुप मासिक रूपमा आधारभूत पारिश्रमिकको ४० प्रतिशत रकम कोषले उपलब्ध गराउँछ । योगदानकर्ताको एकाघरको पति वा पत्नी, छोरा वा छोरी नभएको तर आश्रित आमाबुबा रहेको अवस्थामा आधारभूत पारिश्रमिकको ४० प्रतिशत रकम मासिक रूपमा जीवनकालभर उपलब्ध गराउँछ ।

आमाबुबा दुवै भएको अवस्थामा दुवैलाई यो रकम दामासाही प्रदान गरिने कोषले जनाएको छ । मृतक योगदानकर्ताको अन्तिम संस्कारका लागि कोषले २५ हजार रुपैयाँ समेत उपलब्ध गराउँछ । यस्ता सुविधा पाउन घटना घटेको भन्दा अघिको १२ महिनामा कम्तीमा ९ महिनाको योगदान रकम कोषमा जम्मा गरेको हुनुपर्नेछ ।

निर्मला घिमिरे, सेतोपाटीबाट

Next Post

समावेशी प्यानलका समावेशी उम्मेदवारहरुको कुण्डली

२०८० श्रावण ३१, बुधबार १७:३४
नेपालगन्ज । नेपालगञ्ज उद्योग वाणिज्य संघको निर्वाचनमा समावेशी प्यानलले साँच्चीकै समावेशी उम्मेदवार चयन गरेको छ । ‘उद्योगी, व्यवसायीकोे एकता, समावेशी प्यानलको पहिचान, समृद्ध बाँके निर्माणका लागि व्यवसायिक क्षेत्रको योगदान’ भन्ने मूल नारा र १७ ‘स’को प्रतिबद्धताहरु र उद्योग, व्यापार र वाणिज्य सबै क्षेत्रबाट सानादेखि ठूला व्यापारिक घराना सबै क्षेत्रको प्रतिनिधित्व […]