आत्मनिर्भर बन्दै डुडुवा गाउँपालिकाका महिला

  ।   २०८० श्रावण १७, बुधबार ०९:५७

नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिकाले सीपमूलक तालिममार्फत पालिकाभित्रका महिलाहरूलाई आत्मनिर्भरतर्फ उन्मुख बनाउँदै छ ।

सीपमूलक तालिममार्फत गाउँपालिकाका ८५ जना महिलाहरू व्यवसायतर्फ उन्मुख भएका छन् । गाउँपालिकाले लघु उद्यम विकास कार्यक्रम अन्तर्गत समूहमा आबद्ध ८५ जना महिलालाई सीपमूलक तालिम दिएपछि ती महिला व्यवसायतर्फ उन्मुख भएका हुन् ।

डुडुवा गाउँपालिका ५ अन्तर्गत विभिन्न समूहमा आबद्ध महिलालाई सिलाई कटाई तालिम, ढाका ब्याग बनाउने तालिम, जुत्ती चप्पल बनाउने तालिम र ढाका कपडा उत्पादन गर्ने तालिम प्रदान गरिएको प्रमुख प्रकाशकीय अधिकृत विष्णुप्रसाद गुरुङले जानकारी दिनुभयो ।

तालिम लिएका महिलालाई स्वरोजगार बनाउन पालिकाले नौ वटा सिलाई मेसिन, नौ वटा ढाका ब्याग बनाउने मेसिन, दुई वटा जुत्ती चप्पल बनाउने मेसिन र पाँच वटा ढाका कपडा उत्पादन गर्ने मेसिन प्रदान गरिएको गुरुङले बताउनुभयो ।

तालिम प्राप्त महिलाहरूले समूहमा उत्पादन गर्ने सामग्री विक्री वितरण गरी आय आर्जन गरिने उद्यम विकास सहजकर्ता सुनिता थारुले बताउनुभयो । उहाँका अनुसार महिलाले उत्पादन गरेका विभिन्न सामग्रीहरू स्थानीय बजारमार्फत विक्री गरिनेछ । दुईदेखि तीन महिनासम्म सञ्चालित उक्त तालिममा पुष्पा शर्मा, गीता विक, शान्ति क्षेत्री र भी लागुनले तालिम प्रशिक्षण दिनुभएको थियो ।

गाउँपालिकाका बेरोजगार महिलालाई उद्यम विकास कार्यक्रममार्फत सीप प्रदान गरी स्वरोजगार बनाउन लागिएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । गाउँमा थुप्रै महिला बेरोजगार भई घरभित्र बसिरहेकाले उनीहरूलाई सीप सिकाएर आर्थिक रूपमा आत्मनिर्भर बनाइने उहाँले बताउनुभयो ।  सीप सिकेका महिलाहरूले उत्पादन गर्ने सामग्रीको बजारीकरणका लागि पालिकाले पहल गर्ने अध्यक्ष चौधरीले बताउनुभयो ।

सीप सिकेका महिलालाई एक कार्यक्रमका बिच मङ्गलवार प्रमाणपत्र तथा मेसिन प्रदान गरिएको छ । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, प्रमुख प्रकाशकीय अधिकृत गुरुङ लगायतले आफ्ना धारणा राख्नुभएको थियो ।

सबै वडाका महिलालाई यसै गरी सीपमूलक तालिम प्रदान गरी स्वरोजगार बनाउने योजना रहेको गाउँपालिकाले जनाएको छ ।( गोरखापत्रबाट )

Next Post

चितुवाको आक्रमणमा परी घाइते भएको नीलगाईको मृत्यु

२०८० श्रावण १७, बुधबार ०९:५७
नेपालगन्ज । बाँकेमा चितुवाको आक्रमण परी घाइते भएको एक नीलगाईको मृत्यु भएको छ । चितुवाको आक्रमणमा परी घाइते भएको नीलगाईको उपचारका क्रममा मङ्गलवार मृत्यु भएको राप्ती सब डिभिजन वन कार्यालय मेहमानपुरका फरेष्टर सन्तोष खत्रीले जानकारी दिनुभयो । राप्ती सोनारी गाउँपालिका वडा ५, ढलैयास्थित राप्ती सब डिभिजन वन कार्यालय अन्तर्गत राप्ती पीडित तथा […]