बाँकेमा तीन लाख ५२ हजार क्यु फिट काठ उत्पादन

  ।   २०८० श्रावण १४, आईतवार ११:२२

नेपालगन्ज । बाँके जिल्लामा गत आर्थिक  बर्ष २०७९–०८० मा साढे तीन लाख क्यु फिटभन्दा बढी काठ उत्पादन भएको छ ।

जिल्लाका विभिन्न सामुदायिक वन र निजी वनमा गरी गत साल तीन लाख ५२ हजार क्यूफुट काठ उत्पादन भएको डिभिजन वन कार्यालयका सूचना अधिकारी डिभिजनल वन अधिकृत गणेश खड्काले बताउनुभयो ।

विभिन्न सामुदायिक वनमा दुई लाख ७७ हजार ६ सय २० दशमलव ९६ क्यु फिट र निजी वनमा ७४ हजार ३ सय ७९ दशमलव ६५ क्यु फिट गरी कुल तीन लाख ५२ हजार दशमलव ८१ क्यु फिट काठ उत्पादन भएको उहाँले जानकारी दिनुभयो । साल, अस्ना, खयर, धौटी, मसला, सागवनलगायतका विभिन्न जातका काठहरू उत्पादन भएको खड्काले बताउनुभयो ।

गत साल सरकारद्वारा व्यवस्थित वनको काम बाँकेमा नभएको तर आर्थिक वर्ष २०७८–७९ को ११ हजार ८ सय ८७ दशमलव ९७ क्यु फिट काठ र ३५ चट्टा दाउरा भने मौज्दात रहेको उहाँले बताउनुभयो ।

त्यसै गरी गत साल सामुदायिक वनमा सात सय ९९ दशमलव १९ र निजी वनमा नौ सय ५८ दशमलव १७ गरी जम्मा एक हजार ७ सय ५७ दशमलव ३६ चट्टा विभिन्न जातका दाउरा उत्पादन भएको उहाँले जानकारी दिनुभयो ।

काठ उत्पादन धेरै भए पनि विक्री वितरण भने निकै कम मात्रामा भएको वन कार्यालयको तथ्याङ्कमा छ । गत साल सामुदायिक वनमा उत्पादन भएको जम्मा ४८ हजार ५ सय ६६ क्यु फिट काठ विक्री भएको छ । सरकारद्वारा व्यवस्थित वनको मौज्दात रहेकोमध्ये दुई हजार ३ सय ५३ दशमलव ८१ क्यु फिट काठ पनि विक्री भएको वन कार्यालय जनाएको छ । त्यसै गरी सामुदायिक वनको एक सय ७३ दशमलव ५० र सरकारद्वारा व्यवस्थित वनको ४ दशमलव ५० गरी जम्मा एक सय ७८ चट्टा दाउरा विक्री भएको वन कार्यालयले जनाएको छ । निजी वनको भने सबै उत्पादित सबै काठ विक्री भएको सूचना अधिकारी खड्काले जानकारी दिनुभयो ।

राष्ट्रिय वन तथा सामुदायिक वनको काठ उत्पादन तथा विक्री वितरण गर्ने प्रक्रिया लामो भएका कारण पनि गत साल उत्पादन भएका धेरै मात्राका काठहरू विक्री हुन नसकेको उहाँले बताउनुभयो ।

“निजी तथा आबादी वनको काठ उत्पादन तथा विक्री वितरण प्रक्रिया सरल र सहज भएका कारण तुरुन्तै उपभोक्तासम्म पुग्न सक्छ, तर राष्ट्रिय वन तथा सामुदायिक वनको काठ उत्पादन तथा विक्री वितरण गर्ने प्रक्रिया अलि लामो भएका कारण विक्री वितरण भई छिट्टै उपभोक्तासम्म पुग्न समय लाग्छ ।” खड्काले भन्नुभयो, “कटानमुछान, घाट गद्दी, नाप जाँच, लिलामी प्रक्रिया आदी कारणले गर्दा राष्ट्रिय वन तथा सामुदायिक वनको काठ उत्पादन भएर पनि विक्री वितरणमा केही लामो समय लाग्ने गरेको छ ।”

वन कार्यालयले गतवर्ष काठ र दाउरा विक्री वितरणबाट सरकारको राजस्व खातामा दुई करोड ६९ हजार १ सय ५८ रुपियाँ जम्मा भएको सूचना अधिकारी खड्काले जानकारी दिनुभयो । त्यसै गरी सामुदायिक वन उपभोक्ता समूहहरूले दुई करोड ९० लाख ४९ हजार १ सय ४४ रुपियाँ आम्दानी गरेको उहाँले बताउनुभयो ।

बाँकेमा एक सय १९ वटा सामुदायिक वन रहेको डिभिजन वन कार्यालयले जनाएको छ ।(गोरखापत्रबाट)

Next Post

मोटरसाइकल ठक्करले बालकको मृत्यु

२०८० श्रावण १४, आईतवार ११:२२
नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ मा नम्बर नखुलेको एक मोटरसाइकलले ठक्कर दिँदा तीन वर्षीय बालकको मृत्यु भएको छ । राप्ती सोनारी गाउँपालिका–६ स्थित सिद्देश्वर क्याम्पस नजिकै आइतबार बिहान अन्दाजी साढे १० बजेको समयमा नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिँदा राप्ती सोनारी–६, हब्रहवाका तीन वर्षीय बालक श्रीयङ्स बुढाको मृत्यु भएको इलाका […]