काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ९८ लाख रकम ठगी आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा साविक तोरवाङ्ग गाबिस – ६, हालको झिमरुक गाउँपालिका वडा नम्बर ६, प्युठानका ४२ बर्षिय गोपाल कामी भन्ने ईश्वरीप्रसाद पोख्रेल रहेका छन ।
उनले विभिन्न सामाजिक संजालको प्रयोग गरी गौमुखी ग्रुप अफ इन्ड्रष्ट्रिज प्रालि, बागमती सप्लायर कम्पनी प्रालि लगायत कम्पनीको विज्ञापन गरेका थिए । ती कम्पनीबाट सस्तोमा रड, सिमेन्ट लगायत हार्डवेयर सामानहरू दिने बताउँथे । बैंक खातामा पैसा जम्मा गराएपछि भने उनी सम्पर्कबिहीन भएर फरार हुन्थे ।
यसरी ठगी गरेको भन्ने सूचना पाएपछि प्रहरीले उनलाई मंगलबार काठमाडौं रामशाहपथबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनीविरूद्ध यही एउटा मुद्दामात्रै भने होइन् । उनी यस्ता ठगीका एक दर्जन बढी मुद्दाका फरार प्रतिवादी हुन् । उनीविरूद्ध कार्यालयमा मंगलबारमात्रै तीन वटा जाहेरी परेको हो । असार १ गते वैदेशिक रोजगार विभागबाट पक्राउ पुर्जी जारी भएको थियो ।
त्यस्तै, गत माघ २३ गते ठगी कसुरमा जिल्ला प्रहरी कार्यालय चितवनबाट पक्राउ पुर्जी जारी भएको थियो । गत पुस २८ गते ईलाका प्रहरी कार्यालय तुलसीपुरले र गत कात्तिक २१ गते जिल्ला प्रहरी परिसर काठमाडौंबाट पुर्जी जारी भएको थियो । गत चैत २२ गते जिल्ला प्रहरी कार्यालय मोरङ, विराटनगरमा ठगी कसुरको जाहेरी परेको थियो ।
परिसरमा २०६७ मा नागरिकता किर्ते/ठगी मुद्दा, २०७२ सालमा ठगी तथा जबरजस्ती करणी, २०७६ सालमा वैदेशिक ठगी कसुर र कपिलवस्तुमा २०७८सालमा वैदेशिक ठगी कसुरका मुद्दा चलेको प्रहरीले जनाएको छ ।
उनि बाँके, प्युठान, दाङ, चितवन, पर्सा, सुनसरीबाट बैंकिङ कसुरमा मुद्दा चली धरौटीमा रिहा भएको प्रहरीले जनाएको छ । उनि पछिल्लो समय भारतको लखनउमा बस्दै आएको र हालसम्म उनले ९८ लाख बढी रकम ठगेको तथा उनका विरुद्धमा अझैपनि ठगीको उजुरी आउने क्रम जारी रहेको प्रहरीले जनाएको छ ।



