अभिभावकको रोजाईमा संस्कारिक स्कुल सोफिया

  ।   २०७९ चैत्र १६, बिहीबार ०८:००

संवाददाता, नेपालगन्ज 

आइतबार मध्यान्न १२ बजे नेपालगन्जको सोफिया रेसिडेन्सियल स्कुलमाप्रिन्सिपल सुशीला बसेलको कार्यकक्षमा छात्रा क्याथ्रीन बसेलको प्रवेश हुन्छ । उनी प्रिन्सिपल बसेलसँग कानेखुसीमा‘आज हाम्रो पिकनिक छ । हामीले पकाएको खाना खानुहुन्छ ?’, अनुमति माग्छिन् । प्रिन्सिपल बसेलको स्वीकृतिले छात्रा क्याथ्रीनको मुहार चम्किलो हुन्छ । एकैछिनमा तीन वटा भाँडामा खाना आइपुग्छ । एउटा हटकेश भरी भेज पुलाउ । अर्कोमा आलु चना, कबाब र तेस्रोमा थियो चटपटे । ‘घरबाटै बनाएर ल्याएका हुन् । हजुरहरु पनि खानुहुन्छ ?’, प्रिन्सिपल बसेलले गुडन्यूजको टिमसँग सोधिन् ।

बाँकेका अरु नीजि विद्यालयभन्दा फरक शैक्षिक अभ्यास गरिरहेको सोफिया स्कुलबारे समाचार संकलन गर्न गएको पत्रकारको टोलीलाई विद्यालय परिवारले भनेका कुरा परीक्षण गर्ने प्रयोगात्मक अभ्यास जस्तो भयो, पिकनिकको खाना । अनि खानासँगै सुरु भयो, विद्यालयका असल अभ्यासबारे सोधिखोजी ।

प्रिन्सिपल बसेलसँग गुडन्युजको जिज्ञासा अरु कक्षा सञ्चालन भइरहेको बेला पिकनिक ? प्रिन्सिपल बसेलले सबै कक्षाको विद्यार्थीले वर्षमा कम्तीमा एक पटक वा सो भन्दा बढी पटक विद्यालय परिसरमै पिकनिक मनाउँछन् ।

पिकनिकमा सबैले आ आफ्नो घरबाट खाना बनाएर ल्याउँछन् र बाँडेर खान्छन् । खोला वा जंगल किनार होस् वा पार्टी सेन्टरमा डिजे बजाएर पिकनिक मनाउने भन्दा हामीलाई यो अभ्यास विल्कुल नौलो लाग्यो । सोफियामा अरु विद्यालय भन्दा फरक, रोचक र रचनात्मक कार्य छन् । जसले गर्दा अभिभावकको रोचाइमा पर्ने गरेको छ । तपाईको स्कुलमै किन भर्ना गर्ने ?‘स्कुल घर जस्तो छ । विद्यालयमा पारिवारिक वातावरण छ । हरियाली छ । विद्यार्थीले रमाइलो मान्छन्’, प्रिन्सिपल बसेलले दाबी गरिन्, ‘आमाबुबाले जस्तैबच्चालाई खुवाउने, हातमुख धोइदिने, शौचालय लैजाने र ल्याउने सबै काम शिक्षकले काम गर्नुहुन्छ ।’      
पाँच कक्षासम्म त कक्षामाएउटै शिक्षकले पढाउँछन् । कक्षाका सबै विद्यार्थीको अभिभावक नै शिक्षक हुन्छ । विद्यालयले नर्सरीदेखि कक्षा ५ सम्म त ग्रेट टिचिङ मेथडबाट पढाउँछ । अर्थात विद्यार्थीलाई घोकन्ते विद्या होइन शिक्षकले खेल्दै, नाँच्दै, गाउँदै, हाउभाउ र चित्रका माध्यमबाट रमाइलो गर्दै पढाइदिन्छन् । त्यो कसरी सम्भव हुन्छ त ? प्रिन्सिपल बसेलले शिक्षकसँगै सोध्नुस् भन्दै केही मेडमहरुलाई डाकिन् ।

नर्सरीकी कक्षा शिक्षक आरती गुप्ता भन्छिन्, ‘सबै विद्यार्थीले एकै किसिमले बुझ्दैनन् । कसैले छोएर, कसैले हेरेर, कसैले लेखेर, कतिले साथीले भनेपछि थाहा पाउँछन् । उनीहरुको क्षमता अनुसार सिकाउँछौं । विद्यार्थीले पढिरहेका छौं भन्ने पनि बिर्सन्छन् । प्रयोगात्मक रुपमा हाँँस्दै, खेल्दै सिक्छन् ।’

कसरी पढाउनु हुन्छ ? ‘एउटै अंक सिकाउन हामी धेरै वटा विधि प्रयोग गर्छौ’, मेटाकार्डमा आइसक्रिमको सिन्का टाँसेर लेखिएको अंक तालिका देखाउँदै उनले अंक सिकाउने विधिबारे बताइन् धेरै अंक छन् भने विद्यार्थीलाई छिटो छिटो जोडी अंक खोज्न लगाउँछौं । अंक जोडेर भन्छन् । सबै भन्दा छिटो अंक पूूरा गर्नेलाई पुरस्कार पनि दिन्छौ ।’ पुरस्कारमा के हुन्छ त ? ‘पेन्सिल र कापीमा स्टार दिन्छौं’, उनले प्रष्ट पारिन् । विद्यार्र्थीको क्षमता अनुसारको सिकाइ त कक्षा ५ सम्म नै हुन्छ । १० कक्षासम्म प्रयोगात्मक अभ्यास अनिवार्य छ । पाँचसम्म एक जना कक्षा शिक्षक र अरु दुई जना सहयोगी शिक्षक नियुक्त गरिएका छन् । एउटै शिक्षकले सबै विषय पढाउँछन् ।                                                             
युकेजीकी शिक्षक सरिता जीसीले यातायातको पाठ पढाउने तरिकाबारे भनिन्, ‘हामी सुरुमा किताब नखोलेरै यातायातको पाठ पढाउँछौं । घरबाट स्कुल आउँदा के के यातायातका साधन विद्यार्थीले देखे, सोध्छौं । हामीसँग यातायातका खेलौना पनि छन् । ती खेलौनाबाट कुन कुन गाडी हो खोजेर पत्ता लगाउन भन्छौं । चित्र बनाउन लगाउँछौं । अनि मात्र पुस्तक खोलेर यातायात पाठ पढाउँछौं ।’

कक्षा ४ की कक्षा शिक्षक रिता चौधरी पाठ्यक्रमसँगै दैनिक जीवनमा काम लाग्ने विषयको प्रयोगात्मक ज्ञान पनि दिइरहेको बताउँछिन् । ‘सबै कुरा पुस्तक पढेर मात्र सिकिदैन । विद्यार्थीले हेरेर, क्रियाकलाप गरेर, नाटक गरेर पनि सिक्छन् । हामी सबै विधिबाट विद्यार्थीलाई सिकाउने प्रयत्न गर्छौं’, उनले भनिन्, ‘हामी सानैदेखि आत्मनिर्भर हुन सिकाउँछौं । आफ्नो काम आफै गर्ने बनाउँछौं । घरमा यी काम आमाबुबाले त सिकाउनु हुन्छ होला । विद्यार्थीका लागि शिक्षक आइडल हुन्छ । विद्यालयमा शिक्षकले सिकाउँदा अझ प्रभावकारी हुन्छ ।’

कक्षा ८ देखि १० काृृे जिम्मेवारी सम्हाल्ने सामाजिक र म्युजिक शिक्षक सुरेश गुरुङ विद्यालयले पाठ्यक्रमसँगै अतिरिक्त क्रियाकलापमा जोड दिएर विद्यार्थीको चरित्र निर्माण गरिरहेको छ । शिक्षक गुरुङले कोरोनाकालमा कक्षा ८ का विद्यार्थी राघव शर्माले कोरोना लागेकी आमालाई केयर गरेको घटना स्मरण गराए । ‘कोरोना मुक्त भएपछि राघवको आमाले स्कुलमा आएर कति राम्रो संस्कार सिकाउनु भएको रहेछ । आमा हजुरलाई केही हुन्न । म छु नि । म हजुरलाई बचाउँछु भन्दै सबै काम गरेर सघाएको कुरा रुँदै सुनाउनु भएको थियो’, शिक्षक गुरुङले त्यो घटनाबारे बताए । उनी अतिरिक्त क्रियाकलापमा राम्रो गर्ने विद्यार्थीको पढाइ पनि राम्रो हुने गरेको बताउँछन् ।

अझ रोचक कुरा त के छ भने डिग्री पढेका शिक्षकले आधारभूत तहमा पढाउँछन् । ती शिक्षकले माध्यमिक तहका शिक्षकलाई पनि प्रयोगात्मक अभ्यासको तालिम दिन्छन् । यहाँ तलब र शैक्षिक प्रमाणपत्रका आधारमा शिक्षकको योग्यता मापन हुँदैन । विद्यार्थीलाई सिकाउने गुण, सीप, योग्यता र क्षमताका आधारमा शिक्षक एक अर्काका सहयोगी बनेका छन् । विषयगत शिक्षकको पनि अभाव छैन ।

अर्को विशेषता भनेको विद्यालयमा कुनै क्यान्टिन छैन । पीजीदेखि १० कक्षाका सबै विद्यालयले खाजा घरबाटै ल्याउँछन् । ‘घरबाट ल्याएको ताजा खाना पौष्टिक आहार पनि हुन्छ’, विद्यालयका संस्थापक अध्यक्ष के वि बसेलले भने ।विद्यार्थीहरु बेञ्चमा बस्दैनन् । सबै विद्यार्थीका लागि कुर्सीको व्यवस्था गरिएको छ । कक्षा कोठामा कसैले पनि जुत्ता लगाउँदैनन् । कोठा बाहिर ¥याकमा राख्छन् । कक्षा कोठामा लगाउने छुट्टै चप्पल हुन्छ । कक्षाकोठा भन्दा बाहिर जाँदा मनिटरसँग पास लिनुपर्छ । मनिटर चयन पनि निर्वाचनबाट हुन्छ । विद्यालयले दर्जनौं सीसी टिभीबाट विद्यार्थी र शिक्षकको कामलाई अनुगमन गर्छ । विद्यालयमा फराकिलो क्षेत्रफल छ । चारैतिर अग्लो पर्खाल लगाइएको छ । गाउँघरका घर जस्ता खरका छानामा विद्यालयका फराकिला कक्षाकोेठा छन् । जहाँ न जाडो, न गर्मी हुन्छ । त्यसो त, ग्रीनरीमा स्कुल छ । जहाँ ठूलादेखि साना बोटविरुवा रोपिएका छन् । फूलबारी पनि छ ।

अर्को रोचक कुरा एसेम्लीमा विद्यार्थीले समाचार पढ्छन् । अंग्रेजी र नेपाली पत्रपत्रिकाका शीर्षकहरु विद्यार्थीले पढेर सुनाउँछन् । विद्यालयमा खुला क्षेत्र धेरै छ । फुटबल, क्रिकेट, भलिबल, टेबुल टेनिसको कोर्ट विद्यालय परिसरभित्रै छ । विद्यार्थीले रुची अनुसारको खेल्छन् ।

विद्यालय जाडो याममा होस् वा गर्मी बिहान १० देखि दिउँसो ४ बजेसम्म मात्र सञ्चालन हुन्छ । शुक्रबार पनि पूरै पढाइ हुन्छ । विद्यालयले जनजीवन देखाउन र कृषिको अवलोकन गराउन सबै कक्षाका विद्यार्थीलाई अनिवार्य फिल्ड भिजिट गराउँछ । होमवर्कको भारी दिँदैन । पहिले पहिले होमवर्क नै दिइँदैनथ्यो । अभिभावकको दवाबमा अलि अलि मात्र होमवर्क दिन थालेको प्रिन्सिपल बसेल बताउँछिन् ।                                                                        विद्यालयका संस्थापक अध्यक्ष केवी बसेलका अनुसार विद्यालयमा ६०० भन्दा बढी विद्यार्थी छन् । पीजीदेखि कक्षा ५ सम्म सेक्सन छन् । एउटा कक्षामा ३० देखि ३० जना मात्र विद्यार्थी हुन्छन् । बढी भए सेक्सन फरक बनाइन्छ । अध्यक्ष बसेल भन्छन्, ‘लगानीका हिसाबले हामी घाटामै छौं । कमाउनका लागि भन्दा पनि गुणस्तरीय शिक्षा दिने हाम्रो उद्देश्य रहेको छ ।’

Next Post

प्रचण्ड नेतृत्व सरकारले दियो भेरी अस्पताललाई शैक्षिक कार्यक्रम संचालनका लागि स्वीकृत

२०७९ चैत्र १६, बिहीबार ०८:००
नेपालगन्ज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले नेपालगन्जको भेरी अस्पताललाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को आंगिक अस्पतालको रुपमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न स्वीकृती दिएको छ । लुम्बिनी प्रदेश सरकारका निवर्तमान मन्त्री कृष्णा केसी नमुनाले बुधबार सा“झ फेसबुकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तस्बिरसहित सरकारले भेरी अस्पताल नेपालगन्जलाई चिकित्सा विज्ञान […]