सोफियामा पढाइ अब्बल, विद्यार्थी बहुप्रतिभाशाली

  ।   २०७९ मंसिर २१, बुधबार १९:४१

नेपालगन्ज : बरिष्ठ अधिवक्ता विजयकुमार गुप्ता व्यस्त हुन्छन् । वकालतमा भ्याइ न भ्याइ हुन्छ । नेपालगन्जका पूर्व मेयर उनी सामाजिक काममा पनि उत्तिकै सक्रिय हुन्छन् । शुक्रबारसोफिया रेजिडेन्सियल इङ्लिस स्कूलको १६ औं वार्षिकोत्सव तथा ख्रीष्टमस विशेष कार्यक्रममा उनले दिनभर बिताए । नातिको अभिभावक बनेर उनी विद्यालय पुगेका थिए । विद्यालयमा विद्यार्थीका एकपछि अर्को राम्रा राम्रा प्रस्तुतीले उनलाई उत्साही बनाइरहेको थियो । बसिरहेको कुर्सीबाट उठेर ठाउँ फेरेर निकै रोचक मानेर विद्यार्थीको प्रस्तुती हेरिरहेका थिए ।
बालरोग विशेषज्ञ डा. रोमा बोरा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा काम गर्छिन् । उनको आफ्नै कान्ति आरोग्य अस्पताल पनि छ । यति ब्यस्त डा.बोरा पनि छोराको अभिभावक बनेर स्कुल पुगेकी थिइन् । पत्रकार झलक गैरे, टीएस ठकुरी र आलम खान पनि विद्यालयमा अभिभावक बनेर वार्षिकोत्सवमा सहभागी थिए । विद्यालयमा त्यस्तो के थियो र अभिभावकलाई तानेको थियो ? त्यहाँ अभिभावकको रुवाबासी पनि चल्यो । हाँसोको फोहोरा पनि देखिए । कुनै बेला अभिभावकलाई गम्मीर पनि बनायो । धेरै समय त आफ्ना सन्तानको अभिनय र प्रस्तुतीले मनोरञ्जन र सन्तुष्टि दिलायो । विद्यार्थीहरुले विभिन्न सांस्कृतिक पहिचान, विविधता झल्किने खालका पोशाकमा सजिएर नृत्य, गीत, नाटक, कविता लगायतका तीन दर्जन बढी प्रस्तुती प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालकदेखि स्वयंसेवकसम्म सबै विद्यार्थी नै थिए । कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाका नगर उप–प्रमुख कमरुद्दिन राईले विद्यालयको प्रगति र विद्यार्थीको प्रस्तुती हेरेर खुसी लागेको बताए ।

बाबुुको गरीबी नबुझ्ने छोराको नाटक

एक जना गरिब बाबुले छोरालाई महंगो विद्यालयमा भर्ना गर्छन् । उनको कमाइले छोरोको शुल्क तिर्न पुग्दैन । एउटा कार्यालयको काम सकेपछि बाबु पिजा हाउसमा पनि काम गर्छन् । छोराको संगत धनी केटासँग हुन्छ । उसमा बाबुले दु:ख गरेर कमाएको पैसा क्षण भरमा उडाउने बानी परिसकेको हुन्छ । एक दिन उसले विद्यालयको शुल्क तिर्ने भनेर बाबुसँग पैसा माग्छ । बाबुले ऋण काढेर पैसा पठाउँछन् । ऋणमा ल्याएको पैसा बोकेर छोरा पिजा खान जान्छ । अर्डर गर्छ । होटलभित्रबाट उसका सहोदर बाबु छोराले अर्डर गरेको पिजा बोकेर आउँछन् । छोराले बाबुलाई चिन्छ । ड्याडी भनेर बोलाउँछ । बाबुलाई आफ्नै छोराले बोलाएको पत्यार लाग्दैन । ग्राहकको रुपमा सर भनेर नै सम्बोधन गर्छन् । उनी सन्तानको सुख र खुसीको लागि जस्तोसुकै त्याग गर्न तयार रहेको बताउँछन् । सन्तानको सुन्दर भविष्यको लागि भन्दै अभिभावकले कसरी त्याग गरिरहेका छन् र सन्तान कसरी बरालिरहेका छन् ? लक्ष्यहीन भएका छन् भन्ने सन्देशको नाटक हेरेर अभिभावकको रुवाबासी नै चल्यो । कतिका आँखा रसाए । धेरै जना भावुक बने । अधिकांशलाई भावविह्ल बनायो ।

मोबाइल दुरुपयोगको नाटक

कार्यक्रममा बालबालिकामा मोबाइल फोनको कुलत कसरी बसिरहेको छ भन्ने अर्को नाटकले पनि अभिभावकलाई चिन्तित बनायो । नाटकमा स्मार्ट फोनले कसरी बालबालिकालाई बिगारिरहेको छ ? साना बालबालिका कसरी स्मार्ट फोनप्रति आकर्षित भइरहेका छन् ? खाना खाँदा पनि स्मार्ट फोन नै कसरी प्रयोग गर्छन् ? स्मार्ट फोन प्रयोगकर्तामा सामाजिकता र मानवीय संवेदना कसरी हराएको छ ? बिरामीलाई उपचार गर्न लैजान छोडेर लाइक र भ्युजका लागि सेल्फी फोटो खिच्छन् ?घरभित्रै बसेर एकल काँटे भइरहेका छन् भन्ने कुरा देखाइएको थियो । स्मार्ट फोन नबोक्नेहरुले खेलकुदमा सहभागिता जनाउने, अरुलाई समस्या पर्दा सघाउने जस्ता तुलनात्मक कुरा देखाइएको थियो । विद्यार्थीले जिवन्त अभिनय गरेका थिए ।

लोपोन्मुख लठ्ठी नाच

थारु समुदायको लोपोन्मुख लठ्ठी नाच पनि विद्यार्थीले प्रस्तुत गरेका थिए । थारु मेला महोत्सवमा मात्र अहिले सिमित भइरहेको यो नाच विद्यार्थीले निकै राम्रोसँग प्रस्तुत गरे । थारु पोशाकमा हातमा लड्डी र ढाडमा मयुरको प्वाख बोकेर आएका छात्रछात्राको नृत्यले अभिभावकको मन छोएको थियो ।

सबै विद्यार्थी कलाकार 

वार्षिकोत्सवमा विद्यार्थीलाई पोशाकमा आउन भनिएको थियो । अधिकांश विद्यार्थी आउट डे«समा थिए । कारण थियो, अधिकांश विद्यार्थी कुनै न कुनै कार्यक्रममा सहभागी भएका थिए । पीजीदेखि कक्षा १० सम्मका विद्यार्थीको कक्षा पिच्छे त प्रस्तुती थियो नै । निकै फराकिलो चौरमा भए भरिका विद्यार्थीलाई सहभागी गराएर एउटा ठूलो नृत्य पनि प्रस्तुत गरिएको थियो । स्कुलका संस्थापक अध्यक्ष केबी बसेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भाषण भन्दा विद्यार्थीकै प्रस्तुती धेरै थिए । विद्यालयमा अधिकांश समाजका लब्ध प्रतिष्ठित क्षेत्रमा काम गर्ने व्यक्तिका छोराछोरी पढिरहेका छन् । एक जना अभिभावक भन्दै थिए, ‘विद्यार्थी बहुप्रतिभाशाली छन् । अतिरिक्त क्रियाकलापमा मात्र पोख्त छैनन्, स्कुलको पढाइ पनि अब्बल छ । त्यसैले त, डाक्टर, इन्जिनियर, मारवाडीका सन्तानको रोजाइमा विद्यालय परेको छ ।’

 

Next Post

बर्दियाको ठाकुरबाबामा युनेस्को क्लबद्धारा अभिमुखिकरण सम्पन्न

२०७९ मंसिर २१, बुधबार १९:४१
नेपालगन्ज । बाँके युनेस्को क्लबले मर्यादित कार्यका लागि नेपाल सरकारको श्रम कानुनको प्रभावकारी कार्यान्वयनका लागि सेवा प्रदायक संस्थाहरुलाई बर्दियामा अभिमुखिकरण कार्यक्रम गरेको छ । बर्दियाको ठाकुरबाबा नगरपालिकामा आयोजना गरिएको सो अभिमुखिकरण कार्यक्रम प्लान नेपालको सहयोगमा सञ्चालित पर्ल परियोजना अन्तर्गत सम्पन्न गरिएको क्लबले जनाएको छ । अधिवक्ता राम कुमार चौधरीले सहजीकरण […]