संवाददाता, लुम्बिनी ।
लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेशको गौरवको आयोजना राजधानी निर्माणका लागि सरोकारवालाले छिटोभन्दा छिटो सहयोग गरी तुरुन्त कार्य प्रगतिमा पूर्णता दिनका लागि राजधानी व्यवस्थापन सहयोग समिति र प्रदेश प्राधिकरणलाई निर्देशन दिनुभएको छ ।
मुख्यमन्त्री केसीले प्रदेश पूर्वाधार विकास प्राधिकरण आयोजनाका कार्यक्रम राप्ती उपत्यका (देउखुरी) दाङले आयोजना गरेको नदी सभ्यतामा आधारित व्यवस्थित सहर विकासका लागि गर्न थालिएको जग्गा एकीकरण विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रममा यस्तो बताउनुभएको हो ।
उहाँले राजधानी निर्माणका लागि कार्यतालिका अनुसार काम गरिनुपर्ने भन्दै जग्गा एकीकरण कुनै पार्टीको मात्रै नभई साझा विषय भएकाले कार्यमा लाग्नका लागि अनुरोध गर्नुभयो ।
सोही कार्यक्रममा जग्गा एकीकरणका लागि एकीकरण कार्यदलका संयोजक श्यामेर चौधरीलाई पनि सपथ ग्रहण गराइएको छ । कार्यक्रममा जग्गा एकीकरण विज्ञ एवं शहरी मन्त्रालयका पूर्व डिजि सुर्यभक्त सांघाछी र जग्गा एकीकरण कार्यदलका सदस्य पदम बैद्धिकले समेत आफनो प्रस्तुति राख्नुभएको थियो ।
प्रदेश पूर्वाधार प्राधिकरणका सिइओ छवि पोख्रेलेले राजधानी निर्माणको कार्यलाई कार्यतालिका बनाएर नै अगाडि बढाईने बताउनुभयो । कार्यक्रममा राजधानी निर्माण क्षेत्रका १४ वटा वडाका अध्यक्ष र सरोकारवाला अन्य निकायको पनि सहभागीता रहेको थियो ।