अब कक्षा १२ को नतिजामा एनजी आए फेल भएको रूपमा बुझ्नु पर्ने

  ।   २०७९ भाद्र ३, शुक्रबार १६:२२

संवाददाता ।

जेठको १६ गतेदेखि भएको कक्षा १२ को वार्षिक बोर्ड परीक्षाको परीक्षाफल भदौ १५ गतेको हाराहारीमा गर्ने गरी काम भइरहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभएको छ ।

यसपालिको नतिजामा विद्यार्थीहरूले विगतमा जस्तै लेटर ग्रेडिङ अनुसारको परीक्षाफल प्राप्त गरे पनि नन–ग्रेडिङ समेत हुने र त्यस्तो भएमा विद्यार्थीले पुनः परीक्षा दिनुपर्ने नियम लागु भएको उहाँले बताउनुभयो ।

परीक्षामा निश्चित प्रतिशत अङ्क आउँदा ए प्लस, ए, बी, सी, डी जस्ता ग्रेड वर्गीकरण गरेर नतिजा दिइने प्रणालीलाई लेटर ग्रेडिङ भनिन्छ । “तर कुनै विषयमा ३५% भन्दा कम अङ्क आएमा त्यसलाई ग्रेड दिइँदैन र नन–ग्रेडिङ हुन्छ ।

नन–ग्रेडिङ पाएका विद्यार्थीले पुनः बोर्ड परीक्षा दिनुपर्नेछ,“ शर्माले भन्नुभयो । यसअघिका १२ कक्षा परीक्षामा ’कट–अफ’ विन्दु थिएन । तर यसपालिदेखि कक्षा १२ मा नयाँ पाठ्यक्रम लागू भएको र त्यसै बमोजिम ग्रेडिङ प्रणाली समेत फेरबदल भएको बताईएको छ । “डी भन्दा मुनि एनजी वा नन–ग्रेडेड अङ्क दिइन्छ ।

नन–ग्रेडेड विद्यार्थीले शैक्षिक प्रमाणपत्र पाउँदैनन्,“ उहाँले भन्नुभयो । यसपालि कक्षा १२ को बोर्ड परीक्षामा ४ लाख १० हजार विद्यार्थी सहभागी भएका थिए । परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार ती परीक्षार्थीमध्ये दुई विषयसम्म एनजी आएमा ग्रेड वृद्धिका निम्ति मौका परीक्षा यही वर्ष दिन पाइनेछ ।

“परीक्षाफल आएको डेढ महिनापछि त्यस्तो मौका परीक्षा दिन पाइन्छ । मौका परीक्षा दिँदा कम्तीमा एउटामा एनजी कटाएमा अर्को वर्षको वार्षिक परीक्षामा बाँकी एउटा मात्र विषयमा जाँच दिन पाइन्छ ।

त्यो बेला पनि फेरि एनजी आयो भने अर्को वर्ष पूरै विषयको जाँच दिनुपर्छ,“ उहाँले भन्नुभयो । एनजी भनेको फेल भएको रूपमा बुझ्नु पर्ने उहाँले बताउनुभयो । यसअघि एनजी दिने चलन थिएन । बरु ई ग्रेड दिइन्थ्यो ।

विद्यालय शिक्षाका जानकार धनञ्जय शर्मा नयाँ नियमलाई राम्रो मान्नुहुन्न । विगतमा एसईईमा पनि उसैगरी फेल गराउने नियम ल्याइन लागेको तर त्यसले धेरैलाई असर पर्ने देखेर बोर्ड पछि हटेको उहाँ ठान्नुहुन्छ । तर कक्षा १२ मा चाहिँ फेरि उही नियम ल्याउनु युक्तिसङ्गत नहुने उहाँले बताउनुभयो ।

“कोभिडका कारण बालबालिकाको पढाइ तथा सिकाइ कम भयो भन्ने छ । फेरि अब फेल भइँदैन भन्ने मनोविज्ञान बालबालिका तथा अभिभावकमाझ भएको बेला यसरी एनजी भनेर फेल गराइदिनु ठीक लागेको छैन,“ उहाँले भन्नभयो ।

महामारीका कारण गत वर्ष पनि कैयन् विद्यालयहरूमा पाठ्यक्रम सिध्याउनै चापाचाप परेको थियो ।

यसैपनि कम ग्रेड ल्याउनेले माथिल्लो कक्षामा भर्ना नपाउने हुनाले फेल नै गराउनु आवश्यक नभएको भन्दै उहाँले यो निर्णयले बालबालिकाहरूको मनोविज्ञानमा नकारात्मक असर पर्ने बताउनुभयो ।

बीबीसी नेपालीबाट

Next Post

खजुरा प्राबिधिक विश्वविद्यालय अवलोकन

२०७९ भाद्र ३, शुक्रबार १६:२२
नेपालगन्ज । बाँकेको खजुरामा लुम्बिनी प्रदेश प्राबिधिक  विश्वविद्यालय स्थापनाका लागि प्रक्रिया सुरु भए सँगै  खजुरा गाउँपालिकाले वडा नं ८ रनियापुरमा छुट्याएको १ सय १० बिघा जमिन  लुम्बिनी प्रदेस प्राबिधिक बिश्व बिद्यालयको निर्माण स्थलको शुक्रबार  बिश्व बिद्यालयका उपकुलपति प्रा. डा. बिनोद प्रसाद ढकाल, रजिस्टार रेग ब.भण्डारी, प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव […]