लुम्बिनी प्रदेशलाई उपाधि

  ।   २०७९ असार ३१, शुक्रबार १८:०७

संवाददाता ।

डिफेन्डिङ च्याम्पियन लुम्बिनी प्रदेशले १२ औं केन्द्रिय स्तरिय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा भएको प्रतियोगितामा लुम्बिनीले १६ स्वर्ण, ११ रजत र ११ कांस्य जित्दै ६ खेल समावेश प्रतियोगितामा समग्रमा टिम च्याम्पियन बनेको हो ।

दोश्रो भएको बागमती प्रदेशले १६ स्वर्ण, ९ रजत र २० कांस्य जितेको छ । तेश्रो स्थानको सुदूरपश्चिम प्रदेशले ८ स्वर्ण, ९ रजत र ८ कांस्य जित्यो । ५० स्वर्णका लाग भएको प्रतिस्पर्धामा गण्डकी र कर्णालीले समान ५–५ स्वर्ण हात पारे । गण्डकीले थप समान ११–११ रजत र कांस्य पनि प्राप्त गरेका छ ।

स्वर्णका अलावा कर्णालीले १० रजत र १५ कांस्य हासिल गर्योे । प्रतियोगितामा ४ कीर्तिमान बने । चारै कीर्तिमान लुम्बिनीका खेलाडीको नाममा रह्यो । निशा चौधरीले मात्र २ व्यक्तिगत र एक टिममा कीर्तिमान रच्नुभयो ।

छात्रा लङजम्पमा निशाले ५.४७ मिटर जम्प गर्दै शिला चौधरीले सन् २०१८ को अप्रिल २३ मा बनाएको ५.४५ मिटरको सिनियरको राष्ट्रिय कीर्तिमानलाई तोड्नुभएको छ ।

१ सय मिटर दौड १२.५३ सेकेन्डमा पूरा गर्दै निशाले अर्को नयाँ जुनियर राष्ट्रिय कीर्तिमान राख्नुभएको छ । त्यस्तै ४ गुणा १ सय मिटर रिले निशाले रेशु थारु, रामकुमारी थारु र सम्झना थारुसंग मिलेर ५४.२० सेकेन्डको जुनियर राष्ट्रिय कीर्तिमान बनाउनुभयो ।

छात्र लङजम्पमा सुदिप थारुले ६.६५ मिटर जम्प गर्दै जुनियर राष्ट्रिय कीर्तिमान आफ्नो नाममा लेखाउनुभएको छ । विजेतालाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव तेजबहादुर गुरुङ, लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव जयप्रकाश भट्टराई, प्रशासन विभाग प्रमुख मधुसुदन बस्नेत लगायतले बिहीबार एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो ।

कुल नगद पुरस्कार राशी ९ लाख ४५ हजार रुपैयाँ रहेको थियो । टिम च्याम्पियन बनेपछि लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जय प्रकाश भट्टराईले आफ्नो कार्यकालमा खेलाडी र खेल क्षेत्रमा ऐतिहासिक सफलता हासिल गर्ने खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई धन्यवाद दिनुभएको छ ।

साथै खेल जगतमा लुम्बिनी प्रदेशको नाम राख्न सफल सबैलाई खेलकुद परिषद लुम्बिनी प्रदेश समितिको तर्फबाट धन्यवाद व्यक्त गर्दै आगामी दिनमा अझै क्षमता विकास गरी अगाडि बढाउने बताउनुभयो ।

तीनदिने प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसुमा ५ सय खेलाडीले प्रतिस्पर्धा गरेको खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्माले बताउनुभएको छ । प्रदेश संरचनामा प्रतियोगिता आयोजना भएको यो तेश्रो पटक हो ।

भलिबल :

भलिबलको छात्रमा गण्डकी तथा छात्रामा बागमतीले उपाधि जिते । त्रिपुरेश्वरिस्थत राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको छात्र फाइनलमा गण्डकीले लुम्बिनीलाई २५–११, २५–१०, २०–२५, २०–२५ र १५–१२ को सेटमा पराजित ग¥यो ।

कर्णाली तेश्रो भयो । छात्राको उपाधि प्रतिस्पर्धामा बागमतीले लुम्बिनीलाई २१–२५, २५–२१, २१–२५, २५–१९ र १५–७ ले हरायो । गण्डकी तेश्रो बन्यो ।

कबड्डी :

कबड्डीको छात्रमा पनि सुदूरपश्चिम च्याम्पियन बन्यो । ५ टिम सहभागी छात्रको राउन्ड रोविन लिगमा शत प्रतिशत जित निकालेको सुदूरपश्चिमले ८ अंक जोड्यो । लुम्बिनी ६ अंकसाथ दोश्रो भयो ।

छात्रामा सुदूरपश्चिम बुधबार नै उपाधि जितिसकेको छ । छात्रामा पनि ५ टिमले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गरेका थिए । मार्सल आर्ट्समा बागमतिकै दबदबा रह्यो । कराते, तेक्वान्दो र उसुमा बागमती टिम च्याम्पियन बन्यो ।

 

Next Post

गभर्नर अधिकारीले नैतिकताको आधारमा छाड्नुपर्छ ः प्रधानमन्त्री देउवा  

२०७९ असार ३१, शुक्रबार १८:०७
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गभर्नर महाप्रसाद अधिकारीले राजीनामा दिनुपर्ने बताएका छन् । एम अधिकारी, खोटाङको नाममा नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्यमा सहभागि भएपछि गभर्नर अधिकारी विवादमा परेका छन् । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको शुक्रबार बसेको बैठकमा नेताहरुले पनि यो विषय उठाएका थिए । त्यसक्रममा प्रधानमन्त्री देउवाले अधिकारीले […]