मुनाफामा गए बीमा कम्पनी, दाबी भुक्तान लिन सकस

घर–घरमा एजेन्ट, ताना–तानमा आम सर्वसाधारण

  ।   २०७८ श्रावण २०, बुधबार १३:५६

  • प्रेम विश्वकर्मा, सन्तोष बिष्ट ।

बीमा गर्नेहरुको संख्या दिनहुँ बढ्दै गएको छ । यातायातका सवारी साधानमा त झन बीमा अनिवार्य गर्नुपर्ने बाध्यता नै छ । हिजोआज स्वास्थ्य बीमा, जीवन बीमा र अन्य विभिन्न शिर्षकमा जोखिम आंकलन गरी बीमा गर्नेहरुको होडबाजी नै चलेको छ । तर बीमा दाबी भुक्तान, सेवासुविधा, क्षतिपुर्ति लिन, झन्झटिलो प्रक्रियाले असहज बनाएको गुनासो आमसर्वसाधारणको छ ।

कतिले नियमित बीमा शुल्क तिरिरहेता पनि प्रक्रिया नपुगेको लगायतका कुरा निकाली बीमा कम्पनीले दाबी भुक्तान गर्न आनाकानी गरिरहेका छन । जसले गर्दा बीमा कम्पनीहरुका झन्झटिला प्रक्रियाकै कारण बीमा कम्पनीहरु प्रतिको जनविश्वास घट्दै जान थालेको छ ।

अस्पतालमा उपचारका लागी गएका बीमित ब्यक्ति हुन, अथवा बीमा कम्पनीमा धाई रहेका बीमित ब्यक्ति, धेरैका असन्तुष्टिहरु सुनिन्छ्न । तर बीमा कम्पनीहरु भने प्रत्येक बर्ष मोटाउदै गएका छन ।

नेपालको बीमा नियमनकारी निकाय बीमा समितिले २०७८ साउन ५ गते सार्वजनिक गरेको जानकारी अनुसार कुल जीवन बीमा शुल्कमा २८.७१ प्रतिशत र निर्जीवन बीमा शुल्कमा १५.३५ प्रतिशतले वृद्धि भएको छ ।

आर्थिक बर्ष २०७६-०७७ को तुलनामा यो धेरै हो । गएको आर्थिक २०७७-०७८ मा जीवन बीमा कम्पनीहरुबाट १ खर्ब २० अर्ब ५५ करोड २३ लाख र निर्जीवन बीमा कम्पनीहरुबाट ३० अर्ब ९० करोड ६८ लाख रुपैंया बीमा शुल्क संकलन भएको छ ।

तर गएको आर्थिक २०७७-०७८ मा जीवन बीमा तर्फ १५ हजार ९६४ वटा बीमालेखको २ अर्ब २५ करोड २ लाख रुपैंया र निर्जीवन बीमातर्फ ८६ हजार ४४० वटा बीमालेखको जम्मा २० अर्ब १४ करोड ५१ लाख रुपैंया बीमा माग दाबीको भुक्तानी दिन बाँकी रहेको छ । यही तथ्यांकबाट पनि स्पष्ट हुन्छ की, बीमा क्षेत्रको वर्तमान स्थिती । आशै–आशमा बसेरका बीमितहरु निराश भएका छन ।

प्रहरी र नेपाल इन्स्योरेन्सबाट ठगीएका मनोज :
– घटना
बाँकेको नेपालगंज स्थित गणेशमान चोक नजिकै कार्यालय रहेको नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडमा २०७६ साल भदौं ९ गते अर्थत (२६-०८-२०१९) मा जनता बैंक लिमिटेड भुरीगाउँ बर्दिया (हि.) विवेक विशेष सुन चाँदी पसल (प्रो. मनोज कुमार सुनार) बीमितको नामबाट ५७ लाख ३० हजार रुपैयाको बीमाङ्क रहेको वीमा गरियो ।

यसको म्याद समाप्ती अवधि २०७६ साल फागुन ६ गते अर्थत (१८-०२-२०२०) थियो । दुखको कुरा, बीमाको म्याद समाप्ती हुन २ महिना बाँकी नै थियो । नियमित कारोबार भइरहेको सुनचाँदी पसलमा एक्कासी २०७६ पौष ९ गते राती चोरी भयो ।

बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर १, भुरीगाउँमा आफ्नै घरमा रहेको विवेक विशेष सुन चाँदी पसलबाट चोरले ८१ तोला सुनका गहना, ३ किलो चाँदीका गहना र २ लाख ५० हजार रुपैंया नगद लिएर भागे ।

प्रो. मनोज कुमार सुनार घरपरिवार सहित औषधी उपचारका लागी नारायणगढ चितवन गएको बेला घरमा कोही नभएको मौका छोपी चोरी गर्ने गिरोहले घरको च्यानल गेट र कोठाको ताला फोडी पसल र सुत्ने कोठाको दराजबाट ६४ लाख ५४ हजार रुपैंया बराबरको सुनचाँदीका गहना, समानहरु लिएर भागे ।

२०७६ पौष ९ गते राती चोरी भएको घटना २०७६ पौष ११ गते बिहान मात्र थाहा भयो । जब मनोज घरपरिवार सहित औषधी गरेर नारायणगढ चितवनबाट घर फर्किनुभयो । घटना थाहा पाएपनि मनोजको होस थिएन । जसले जे, जता भन्थे । त्यही गर्नुहुन्थ्यो ।

चोरी भएको खबर इलाका प्रहरी कार्यालय बगनाह भुरीगाउँले थाहा पाएपछि २०७६ पौष ११ गते प्रहरी निरिक्षक बसन्त पाण्डेको नेतृत्वमा खटिएको प्रहरी टोलीले सोही दिन दिँउसो ३ बजेतिर घटना स्थलको मुचुल्का उठायो ।

वरपर बुझ्ने क्रममा केही स्थानीयको भनाई अनुसार प्रहरीले पूर्वपश्चिम राजमार्ग नजिक पर्ने एउटा ठुलो जंगल बीचमा छरप्रस्ट रुपमा फालिएको अवस्थामा सुनचाँदीका गहना राखीने सामानहरु फेला परे । यो बाहेक मुचुल्का उठाएको प्रहरीले अरु कुनै उपलब्धी हासिल गर्न सकेन ।

न त चोरी गर्ने गिरोह फेला पार्न सक्यो, न त चोरी भएका सुनचाँदीका गहना, नगद हात पार्यो । इलाका प्रहरी कार्यालय बगनाह भुरीगाउँले मुचुल्का उठाउने क्रममा लापरवाही गरिदियो । त्यहाँ अनुसन्धानका लागी घटनास्थलमा दक्ष प्रहरीको बिज्ञ टोली, कुकुर ल्याउन सकेन ।

जे–जे मनमा आयो, त्यही–त्यही गर्यो । घटनास्थलका प्रमाणहरु नष्ट हुदै गए, चोरी गर्ने गिरोहले पनि लुकाउने, छिपाउने र भाग्ने समय पायो । स्थानीय प्रहरीको ढिलासुस्ती र सानो लापरवाहीले गर्दा सहायता भन्दा झन नराम्ररी पीडित बन्न पुग्नुभयो विवेक विशेष सुन चाँदी पसलका संञ्चालक मनोज कुमार सुनार । उहाँको करिब ६४ लाख ५४ हजार रुपैंयाको सम्पती क्षति भयो, लुटियो ।

आफु बिरामी भएकाले धेरै दौडधुप गर्न सक्नुभएन । स्थानीय सुनचाँदी ब्यवसायिहरुको सहयोगमा उहाँले बीमा कम्पनीबाट राहत पाइने आशा राखेर बीमा रकम दाबीको प्रक्रिया तिर ध्यान दिनुभयो ।

यता इलाका प्रहरी कार्यालय बगनाहको अपराध अनुसन्धान शाखाले ‘यस कार्यालयबाट अनुसन्धान गर्ने कार्य भईरहेको, चोरी गर्ने ब्यक्ति एकिन खुल्न बुझिन नआएकोले चोरी गर्ने ब्यक्तिको पहिचान, खोजतलास भएको हालसम्म कहीँ कतैबाट पहिचान हुन नआएको हुँदा उक्त घटना अनुसन्धानकै क्रममा रहेको ब्यहोरा अनुरोध गरिएको छ ।’ भनेर सिफारिस दिने बाहेक अरु केही कार्यप्रगती देखाउन सकेन ।

त्यही प्रहरीको कार्यप्रगती सिफारिस लिन पनि धेरै दिन सम्म दौडधुप गर्नुपर्यो । बुझ्न जाँदा प्रहरी निरिक्षक बसन्त पाण्डेले हप्काउदै फिर्ता पठाउनुहुथ्यो । २०७६-०९-११ गते प्रहरीले घटना स्थलको मुचुल्का उठायो ।

२०७६-०९-१२ गते पीडित मनोज कुुमार सुनारले आवाश्वक कारबाही गरी पाउँ भनी उजुरी दिनुभयो । २०७६-१०-०९ गते इलाका प्रहरी कार्यालय बगनाहले घटना प्रमाणित गरिएको पत्र दियो । २०७६-११-०४ गते कार्यप्रगती दियो ।

२०७८ असार ८ गते कुराकानीका क्रममा पीडित सुनारले भन्नुभयो “मलाई प्रहरीले साथ दिएन, वीमा कम्पनीले धोका दियो । अहिले ऋणमा चुलुम्मै डुबेको छु । ब्याज तिर्न समेत कठिन भईरहेको छ ।“

ठाकुरबाबा नगरपालिका १ नम्बर वडा कार्यालय भुरीगाउँ, बर्दियाले २०७६-१०-१० मा चोरी भएको ब्यहोरा सहित बीमा दाबी सिफारिसका लागी निवेदन परेको भन्दै नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडका नाममा वडाले समेत सिफारिस पत्र पठाएको छ । काठमाडौं, कमलादीमा केन्द्रिय कार्यालय रहेको नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड सँग गरिएको बीमा सम्बन्धीका सबै प्रक्रिया पुगेका छन । सबै कागजपत्र समेत उपलब्ध छन । बीमा कम्पनीले आफै दुई–दुई पटक जाँचबुझ (सर्वे) गरेको छ ।

पहिलो सर्वे घटना लग्तै जनार्दन अधिकारीको नेतृत्वमा गरियो ।उहाँ केन्द्रिय कार्यालयबाटै खटिनुभएको थियो । र २०७७ जेठ १३ गतेसम्मको जानकारी अनुसार पीडित जनता बैंक लिमिटेड भुरीगाउँ बर्दिया (हि.) विवेक विशेष सुन चाँदी पसल (प्रो. मनोज कुमार सुनार) बीमितलाई ३३ लाख रुपैंया सम्म क्षतिपुर्ति बीमा बापतको रकम दिन सकिने बताईएको थियो ।

तर फेरी बीमा कम्पनीले दोस्रो पटक २०७७ साउनमा कोहलपुरबाट चुडामणि सुबेदीको नेतृत्वमा अर्को सर्वे (जाँचबुझ) गर्न टोली खटायो ।

पछिल्लो सर्वे टोलीले बुझाएको गलत प्रतिवेदनकै कारण नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड केन्द्रिय कार्यालयका मुख्य प्रबन्धक किरणमान रंजितकार नेतृत्वको टिमले बीमा लेखको शर्त नं. ४ विपरित भएकोले दाबीको क्षतिपुर्ति भुक्तानी गर्न नसकिने भनी जानकारी दियो ।

निर्णय उपर चित्त नबुझेमा बीमालेखमा उल्लेख भएबमोजिमको समयसिमा भित्र बीमा समितिमा उजुरी गर्न सक्नुहुनेछ भन्र्दै २०७७-११-१२ मा पत्र पठायो । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड केन्द्रिय कार्यालयका मुख्य प्रबन्धक किरणमान रंजितकारले राम्रो सँग कुरै गर्न मान्नुभएन । र त्यसपछि बाध्य भई पीडित मनोज कुमार सुनारले बीमा कम्पनीको निर्णयमा चित्त नबुझेको भन्दै २०७७ फागुनमै बीमा समितिमा उजुरी दर्ता गर्नुभयो ।

यो उजुरीको सुनुवाई कहिले हुने हो, कुनै एकिन छैन । २०७६ पौष ९ गते राती चोरी भएको घटना देखी २०७८ साउन मध्यतिर आइपुग्दा सम्म चोरीको घटनाबारे जानकारी लिएको इलाका प्रहरी कार्यालय बगनाह भुरीगाउँका प्रहरी निरिक्षक बसन्त पाण्डेको अन्यत्र सरुवा भइसकेको छ ।

चोरी हुदाँका बखत बर्दिया सुनचाँदी ब्यवसायि संघले चोरीको गिरोहबारे सूचना दिने, पत्ता लगाउने प्रहरी अधिकारीलाई १ लाख रुपैंया नगद पुरस्कार दिने भनी घोषणा नै गरेको थियो । तर कार्यप्रगती भने शून्य भयो ।

स्थानीय प्रहरी र बीमा कम्पनीबाट असहयोग पाएका मनोज कुमार सुनार बीमा समितिले उजुरी माथीको सुनुवाई गर्न गरेकोे ढिलाईले गर्दा झनै अहिले पीडित बन्न पुग्नुभएको छ ।

सर्वसाधारणले थेग्न नसक्ने प्रक्रिया :
– घटना
बाँकेको कोहलपुर निवासी (नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य) चक्र बहादुर अधिकारी सँग ७ असार २०७८ का दिन बीमा सँग सम्बन्धित बिषयमा कुराकानी गर्दा उहाँले भन्नुभयो ।, ‘सर्वसाधारणले थेग्न नसक्ने प्रक्रिया छन, म आफैं १ महिनादेखी धाईरहेको छु, बीमा दाबी भुक्तान हुन सकेको छैन ।’

चक्र बहादुर अधिकारीको भनाई अनुसार उहाँका भाई अर्जुन कुमार अधिकारीले नेपाल लाइफ इन्स्योरेन्समा ६ लाख रुपैंया र एलआइसी नेपालमा ७ लाख रुपैंयाको जीवन बीमा गर्नुभएको रहेछ ।

मृत्यु पछि गरिने सबै संस्कार विधि पुरा गरी सकेपछि घरपरिवारका तर्फबाट जीवन बीमा कम्पनीमा दाबी पेश गर्न गए ।

त्यहाँ वडाको सिफारिस, विज्ञ डाक्टरले प्रमाणित गरेको मृत्यु सर्टिफिकेट, वकिलको सिफारिस लगायतका कागजपत्र माग गरे । र भने अनुसार सबै कागजपत्र पु¥याउन कोभिडको महामारी, लकडाउनका बीच त्यति सहज थिएन र पनि पु¥याए । तर पनि समयमा बीमा रकम भुक्तान हुन सकेन ।

केन्द्रिय सदस्य चक्र बहादुर अधिकारी भन्नुहुन्छ, ‘बीमा दाबी रकम भुक्तान पहुँचका आधारमा हुनुहुदैन ।’ उहाँले आफनो अर्को अनुभव यसरी सुनाउनुभयो । ‘१७ कार्तिक २०७७ मा मेरो गाडी दुर्घटना भयो । सगरमाथा इन्स्यारेन्समा बीमा थियो । यो बीमा कम्पनीमा उद्यमी शेखर गोल्छाहरुको सम्बन्ध रहेछ । त्यहाँ पहुँचका आधारमा छिटै बीमा दाबी भुक्तान भयो ।’

उहाँले आफनो भाइको मृत्यु पछि जीवन बीमा भुक्तान लिदाँको भोगाई आफनो सामाजिक संञ्जाल फेसबुक मार्फत पनि सार्वजनिक गर्नुभएको थियो । । जसमा केन्द्रिय सदस्य अधिकारीले लेख्नुभएको थियो ।, ‘बीमा गर्दा विभिन्न कम्पनी एजेन्ट वा बीमा कम्पनी अनि त्यसका ब्यवस्थापकले देखाएको सपना र महिनामा १० पटक सम्म घर, अफिसमा धाउने, विभिन्न देशको भ्रमण प्रस्ताव राख्ने र जीवन बीमा गराउने अनि बीमितको मृत्यु पश्चात विभिन्न किसिमले प्रक्रियामा दुख पाईयो । मेरो भोगाईले म यो भन्न बाध्य भए, कि कुनै पनि बीमा कम्पनीमा जीवन बीमा गरेका, गर्ने मनसाय बोकेका मित्रहरुलाई बीमा नगर्न, नगराउन हार्दिक अनुरोध गर्दछु ।’

अधिकारीको स्टाटस पोष्ट भएपछि बीमा कम्पनीहरुको विश्वसनियता र सेवाप्रवाहका बारेमा निकै टिकाटिप्पणी भए । केही संञ्चारमाध्यमले समाचार पनि लेखे ।

कोभिड–१९ बीमा, उस्तै ढिलासुस्ती :
– घटना
नेपालमा कोभिड–१९ को विश्वब्यापी महामारी शुरु भएको करिब २७ महिना महिना भयो । चीनबाट शुरुभएकोे कोभिडको महामारीले विश्वका कयौं राष्ट्रमा झै नेपालमा पनि नराम्ररी क्षति गरायो । पछिल्ला दिनमा त झन भाइरसको परिवर्तीत रुपमा देखा परिराखेको छ ।

यो बीचमा कयौं दिन एक किसिमको डर, त्रास उत्पन्न भयो । देशपुरै लकडानमा गयो । मान्छेहरुका दैनिकी फेरिए । कतिले अस्पतालहरुमा बेड, उपचार नपाई आफन्त गुमाए ।

बाँके जिल्लाकै मात्र तथ्यांकलाई हेर्ने हो भने पनि १९ साउन २०७८ दिउँसो पख सम्म महामारी शुरु भएयता, जिल्ला भित्रका ३२२ र बाहिरी जिल्लाका ३७९ जनाले ज्यान गुमाएका छन । जिल्ला कोभिड ब्यवस्थापन केन्द्र (डीसीएमसी) बाँकेको तथ्यांक अनुसार महामारी शुरु भएयता १८ साउन २०७८ सम्म जिल्लामा १७ हजार ६ सय ६४ जना संक्रमित फेला परेका छन ।

बढ्दो कोभिडको जोखिमका बीच नेपाल सरकारले कोभिड–१९ को बीमा योजना अघि ल्यायो । जसमा ४ प्रकारको बीमा थियो । ब्यक्तिगत बीमा, राष्ट्रसेवक कर्मचारी बीमा, परिवार, संस्थागत बीमा । कोभिडको विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट उत्पन्न हुन सक्ने जोखिमको आर्थिक संरक्षण, प्रदान गर्न, आर्थिक बर्ष २०७७-०७८ को बजेट बक्तव्यको बुदाँ ५५ र २८५ को कोरोना बीमा सम्बन्धी ब्यवस्थालाई कार्यन्वयन गर्न तथा बीमकले जारी गर्ने कोरोना बीमालाई ब्यवस्थित गर्नको लागी नेपाल सरकार, अर्थमन्त्रालयको सहमतिमा बीमा समितिले कोरोना बीमा मापदण्ड २०७७ नै बनाई जारी गरियो ।

जसमा बीमकले बीमाङकको आधारमा दुई प्रकारको बीमालेख जारी गर्न सक्ने भएकाले प्रति ब्यक्ति १ लाख रुपैंया र प्रतिब्यक्ति ५० हजार रुपैंया बीमाङक रकम राखिएको थियो ।

मापदण्ड अनुसार कोरोना भाइरस संक्रमण देखिएको प्रमाण पेश भएको ७ दिन भित्र दाबी भुक्तान गर्नुपर्ने ब्यवस्था छ । तर यहाँ एक बर्ष पुग्नै लाग्दा सम्म पनि कतिपय बीमा कम्पनीहरुले दाबी रकम भुक्तान गर्न सकेका छैन्न ।

राष्ट्रिय बीमा कम्पनी लिमीटेड, नेपालगंजमा कोभिड बीमा गर्नुभएकी बीएफएम (परिवर्तित नाम) पनि दाबी रकम भुक्तान नपाएकी ब्यक्ति मध्ये एक हुनुहुन्छ । उहाँले मागे जति सबै कागजपत्रहरु बुझाएर आएको तर अहिले सम्म भुक्तानी नपाएको बताउनुभयो।

बीमा कम्पनीहरुका कार्यालयहरुमा अहिले पनि कोभिड बीमा दाबी भुक्तान नपाएका ब्यक्तिहरु दैनिक जसो धाईरहेका छन । बीमा कम्पनीहरु भने विभिन्न बाहना बनाई पन्छिने प्रयासमा लागेका छन ।

कोभिड बीमाको दायित्व नेपाल सरकारले ब्यवर्होनुपर्ने भएकाले नेपाल सरकारबाट रकम निकासा हुन नसकेकै कारण अहिले दाबी रकम भुक्तान गर्न नसकेको बताउने गरेका छन ।

कोरोना बीमा मापदण्ड २०७७ को अनुसूची ७, दफा १२ सँग सम्बन्धित दाबीको बाँडफाड दाबी रकम १ अर्व रुपैंया सम्म बीमक, १ अर्व भन्दा माथी २ अर्व रुपैंया सम्म नेपाल पुनर्वीमा कम्पनी लिमीटेड, २ अर्व भन्दा माथी २.५ अर्व रुपैंया सम्म बीमकको महाविपत्ति पुल, २.५ अर्व भन्दा माथी ३.५ अर्व रुपैंयासम्म बीमा समिति र ३.५ अर्व भन्दा माथिको हकमा नेपाल सरकारले दायित्व ब्यहोर्ने भनिएको छ ।

समाचार पत्रिका अन्नपुर्ण पोष्टका अनुसार कोरोनाको दाबी भुक्तानी हुन बाँकी रकम (नेपाल सरकारको दायित्व) मा ७ अर्ब ५४ करोड रुपैंया देखिएको छ । यसको निकासा हुन सकेको छैन । १ लाख २० हजार भन्दा बढी बीमित ब्यक्ति अझै दाबी भुक्तान पाउन बाँकी छन ।

बीमा बापत करिब १ लाख ३७ हजार जनाको दाबी परेकोमा ३५ हजार जतिले मात्रै भुक्तानी पाएका छन । जसमा साढे ३ अर्व रुपैंया दाबी भुक्तानी भएको छ ।

बीमा सँग सम्बन्धित प्रतिक्रिया :

व्यक्तिगत होस अथवा संस्थागत । जीवन वीमा होस अथवा निर्जीवन वीमा । चाहे जुन सुकै शिर्षकमा गरिने वीमा किन नहोस । आपत, विपत, समस्या परेका बेला सहयोग पुगोस भनेर गरिन्छ । बीमा कम्पनीहरुले पनि यही बोली बोल्छन ।

वीमा कम्पनीहरुका निकै चिल्ला फुरुङगै पार्ने कुरा र निकै लोभ लाग्दा योजनाले आमसर्वसाधरणलाई छिनभरमै जालमा पार्न सक्छन । त्यसमा पनि कमिसन खाना पल्केका एजेन्टहरुका गफ, लवाई–खुवाई र दौडधुप हेर्दा लाग्छ, “कि आज वीमितको मृत्यु भयो, भोली तुरुन्त दाबी रकम भुक्तान गर्न कुनै अप्ठेरो हुदैन ।, स्वास्थ्य बीमा गरियो भने अस्पतालमा सबै किसिमको उपचार निशुल्क हुन्छ“ यो त एउटा दिवा सपना, भम्र मात्र हो ।

बरू एजेन्ट कमिसन थपेर घोडा, गाडीमा हुइकेलान, चढ्लान, कम्पनीले टार्गेट भन्दा बढी रकम असुली गर्ला । तर तपाईको अपेक्षा गरे जसरी रकम भुक्तान हुदैन । सेवा सुविधा प्राप्त गर्न सक्नुहुन्न ।

बीमा कतिले आफै बुझेर गरेका हुन्छन, कतिले साथीभाई, आफन्त, एजेन्ट, ब्यवस्थापकको भरोसामा गर्छन । कति त बीमा कम्पनी, एजेन्टहरुको ताना–तानमै पर्छन । अहिले बीमा कम्पनीहरु बीचमै अस्वच्छ प्रतिस्पर्धा हुन थालेको देखिन्छ ।

बर्दियाका वरिष्ठ पत्रकार बिष्णु प्रसाद तिमिल्सिना भन्नुहुन्छ, ‘अहिले बीमा यसो उसो भन्दै फेसन जस्तो भयो । बीमा कम्पनीहरुको ढिलाईले मान्छेहरुलाई केही बितृष्णा जागेको भने छ ।’

आफुले पनि स्वास्थ्य बीमा गरेको भन्दै उहाँले भन्नुभयो, ‘सेवासुविधा पाईदैन, पाएकै छैन भनेको होइन । ठाउँ र सेवा दिने ब्यक्तिहरुमा पनि निर्भर हुने रहेछ । जस्तो की गुलरियामा रहेको बर्दिया अस्पतालका धेरै कर्मचारीहरुको आफनो निजि औषधी पसलहरु कम छ, बाहिरीबाट औषधी, जाँच कमै हुन्छ । तर नेपालगंजमा रहेको भेरी अस्पतालका कर्मचारीहरुका निजी औषधी पसलहरु धेरै छन । र कमिशन, आफनो तिर पठाउने चक्करमा भेरीमा बीमा भित्र उल्लेख भएका कतिपय औषधीहरु बाहिरबाटै किन्न लगाउँछन ।’

पत्रकार तिमिल्सिना भन्नुहुन्छ, ‘कतिपय अवस्थामा बीमा गरेका ब्यक्ति आफै पनि जोखिम आईपरेको, घटना घटेको बाहना बनाई बीमा दाबी गर्न जान्छन । यस्तो अवस्थामा बीमा कम्पनीहरुले केही शंका गरी जाँचबुझ गर्न भनी अलि धेरै समय लगाउने गरेका छन, दाबी भुक्तानी, क्षतिपुर्ति दिन । बीमा गर्नु त राम्रो हो ।’

बीमा समितिमा उजुरीको चाङ :

नेपालको बीमा नियमनकारी निकाय बीमा समितिमा उजुरीको चाङ नै लाई लागेको छ । त्यस माथी झन कोभिड–१९ को विश्वब्यापी महामारी शुरु भएयता उजुरी सुनुवाई गर्ने कार्यमा ढिलाई हुन गएको छ ।

बीमा समितिका डेपुटी डिरेक्टर, इन्फरमेशन अफिसर निर्मल अधिकारी भन्नुहुन्छ, ‘पहिलो उजुरी जसको आउँछ, उसैको पहिलो प्राथामिक दिई सुनुवाई गर्ने भन्नेछ । कोभिड–१९ का कारण एक–डेढ बर्षदेखी धेरै उजुरीको सुनुवाई हुन सकेको छैन ।’

उहाँका अनुसार उजुरीको सुनुवाई गर्ने काम संञ्चालक समिति (बोर्ड) ले गर्छ । जुन जिल्ला अदालत सरह नै हुन्छ । बीमा समितिले गरेको फैसला माथी पनि चित्त नबुझेमा मात्र पुनरावेदन अदालत जान सकिन्छ ।

आर्थिक बर्ष २०७४-०७५ देखी आर्थिक बर्ष २०७७-०७८ सम्म बीमा समितिमा २७३ वटा उजुरी दर्ता भएका छन । जसमध्ये हालसम्म ९३ वटा उजुरी माथी मात्रै सुनुवाई हुन सकेको छ । अझै बीमा समितिमा १८० वटा उजुरीका फाइल त्यतिकै थन्कि रहेका छन ।

नेपालमा जम्मा ४१ वटा बीमा कम्पनीहरु संञ्चालनमा छन । जसमा १९ वटा जीवन बीमा कम्पनी, २० वटा निर्जीवन बीमा कम्पनी र २ वटा पुनबीमा कम्पनी रहेको बीमा समितिले जनाएको छ ।

क्रमश……

 

 

 

Next Post

सेनामा नयाँ संस्कार, नयाँ हतियार

२०७८ श्रावण २०, बुधबार १३:५६
संवाददाता । अवकासको दिन नजिकिँदै जाँदा प्रधानसेनापति पूर्णचन्द्र थापाको देश दौडाहा बाक्लिएको छ । सैनिक प्रचलनअनुसार अवकाशपूर्व देशका प्रमुख कमाण्डको बिदाई निरीक्षण गर्ने गरिन्छ । त्यो कामलाई अघिल्ला प्रधानसेनापतिहरूले कोेसेलीपात जम्मा पार्ने मौकाका रुपमा लिए । पूर्णचन्द्रले भने राम्रा कामलाई निरन्तरता दिन र विगतको समीक्षा गर्न सम्झाउने काममा केन्द्रित गर्नुभएको […]