बर्दियाका दलहरुद्धारा निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने प्रतिवद्धता

  ।   २०७९ बैशाख १७, शनिबार १८:०१

बर्दिया । बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा बालबालिकाहरुको प्रयोग हुन नदिने र बालअधिकार उल्लंघन हुनबाट रोक्ने प्रतिवद्धता बर्दिया जिल्लाका राजनितिक दलहरुले गरेका छन् ।
प्लान ईन्टरनेशनल नेपालको सहयोगमा बालबालिका शान्ति क्षेत्र, राष्ट्रिय अभियान, बाँके युनेस्को क्लब, साथी संस्था, बी ग्रुप, गेरुवा ग्रामिण जागरण समाज, स्याक नेपाल र थारु महिला उत्थान केन्द्र लायतका संघ, संस्थाहरुको संयुक्त आयोजनामा बर्दियामा आयोजना गरिएको कार्यक्रममा सो प्रतिवद्धता व्यक्त गरिएको हो ।
सो कार्यक्रम बालविवाह, चाडै विवाह र जबरजस्ती विवाह रोकथाम परियोजना अन्तर्गत गरिएको थियो ।
जिल्लाका राजनितिक दल तथा विभिन्न सरोकारवालाहरुसँग स्थानीय निर्वाचन र बालबालिकाहरुका सवालहरु बिषयक गरिएको अन्तरक्रिया कार्यक्रममा सबै दलले सो प्रतिवद्धता व्यक्त गरेको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।
उहाँले प्रमुख र प्रतिनिधिहरुले पाँच बुँदे प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेर निर्वाचन प्रचारमा बालबालिकाको प्रयोग हुन नदिने तथा बालअधिकार उलंघन समेत हुन नदिने प्रतिवद्धता जनाएको बताउनुभयो । पाँच बुँदे प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्नेहरुमा गुलरिया नगरपालिकाका कार्यवाहक मेयर सुशिला गिरी, नेकपा एमालेका अंगद श्रेष्ठ, नेपाली काँग्रेसका सुधान्सु प्रकाश शर्मा, राष्टिय प्रजातन्त्र पार्टीका प्रभा केसी, नेकपा एसका बखत खड्का र माओवादी केन्द्रका अरविन्द बहादुर रहनु भएको छ ।
पाँच बुँदे प्रतिवद्धता पत्रमा बालबालिकालाई प्रचार प्रसारमा नलगाइने, विद्यालयमा राजनितिक दलको कुनैपनि कार्यक्रम नगर्ने, बालबालिकालाई प्रत्यक्ष असर पुग्ने कुरा भाषणमा नबोल्ने र बालबालिकाको अधिकार हनन् हुने कुनै पनि काम नगर्ने प्रतिवद्धताहरु गरिएका छन् ।
गुलरिया नगरपालिकाका कार्यवाहक मेयर सुशिला गिरीको अध्यक्षतामा भएको सो कार्यक्रममा खास गरी निर्वाचन आचार संहिता २०७८ मा भएका बालबालिका सँग सम्बन्धित मुख्य प्राबधानहरुको सम्बन्धमा ब्यापक रुपमा छलफल भएको थियो ।
त्यसै गरी सथानीय निर्वाचनमा हुन सक्ने बालअधिकार उल्लंघनका घटनाहरुको अनुगमनका लागि एउटा स्वतन्त्र संयन्त्र गठन गरी अनुगमन गर्नुपर्ने आबश्यतामा पनि छलफल भएको बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक महेश नेपालीले बताउनुभयो ।
कार्यक्रमको संचालन गुलरीया नगरपालिकाका महिला तथा बालबालिका प्रमुख शिला शाहले गर्नुभएको थियो भने उक्त अन्तरक्रियाको सहजीकरण बालबालिका शान्ति क्षेत्र, राष्ट्रिय अभियानका अध्यक्ष राजेन्द्र शार्माले गर्नु भएको थियो ।

Next Post

खेतबारीमा आगो लगाउने चलन

२०७९ बैशाख १७, शनिबार १८:०१
संवाददाता, नेपालगंज। तराईमा चर्को गर्मी सगैं चारैतिर खडेरी परेको छ । त्यसमाथि गहुँबाली भित्रई सकेका किसानले खेतबारीमा आगो लगाउँदा त्यसको धुवा, धुलोले वातावरण प्रदुर्षण मात्र भएको छैन, आँखा पोल्ने स्वास्थ्य समस्या पनि देखिन थालेको छ । विभिन्न वन क्षेत्रमा पनि आगलागी सम्बन्धीका साना ठुला घट्न हुँदा थप बायु प्रर्दुषण हुन […]