कोरोना बीमाको भुक्तानी एक महिना पछि हुन सक्ने

  ।   २०७९ बैशाख ४, आईतवार १५:३१

विष्णु पाण्डेय, काठमाडौं ।

लामो समयदेखि अन्यौलमा रहेको कोरोना बीमा भुक्तानी प्रक्रिया अझै सुरु हुनसकेको छैन ।

अर्थ मन्त्रालयबाट कोरोना बीमा बापतको रकम निकासा नहुँदा बीमितलाई बीमा बापतको रकम भुक्तानी गर्न नसकिएको बीमा समितिका प्रवक्ता निर्मल अधिकारीले जानकारी दिनुभयो ।

अधिकारीका अनुसार सरकारले रकम भुक्तानी गर्नुपर्ने रकम साढे १० अर्बको हाराहारीमा छ ।

प्रिमियमबाट उठेको साढे तीन अर्ब रुपैंया भुक्तानी गरिसकिएको र केही रकम बीमा कम्पनीले पनि भुक्तानी गरेकाले अब बाँकी साढे १० अर्वको हाराहारीमा रहेको उहाँको भनाइ छ ।

यसमा बीमा समिति, बीमा कम्पनी, पुनर्बिमा कम्पनी र सरकार लगायतको दायित्व रहेको छ । हालसम्म एक लाख ४५ हजार जनाको बीमा दावी परेको छ । तीमध्ये आधाभन्दा बढीलाई भुक्तानी गर्न बाँकी छ ।

बीमा समितिले रकम निकासाका लागि अर्थ मन्त्रालयलाई पत्र काटेको अधिकारीको भनाइ छ । यता, अर्थ मन्त्रालयका प्रवक्ता ढुण्डीप्रसाद निरौलाले कोरोना बीमाबापतको रकम निकासा गर्ने विषयमा मन्त्रालय सकारात्मक नै रहेको बताउनुभएको छ ।

उहाँका अनुसार सरकारले तिर्नुपर्ने बीमा बापतको रकम कसरी निकासा गर्ने भन्ने विषयमा मन्त्रालयमा छलफल भइरहेको छ । अब एक महिनापछि निकासा हुनसक्छ, उहाँले भन्नुभयो, ’सरकारले मात्र सबै रकम निकासा गर्न नसकिने भएकाले कसरी तिर्ने भन्ने कुरा चलिरहेको छ ।’

कोरोना बीमा गरेका बीमितका लागि सरकारले मात्र साढे १० अर्ब रुपैंया तिर्न नसक्ने भएकाले बीमा कम्पनी र बीमा समितिहरुसँग निरन्तर छलफल भइरहेको निरौलाको भनाइ छ ।

सरकारले कोरोना बीमा बापतको रकम कुन शिर्षकबाट निकासा गर्न सकिन्छ भन्ने स्रोतको खोजी कार्य जारी रहेको निरौला बताउनुहुन्छ ।

राष्ट्रिय बीमा कम्पनी लिमिटेडका प्रवक्ता निराजन आचार्यका अनुसार कोराना बीमा गरेका बीमितले दाबी गरेअनुसारको रकम पाउने बताउनुभयो । रकम भुक्तानी हुने समय भने केही ढिला हुने भए पनि बीमितले रकम भने पाउने उहाँको भनाइ छ ।

बीमा कम्पनीले दाबी निवेदन पेस गरेको सात दिनभित्र बीमितलाई भुक्तानी दिनुपर्ने कोरोना बीमा कार्यविधिमा व्यवस्था गरिएको छ ।

दाबी भुक्तानी नहुँदै बीमितको मृत्यु भएमा बीमितले इच्छाएको व्यक्ति वा कानुनी हकवालालाई भुक्तानी गर्नुपर्ने व्यवस्था छ । कोरोना बीमा कार्यविधिअनुसार कोरोना बीमाअन्तर्गत एक लाख र ५० हजार रुपैंया गरी दुई प्रकारको बीमाङ्क तोकिएको थियो ।

एक लाख रुपैंया प्रतिव्यक्ति एक हजार र ५० हजारको प्रतिव्यक्ति पाँच सय रुपैंया बीमा शुल्क रहेको थियो । परिवारको सम्पूर्ण सदस्यको बीमा गर्नुपरेमा एक लाख रुपैंयाँका लागि छ सय र ५० हजार रुपैंयाँका लागि तीन सय रुपैंयाँ शुल्क लाग्थ्यो ।

बीमा गर्दा कुनै पनि नेपाली नागरिक भारत लगायत तेस्रो मुलुकबाट आएको भएमा १५ दिन अनिवार्य रूपमा क्वारेन्टाइन र बाँकी १५ दिन आफ्नो परिवारसँग गरी कुल ३० दिन बसेको सम्बन्धित स्थानीय तहले प्रमाणित गरेको कागजात चाहिने व्यवस्था थियो  ।

गोरखापत्र अनलाइनबाट

Next Post

स्थानीय निर्वाचन प्रचार योजना र महत्व

२०७९ बैशाख ४, आईतवार १५:३१
  महेश्वर दाहाल स्थानीय तहको निर्वाचन सन्निकट छ। यसबारे पार्टीले सफल र सशक्त प्रचार योजना निर्माण गर्न ढिला भइसकेको छ। एकातिर समाजवादको आधार निर्माण गर्ने भूमिकामा रहेको माओवादी केन्द्र, सँगै बाम–लोकतान्त्रिक गठबन्धन, अर्कोतिर भएका उपलब्धि पनि नामेट पार्न लागेका केपी ओलीको वरिपरि केन्द्रीकृत भएका प्रतिगामी शक्तिहरू! त्यसैले स्थानीय निर्वाचन मुख्यतः […]