बाँकेमा बालविवाह मुक्त वडा घोषणा अभियान

१६ प्रतिशत वडा बालविवाह मुक्त घोषणा

  ।   २०७८ भाद्र १८, शुक्रबार १६:१५

  • फोटो : बाँकेको जानकी गाउँपालिका–२ लाई बालविवाह मुक्त वडा घोषणा गर्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर राना र जानकी–२ का वडा अध्यक्ष चन्द्रिकाप्रसाद गुप्ता ।

संवाददाता, नेपालगन्ज ।

बाँके जिल्लाका ५ वटा स्थानीय तहका एक दर्जन बढी वटा वडा बालविवाह मुक्त वडा घोषणा भएका छन् ।

प्लान इन्टरनेशनल नेपालको सहयोगमा स्याक नेपाल बाँकेले बालविवाह रोकथाम परियोजना सञ्चालन गरी जिल्लाका कूल ८१ वडामध्ये १३ वडालाई बालविवाह मुक्त घोषणा गर्न सफल भएको हो ।

जुन जिल्लाको कूल वडाको १६ प्रतिशत वडा बालविवाह मुक्त घोषणा भएको छ । बालविवाह मुक्त वडा घोषणा भने वडाको बाल अधिकार समितिले गर्छ ।

स्याक नेपालको बालविवाह रोकथाम परियोजना प्रबन्धक जगदीश थापाका अनुसार अहिलेसम्म नेपालगन्ज उपमहानगरपालिकाका ४ वटा वडा (१, २, १० र १२), कोहलपुर नगरपालिकाका ३ वटा वडा (१, १२ र १३), जानकी गाउँपालिकाका ३ वटा वडा (१, २ र ४), बैजनाथ गाउँपालिकाका २ वटा वडा (१ र ५) र खजुरा गाउँपालिकाको एउटा वडा अहिलेसम्म बालविवाह मुक्त घोषणा भइसकेका छन् ।

राप्ती सोनारी गाउँपालिका, डुडुवा गाउँपालिका र नरैनापुर गाउँपालिकाका भने कुनै पनि वडा बालविवाह मुक्त घोषणा भएका छैनन् ।

२४ चैत्र २०७७ मा खजुरा–३ बाट सुरु भएको बालविवाह मुक्त वडा घोषणा भदौको पहिलो सातासम्म ५ वटा स्थानीय तहमा घोषणा भइसकेको छ । कोहलपुर नगरपालिकाको वडा नं. ३, खजुरा गाउँपालिकाको वडा नं. १ र जानकी गाउँपालिकाको वडा नं. ३ लाई बालविवाह मुक्त वडा घोषणाको अन्तिम तयारी भइरहेको स्याक नेपालले जनाएको छ ।

त्यसैगरी डुडुवा–५, नरैनापुर–६ र राप्ती सोनारीको ६ र ७ मा पनि बालविवाह मुक्त वडा घोषणा गर्न स्थानीय तहले नीतिगत र कानुनी व्यवस्था गरिसकेका छन् । कतिपय वडा बाल अधिकार समितिले घोषणाको तयारीका लागि निर्णय पनि गरिसकेका छन् ।

प्रबन्धक थापाका अनुसार बालविवाह मुक्त वडा घोषणा गर्न कम्तीमा ४ वटा आधार चाहिन्छ ।

पहिलो आधार बालविवाह मुक्त घोषणा गर्नका लागि नीति र कानुनी अवस्था कस्तो छ ? दोस्रो वडा कार्यालयमा विवाह दर्ताको अवस्था के छ ?, तेस्रो प्रहरी कार्यालयमा बालविवाहविरुद्ध परेका उजुरीको अवस्था के छ र चौथो बालविवाहको केश पत्ता लगाउन र बालविवाहबारे सर्वसाधारणको धारणा जान्न सर्भेक्षण गरिन्छ ।

बालविवाह मुक्त वडा घोषणा गर्न स्थानीय तहले बालअधिकार समिति गठन सम्बन्धी कार्यविधि पारित गरी पालिका र वडा तहमा बाल अधिकार समिति क्रियाशील भएको हुनुपर्छ ।

त्यस्तै बाल संरक्षण नीति र पालिका बाल अधिकार (संरक्षण) समिति तथा विद्यालय र वडा स्तरमा बाल अधिकार समिति क्रियाशिल रहेको हुनुपर्छ ।

बालविवाह अन्त्य सम्बन्धी रणनीति र बालविवाह मुक्त अभियान सञ्चालन निर्देशिका जारी गर्नुपर्छ ।

‘बालविवाह मुक्त अभियान सञ्चालन निर्देशिकाले २० प्रतिशतभन्दा कम बालविवाह भएमा बालविवाह मुक्त वडा घोषणा गर्न सकिन्छ’, उहाँँले प्रष्ट पार्नुभयो, ‘बालविवाह वडा कार्यालयमा दर्ता नहुने र प्रहरी कार्यालयमा बालविवाह सम्बन्धी उजुरी र मुद्दा निकै कम पर्ने भएकाले हामी बालविवाहको केश पत्ता लगाउन वडाका सबै बस्तीलाई कभरेज गर्ने गरी सर्भेक्षण गर्छौ ।’

गुडन्यूज साप्ताहिक पत्रिकाबाट

Next Post

टोक्यो पाराओलिम्पिक्स : दुवै हात नभएका चिनियाँ पौडी खेलाडीले जिते कीर्तिमानसहित चार स्वर्ण

२०७८ भाद्र १८, शुक्रबार १६:१५
संवाददाता । दुवै हात नभएका चिनियाँ पौडी खेलाडी जेङ ताओले टोक्यो पाराओलिम्पिक्समा कीर्तिमान भङ्ग गर्दै चार स्वर्ण जितेपछि चर्चित बन्नुभएको छ । “छोरी, मलाई हेर – मसँग हात नभए पनि म चाहिँ छिटो पौडिन सक्छु !“ एउटा पौडी जितेपछि जेङले छोरीका लागि राखेको भिडिओ सन्देशमा भन्नुभएको छ । बाल्यकालमा करेन्ट […]