काठमाडौं । लुम्बिनी प्रदेश सभाको नवौं अधिवेशन भदौ १ गतेका लागि आह्वान गरिएको छ।
प्रदेश प्रमुख अमिक शेरचनले भदौ १ गते दिउँसो १ बजेका लागि अधिवेशन आह्वान गरेको प्रदेशसभा सचिवालयले जनाएको छ।
प्रदेश प्रमुख शेरचनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश सभाको अधिवेशन आह्वान गरेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरले जारी गरेको सूचनामा उल्लेख छ ।
साउन २८ गते मुख्यमन्त्रीमा नियुक्त भएका कुलप्रसाद केसीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था भएकोले उहाँले विश्वासको मत लिने तयारी गर्नुभएको छ ।
यसअघिको सरकारले असार ३१ गते राति अधिवेशन अन्त्य गरी अध्यादेशबाट बजेट ल्याएको थियो । त्यसपछि चार दलले तत्कालिन मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्तावमाथि छलफलका लागि विशेष अधिवेशन माग गरेका थिए ।
तर अविश्वास प्रस्ताव निर्णयार्थ पेश हुनुअघि नै पोखरेलले राजीनामा दिनुभएको थियो । हाल नेकपा माओवादी केन्द्र संसदीय दलका नेता केसी मुख्यमन्त्री नियुक्त भइसक्नु भएको छ । केसीलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा तथा राष्ट्रिय जनमोर्चाको गठबन्धनबाट केसी मुख्यमन्त्री नियुक्त भएका हुन् ।