सबिता चन्द
नेपालगन्ज । बाँके निर्वाचन क्षेत्र नम्बर २ मा चुनावी सरगर्मी बढ्दै जाँदा उम्मेदवारहरूले मतदाता भेटघाटसँगै सामाजिक र आध्यात्मिक व्यक्तित्वहरूसँग संवादलाई पनि प्राथमिकता दिन थाल्नु भएको छ । यही क्रममा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टले आध्यात्मिक गुरु योगी डा. विवेकानन्दसँग भेटघाट गर्नुभएको छ।
नेपालगञ्जमा सम्पन्न उक्त भेटका क्रममा उम्मेदवार बिष्टले बाँके क्षेत्रको शान्ति, सामाजिक सद्भाव र समृद्धिका विषयमा स्वामीजीसँग आशिष् तथा मार्गदर्शन लिनुभएको थियो। बहुधार्मिक र बहुसांस्कृतिक पहिचान बोकेको बाँके निर्वाचन क्षेत्र नम्बर २ मा आपसी समझदारी, सहअस्तित्व र सद्भाव कायम राख्न आध्यात्मिक केन्द्र र गुरुहरूको भूमिका महत्वपूर्ण हुने बिष्टको धारणा थियो।
भेटमा स्वामी विवेकानन्दले राजनीतिमा युवाहरूको सक्रिय सहभागितालाई स्वागत गर्दै नेतृत्व भनेको पद र शक्तिको अभ्यास मात्र नभई सेवाभाव र नैतिक जिम्मेवारी भएको स्पष्ट गर्नुभयो। “नैतिकताविहीन राजनीतिले समाजलाई सही दिशा दिन सक्दैन,” भन्दै उहाँले जनताको हितलाई केन्द्रमा राखेर इमानदारीपूर्वक काम गर्न उम्मेदवार बिष्टलाई सुझाव दिनुभयो। स्वामीले युवाको उर्जा र नैतिक मूल्य मिल्दा समाजमा सकारात्मक परिवर्तन सम्भव हुने विश्वास पनि व्यक्त गर्नुभयो।
उम्मेदवार बिष्टले आफ्नो ‘भिजन’ प्रस्तुत गर्दै विकासलाई केवल भौतिक पूर्वाधारमा सीमित नराख्ने स्पष्ट प्रतिबद्धता जनाउनुभयो। उहाँका अनुसार सडक, पुल र भवनसँगै जनताको मानसिक सशक्तीकरण, नैतिक मूल्य र आध्यात्मिक चेतनाको अभिवृद्धि बिना दिगो विकास सम्भव हुँदैन। “समृद्ध समाजका लागि शान्त मन, आपसी सम्मान र सामाजिक एकता अपरिहार्य छन्,” उहाँले उल्लेख गर्नुभयो।
बाँके क्षेत्र नम्बर २ मा यसपटक कडा प्रतिस्पर्धा देखिएको छ। युवा उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिनुभएका बिष्टले पछिल्लो समय विभिन्न धार्मिक, सामाजिक र बौद्धिक अगुवाहरूसँग भेटघाट गर्दै आफ्नो धारणा र प्रतिबद्धता साझा गरिरहनुभएको छ। स्वामी विवेकानन्दसँगको यो भेटलाई स्थानीय विश्लेषकहरूले चुनावी रणनीतिका रूपमा मात्र नभई बहुधार्मिक समाजमा विश्वास र सद्भावको सन्देश प्रवाह गर्ने प्रयासका रूपमा पनि व्याख्या गरेका छन्।
भेटपछि संक्षिप्त प्रतिक्रिया दिँदै उम्मेदवार बिष्टले भन्नुभयो,
“योगीको आशीर्वाद र मार्गदर्शनले मलाई जनताको सेवामा अझ दृढ भएर लाग्ने प्रेरणा मिलेको छ। हामी बाँकेलाई विकासको नमुना मात्र होइन, शान्ति, सद्भाव र सहअस्तित्वको केन्द्रका रूपमा स्थापित गर्नेछौँ।”
योगी विवेकानन्दको यस भेटले बाँके–२ को चुनावी बहसमा विकाससँगै नैतिकता, आध्यात्मिक चेतना र सामाजिक सद्भावको विषयलाई थप गहिराइ दिएको छ।





