टिकुलिपुरमा ३ दिने डिग्रे मेला सुरु

  ।   २०८० मंसिर ११, सोमबार २०:०७

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. २ टिकुलीपुरमा कला र संस्कृतिको जगेर्ना गर्न आइतबारदेखि ३ दिने ‘डिग्रे’ मेला सुरु भएको छ । सिद्धसाइकुमारी मन्दिर व्यवस्थापन समितिको आयोजनामा सञ्चालनमा आएको मेलाको राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले उद्घाटन गर्नुभयो ।

उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले राप्तीसोनारी गाउँपालिकाले कला र संस्कृतिको संरक्षणका निम्ति विविध कार्यक्रम गर्दै पालिका मौलिक कला र संस्कृतिको संरक्षणमा कटिबद्ध भएको बताउनुभयो । उहाँले राप्तीसोनारी गाउँपालिका कला र संस्कृतिको धनी भएको तर पहिचान हुन नसकेकाले स्थानीय कला र संस्कृतिको प्रचारप्रसार गर्न आवश्यक रहेको बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष मनीषासिंह थारुले राप्तीसोनारीको अर्को पहिचान विभिन्न कला र संस्कृति भएको बताउँदै गाउँपालिकाभित्र रहेका पौराणिक तथा मौलिक कला संस्कृतिको संरक्षणमा सबै जुट्नुपर्ने बताउनुभयो ।

राप्तीसोनारी गाउँपालिका वडा नं. ८ का वडाध्यक्ष सालिकराम डाँगीले रुकुमेलीको पहिचान बोकेको ‘डिग्रे’ मेलाको आफ्नै मौलिक पहिचान भएको बताउँदै मेलालाई सभ्य र भव्य रूपमा सम्पन्न गर्न सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । मेलाको पहिलो दिन उद्घाटन सत्रमा कलश यात्रा, विविध मौलिक झाँकी, महिला पन्चैबाजा, स्कुलहरूको मार्च पास, तेक्वान्दो डोजाङहरुको प्रस्तुति, सोरठी, पैरीलगायतका नृत्य प्रस्तुत गरिएको थियो ।

मङ्सिर १२ गते सम्म सञ्चालन हुने मेलामा यसवर्ष विशेषगरी स्थानीय कला संस्कृतिलाई संरक्षण र प्रवर्द्धन गरिने खालका झाँकी तथा स्थानीय क्लब, भैली समूह, आमा समूह, विद्यालय स्तरको नृत्य प्रतियोगिता गरिने मेला आयोजक समितिका संयोजक कमारो केसीले जानकारी दिनुभयो ।

यसपटक विशेष गरी स्थानीय कला र संस्कृति जगेर्ना गर्ने विभिन्न खालका प्रस्तुति रहने उहाँले बताउनुभयो । मेलमा भलिबल प्रतियोगिता, मयूरनाच, सिँगारु नाच, ब्याटमिन्ट्न प्रतियोगिता, कुर्सीदौड, तानडारी, एकल नृत्य प्रतियोगितालगायतका मनोरञ्जनात्मक कार्यक्रम राखिएको उहाँले बताउनुभयो ।

मेला आयोजक समितिका संयोजक कमारो केसीको सभापतित्वमा सम्पन्न भएको उद्घाटन सत्रमा समितिका सचिव बहादुर केसीले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा समाजसेवी, बुद्धिजीवी, सुरक्षाकर्मी, विभिन्न सामुदायिक वनका अध्यक्षहरू, विद्यार्थी तथा सर्वसाधारणको बाक्लो उपस्थिति थियो ।

Next Post

अवैध ईलेक्ट्रिक स्कुटर र मोबाईल चार्जर बरामद

२०८० मंसिर ११, सोमबार २०:०७
सबिता चन्द नेपालगन्ज । बाँके प्रहरीले भारतबाट अवैधरुपमा भन्सार छली गरी नेपाल ल्याइएका एउटा ईलेक्ट्रिक स्कुटर र मोबाईल चार्जर बरामद गरेको छ । नेपालगन्ज उपमहानगरपालिका १० स्थित गणेशमान चोकबाट सोमबार भारतबाट भन्सार छली ल्याइएको ईलेक्ट्रिक स्कुटर र मोबाईल चार्जर बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त सामानको मूल्य […]

सम्बन्धित समाचार