संघीय संसदका दुवै सदनको अधिवेशन आज

  ।   २०७८ श्रावण ३, आईतवार ०७:१८

काठमाडौं । सर्वोच्च अदालतको आदेशानुसार सङ्घीय संसदको अधिवेशन आजदेखि सुरु हुँदैछ ।

सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ बानेश्वरस्थित संसद् भवनमा आइतबार अपराह्न ४ बजेका लागि अधिवेशन आह्वान गर्नुभएको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले पुनःस्थापित संसद् धेरै हिसाबले ऐतिहासिक, बहुआयामिक र दूरगामी महत्वको रहेकाले दलहरुबीच एकता अपरिहार्य रहेको बताएका छन् ।

मुलुकमा विद्यमान फरक राजनीतिक घटनाक्रमसँगै प्रतिनिधिसभा पुनःस्थापना भई शुरु हुन लागेको यस अधिवेशनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट निकै चासोका साथ हेरिएको छ । यस अधिवेशनबाट प्रधानमन्त्री शेरबहादुर देउवाले प्राप्त गर्ने विश्वासको मतले आगामी राजनीतिलाई दिशानिर्देश गर्नेछ ।

कोभिड–१९ सङ्क्रमणको जोखिम कायममै रहेको बेला शुरु हुन लागेको अवधिवेशन सञ्चालनका लागि स्वास्थ्य मापदण्डको पालनालगायत व्यवस्थासहित सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिइएको छ ।

आजको कार्यसूची

आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन्। राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरुको व्यहोरा पनि पढेर सुनाइनेछ।

यस्तै, सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्ने सम्भावित कार्यसूची छ ।

शोक प्रस्ताव पेस गर्ने कार्यसूची पनि रहेको संघीय संसद्का महासचिव डाक्टर भरतराज गौतमले जानकारी दिनुभयो ।

अधिवेशनको प्रारम्भमा दलका नेताहरुले मन्तव्य व्यक्त गर्ने परम्परा रही आएको छ । यस्तै राष्ट्रियसभाको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् ।

Next Post

विश्वमा कोरोनाबाट मृत्यु हुनेको ४० लाख ९८ हजार पुग्यो

२०७८ श्रावण ३, आईतवार ०७:१८
एजेन्सी । विश्वभर कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ४१ लाख नजिक पुगेको छ। हिजो एकैदिन ६ हजार ९१९ संक्रमितको मृत्यु भएसँगै कुल संक्रमितको संख्या ४० लाख ९८ हजार ४०० नाघेको छ। पछिल्लो २४ घण्टामा इन्डोनेसियामा सबैभन्दा धेरै एक हजार ९२ संक्रमितले ज्यान गुमाएका छन्। ब्राजिलमा ८२३, रुसमा ७८७, भारतमा ५१७, […]