संवाददाता ।
भारतीय वैज्ञानिकहरूले एन्टार्कटिका महादेशमा वनस्पतिको नयाँ प्रजाति पत्ता लगाएका छन । ध्रुवीय जीवशास्त्रीहरूले सन् २०१७ मा उक्त हिउँले ढाकिएको महादेशमा काईको एउटा प्रजाति भेटेका थिए ।
प्रजाति पहिचान लामो र गाह्रो प्रक्रिया भएका कारण वैज्ञानिकहरूलाई त्यो प्रजाति पहिलो पटक भेटिएको पुष्टि गर्न पाँच वर्ष लागेको हो । सो खोजको बारेमा लेखिएको वैज्ञानिक लेख प्रख्यात अन्तर्राष्ट्रिय जर्नल, ’जर्नल अफ एशिया–प्यासिफिक बायोडाइभर्सिटी’ मा छाप्न स्वीकार गरिएको छ ।
भारतले एन्टार्कटिका महादेशमा चार दशक पहिले अनुसन्धान स्टेशन निर्माण गरेयता यसरी नयाँ वनस्पतिको प्रजातिको खोज गरेको पहिलो पल्ट हो ।
एन्टार्कटिकामा भारतले सन् १९८४ मा पहिलो पल्ट स्थापना गरेको स्टेशन हिउँमा पुरिएपछि सन् १९९० मा बन्द भएको थियो । सन् १९८९ मा स्थापित मैत्री र सन् २०१२ मा स्थापित भारती नाम दिइएका अनुसन्धान स्टेशन भने अहिलेसम्म चालु रहेका छन् ।
पन्जाब केन्द्रीय विश्वविद्यालयका जीवशास्त्रीहरूले सो वनस्पतिलाई ब्राइअम भारतीएनसिस् नामकरण गरेका छन् । भारती हिन्दु देवी सरस्वतीको एउटा नाम हो ।
भारतीय वैज्ञानिकहरूको ३६ औँ अध्ययन भ्रमणमा सामेल रहनुभएका प्राध्यापक फिलिक्स बास्टले सन् २०१७ को ज्यानुअरीमा दक्षिणी सागर नजिकै रहेको लार्समान हिल्समा गाढा हरियो रङ्गको काई भेट्नुभएको थियो ।
सो स्थान भारती अनुसन्धान स्टेशन नजिकै रहेको छ । वनस्पतिलाई जीवित रहनका लागि नाइट्रोजन, पोटासियम, फोस्फोरस, सूर्यको किरण र पानीको आवश्यकता पर्छ । एन्टार्कटिकामा एक प्रतिशत भूभाग मात्रै हिउँले ढाकिएको छैन ।
“सबैभन्दा ठूलो प्रश्न भनेको चट्टान र हिउँको स्थानमा काई कसरी बाँच्छ भन्ने हो,“ प्राध्यापक बास्टले भन्नुभयो । वैज्ञानिकहरूले पेङ्गुइनहरूले ठूलो सङ्ख्यामा सन्तान उत्पादन गर्ने स्थानहरूमा काई हुने पत्ता लगाएका छन ।
पेङ्गुइनको बिस्टामा नाइट्रोजन हुन्छ ।
“यी काईहरू पेङ्गुइनको बिस्टाले जीवित रहन्छन्,“ प्राध्यापक बास्टले भन्नुभयो । सूर्यको प्रकाश चाहिँ कहाँबाट पाउँछन ? वैज्ञानिकहरूले हिउँदको चिसो छ महिना हिउँले ढाकिएर र तापक्रम माइनस ७६ डिग्री सेल्सीअस हुँदा बिना सूर्यको प्रकाश काई कसरी बाँच्छन् भन्ने बुझ्न सकेका छैनन ।
वैज्ञानिकहरूले त्यो समयमा यी झन्डै बिउको अवस्थामा पुग्ने गरी निष्क्रिय हुनसक्ने र गृष्म याममा सूर्यको प्रकाशले पुन : उमारिने सम्भावना रहेको बताउँछन् ।
नयाँ पत्ता लागेको काईको नमुनालाई भारतीय वैज्ञानिकहरूले पाँच वर्षसम्म डीएनए सिक्वेन्सिङ गर्दै अन्य प्रजातिका वनस्पतिसँग तुलना गरेका थिए ।
अहिलेसम्म एन्टार्कटिकामा १०० भन्दा बढी प्रजातिका काई भेटिएका छन् । वैज्ञानिकहरू जलवायु परिवर्तनको प्रत्यक्ष असर एन्टार्कटिकामा देखिन थालेको बताउँछन ।
“एन्टार्कटिका हरियो हुँदैछ । थुप्रै वनस्पतिहरू जुन त्यहाँको अवस्थामा जीवित रहन सक्दैन थिए आजकल त्यो महादेश तात्न थालेकोले जताततै देखिन थालेका छन्,“ प्राध्यापक बास्टले भन्नुभयो ।