काठमाडौं । गत मंसिरमा नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा खेल सामग्री खरिदमा भएको अनियमितताका विषयमा छानबिन गर्न उपसमिति गठन भएको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सागको खेल सामग्री खरिदमा भएको अनियमितता छानबिन गर्न उपसमिति गठन गरेको हो।
राखेप बोर्ड सदस्य गोविन्दप्रसाद भट्टराईको संयोजकत्वमा गठन भएको ५ सदस्यीय समितिले खेल सामग्रीमा भएको अनियमितता छानबिन गर्नेछ।
उपसमितिले ब्याडमिन्टन खेलको सामग्री खेलाडीहरूले समयमा नपाएको र प्राप्त खेल सामग्री गुणस्तरहिन रहेको भन्ने उजुरीमाथि छानबिन गर्नेछ।
यस्तै उपसमितिका संयोजक भट्टराईले खेलकुद सामग्रीको गुणस्तर चित्तबुझ्दो नभएको, कोटेशन अनुसारको स्टोर दाखिला नभएको, स्टोर दाखिला भएका सामग्री खेलाडीहरुले प्राप्त नगरेको लगायतका विषयमा पनि छानबिन हुने बताउनुभयो।
अहिले ब्याडमिन्टनका खेल सामग्रीमा भएको अनियमितताका विषयमा निवेदन प्राप्त भएकाले सोही विषयमा मात्र छानबिन गरिने उहाँले बताउनुभयो । अरु क्षेत्रबाट पनि खेलाडी तथा प्रशिक्षकहरुले प्रमाणसहित उजुरी गरेको खण्डमा राखेप र मन्त्रलायले छानबिन गर्ने उहाँले बताउनुभयो।
उपसमितिमा राखेप तालिम तथा प्रशिक्षण विभागका प्रमुख अर्जुनबहादुर विक, राष्ट्रिय टिम तयारीका प्रमुख महेन्द्रकुमार राई, कानून शाखा प्रमुख नारायण अर्याल र लेखा अधिकृत पासाङ फिजिङ शेर्पा छन्। उपसमितिले २१ दिनभित्र प्रतिवेदन राखेपलाई बुझाउने छ।
नेपाल ब्याडमिन्टन संघका उपमहासचिव लवभक्त श्रेष्ठमाथि आर्थिक अनियमितताको आरोप लागेपछि उहाँले राजीनामा बुझाइ सक्नुभएको छ ।
यसअघि गएको शुक्रबार ब्याडमिन्टन खेलाडीहरूले आफ्नो नाममा आएको खेल सामग्री अझैसम्म नपाएको भन्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा उजुरी दर्ता गराएका थिए।
सागमा नेपालको तर्फबाट राष्ट्रिय ब्याडमिन्टन टोलीमा १० महिला र १० पुरुष खेलाडीको सहभागिता रहेको थियो। जसमा नेपालले ५ कास्य पलदक जितेको थियो। सेतोपाटी