बन्द भएको उद्धार उडान पुन: सञ्चालन हुने

दिनको १८ सय देखि नौ हजार रुपैयाँसम्म तिरेर होटलमा बस्नुपर्ने

  ।   २०७७ भाद्र ५, शुक्रबार ०६:४४

काठमाण्डौ । विदेशमा अलपत्र परेका नेपालीहरुलाई स्वदेश फर्काउन बन्द भएका उद्धार उडान फेरि सुरु हुने भएका छन् ।

बिहिबार मात्रै सरकारले विदेशमा अलपत्र परेका नागरिकलाई उद्धार गर्न तत्काल उडान सुरु गर्ने निर्णय गरेको छ । मंगलबार कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीले उद्धार उडानहरू स्थगित गर्ने निर्णय सच्याउँदै मन्त्रिपरिषद्को हिजोको बसेको बैठकले सर्तसहित उद्धार उडान खुलाउने निर्णय गरेको हो ।

अब स्वदेश फर्कने नेपालीले पीसीआर रिपोर्ट अनिवार्य रूपमा ल्याउनुपर्ने र काठमाण्डौ उत्रिसकेपछि होटल क्वरेण्टीनमा बस्नुपर्ने निर्णय भएको पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बताउनुभयो । होटलमा बस्न नसक्ने बेखर्ची बनेकालाई पनि सरकारले ल्याउने, तर उनीहरू सरकारले तोकेको क्वरेण्टीनमा बस्नुपर्ने उहाँले बताउनुभयो । उनीहरूको खर्च श्रम कल्याणकारी कोषमार्फत तिरिनेछ । पीसीआर परीक्षणको व्यवस्था नभएको देशबाट आउनेले कोरोना नलागेको सुनिश्चितता गर्नुपर्ने मन्त्री भट्टराईले बताउनुभयो ।

विदेशबाट आएकाहरुलाई राख्नको लागि सरकारले काठमाण्डौका होटलको सूची पनि सार्वजनिक गरेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाण्डौले सूचनामार्फत पाँचतारे होटलदेखि पर्यटकस्तरीय होटलसम्मको विवरण सार्वजनिक गरेको हो । विवरण अनुसार पाँचतारे होटलमा बस्नेले एक दिनको नौ हजार रुपैयाँसम्म तिर्नुपर्नेछ । चार तारेमा बस्नेले प्रतिदिन ६ हजार, तीनतारेमा बस्नेले प्रतिदिन ५५ सय, दुईतारेमा बस्नेले ३५ सय, एकतारेमा बस्नेले २५ सय र पर्यटक स्तरीय होटमा बस्नेतले प्रतिदिन १८ सय रुपैयाँसम्म तिर्नुपर्नेछ । उज्यालो अनलाइन

Next Post

सुदूरपश्चिमका तीन जिल्ला, एक स्थानीय तहमा निषेधाज्ञा जारी

२०७७ भाद्र ५, शुक्रबार ०६:४४
धनगढी । सुदूरपश्चिमका तीन जिल्लासहित एक स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको छ। कैलाली, कञ्चनपुर, डडेल्धुरा र बैतडीको एक स्थानीयतहमा कोभिड– १९ संकट व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार निषेधाज्ञा जारी गरिएको हो। कैलालीमा बिहीबार रातिदेखि लागू हुने गरी भदौ १४ गते रातिसम्मका लागि निशेधाज्ञा जारी भएको छ। जिल्ला प्रशाशन कार्यालयले निषेधाज्ञा […]