संवाददाता, नेपालगंज ।
बाँकेमा ‘एन्फा प्रेसिडेन्ट लिग–२०७७’ भोली (सोमबार) देखि सुरु गर्न लागीएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा पहिलोपटक नेपालगंज रंगशालामा प्रतियोगिता सुरु गर्न लागीएको हो ।
एन्फाले आज पत्रकार सम्मेलन गरेर यसबारेमा विस्तृत जानकारी दिएको छ । एन्फाले फुटबलको विकास इतिहासमा पहिलोपटक नेपालगंजमा फुटबल लिग गर्न लागेको एन्फा केन्द्रीय सदस्य तथा प्रतिनिधि पूर्णमान चित्रकारले बताउनुभयो ।
उहाँका अनुसार मोफसलका टिमलाई पनि राष्ट्रियस्तरको फुटबल प्रतियोगितामा सहभागी गराउने उद्देश्यले एन्फा प्रेसिडेन्ट लिग–२०७७ को आयोजना गर्न लागीएकोे हो ।
फुटबल लिगको एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले उद्द्घाटन गर्ने कार्यक्रम तय भएको छ । प्रतियोगितामा भने सात प्रदेशका लिग च्याम्पियन टोलीबीच प्रतिस्पर्धा गराईनेछ ।
जसमा लुम्बिनी प्रदेश च्याम्पियन धम्बोझी युवा क्लब (बाँके) ले पनि सहभागीता जनाउने भएको छ ।
प्रदेश नम्बर १ को लिग च्याम्पियन सैनिक फुटबल क्लब (झापा), प्रदेश नम्बर २ च्याम्पियन मनकामना युवा क्लब (रौतहट), बागमती प्रदेश च्याम्पियन (धादिङ समाज), गण्डकी प्रदेश च्याम्पियन त्रिवेणी युवा क्लब (लमजुङ), कर्णाली प्रदेश च्याम्पियन लेकाली युवा क्लब (जुम्ला) र सुदुरपश्चिम प्रदेश च्याम्पियन स्टारसिटी युवा क्लब (कैलाली) ले प्रतिस्पर्धा गर्नेछन् ।
प्रसिडेन्ट लिगको शिर्ष चार टोलीले एन्फाले आयोजना गर्ने राष्ट्रिय लिग खेल्ने पाउनेछन् । चैत १५ गते सम्म चल्ने प्रेसिडेन्ट लिग–२०७७ को विजेताले १० लाख रुपैंया र उपविजेताले ५ लाख रुपंैया पाउने छन ।
यसैगरी विद्यागत रुपमा फेयर प्ले र सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैंया पाउने छन् । उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्डर, स्ट्राइकर, प्रशिक्षकले जनही २५ हजार रुपैंया पाउनेछन् ।
प्रतियोगितालाई सफल बनाउनको लागि सचिवालय संयोजकमा समिर वली, आवास तथा भोजनमा घनश्याम थापा, मञ्च तथा अतिथि सत्कारमा गोबिन्द्र श्रेष्ठ, प्रचार–प्रसारमा कमल खत्री, अनुशासनमा गोर्वधन सिंह सम्झना, प्राथमिक उपचारमा भरत बहादुर खत्री, मैदान व्यवस्थापनमा अर्जुन थापा, टिकट व्यवस्थापनमा दिपक राना र स्वयमसेवक व्यवस्थापनको संयोजकको रुपमा विष्णु रावतलाई मनोनित गरिएको छ ।
- कमल खत्रीको सहयोगमा