दुर्गा प्रसाईँको क्यान्सर अस्पताल उद्घाटन गर्न प्रधानमन्त्री ओली आज झापा आउँदै

  ।   २०७७ फाल्गुन १८, मंगलवार ०६:४४

झापा : प्रधानमन्त्री केपी शर्मा ओली यसै साता दोस्रो पटक गृह जिल्ला झापा आउँदैछन्। बिर्तामोडमा दुर्गा प्रसाईँले एक वर्षअघि सञ्चालनमा ल्याएको पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्न ओली आज गृह जिल्ला झापा आउन लागेका हुन्। उनी गत आइतबार झापा आएका थिए।

उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल, शिक्षामन्त्री गोपालमान श्रेष्ठ, शहरी विकास मन्त्री प्रभु साह, संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङ, पूर्वमन्त्री महेश बस्नेतसहित कलाकारहरू मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, मनीषा कोइराला, भारतीय अभिनेतृ सोनाली बान्द्रेलगायत आउने अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईँले जानकारी दिए। प्रधानमन्त्री ओली बिहान ११ बजे काठमाडौंबाट यती एयरलाइन्सको विमानमा चन्द्रगढी विमानस्थल भद्रपुर आइपुग्ने कार्यक्रम रहेको छ।

प्रसाईँले २०७१ फागुनमा सञ्चालनमा ल्याएको बिएण्डसी अस्पतालको उद्घाटन तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका थिए। बिएण्डसी अस्पतालले २०७४ मंसिर २ मा आयोजना गरेको पूर्वाञ्चल स्वास्थ्य महोत्सवमा समारोहमा प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष प्रचण्डसँगै आएका थिए। उक्त समारोहमा ओली र प्रचण्डले बिएण्डसी अस्पताललाई मेडिकल कलेज सञ्चालन गर्न अनुमति दिने घोषणा गरेका थिए। तर, अहिलेसम्म मेडिकल कलेज सञ्चालनमा आउन सकेको छैन।

मेडिकल कलेज सञ्चालनको अनुमति नपाएपछि प्रसाईँले पूर्वका क्यान्सर पीडित बिरामीका लागि बिएण्डसी अस्पताल परिसरमै पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालनमा ल्याएको हो ।

करिब छ सय करोड रुपैयाँको लागतमा निर्माण गरिएको क्यान्सर अस्पतालको क्षमता तीन सय शय्याको भए पनि हाल एक सय शय्या सञ्चालनमा रहेको जनाइएको छ । तीन सय शय्याको स्वीकृति पाएको सो अस्पतालमा क्यान्सर उपचारका लागि आवश्यक रेडियो थेरापी, केमो थेरापी, सर्जरीलगायत सम्पूर्ण सेवा उपलब्ध रहेको छ ।

गत वर्षदेखि नै उपचार सेवा सञ्चालनमा ल्याएको सो अस्पतालले एक वर्षका अवधिमा २६ हजारभन्दा बढीका बिरामीलाई ओपिडी सेवा प्रदान गरेको छ ।

अस्पतालमा पेट स्क्यान, एमआरआई, सिटी स्क्यानलगायत अत्याधुनिक उपकरण सञ्चालनमा रहेका अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले जानकारी दिए ।अमेरिका र जर्मनीमा बनेका ती उपकरणलाई हालसम्म नेपालका कुनै अस्पतालले सञ्चालनमा नल्याएको गिरीको दाबी छ । पूर्वका क्यान्सर रोगीहरूलाई मध्यनजर गर्दै सञ्चालनमा आएको अस्पतालमा छिमेकी मुलुक भारतबाट समेत बिरामीहरू आउने गरेको उनको भनाई छ ।

Next Post

भ्रष्टाचार मुद्दामा फ्रान्सका पूर्वराष्ट्रपति सार्कोजीलाई तीन वर्ष कैद

२०७७ फाल्गुन १८, मंगलवार ०६:४४
एजेन्सी । फ्रान्सका पूर्वराष्ट्रपति निकोलन सार्कोजीलाई भ्रष्टाचार मुद्दामा तीन वर्ष कैद सजाय सुनाइएको छ। सन् २००७ देखि २०१२ सम्म फ्रान्सका राष्ट्रपति रहेका ६६ वर्षीय सार्कोजीलाई सोमबार एक अदालतले आफ्नो चुनावी अभियानका लागि डोनेसन लिन र गोप्य सूचना प्राप्त गर्न अरू दुई जना व्यक्तिसँग मिलेर कानुनको उल्लंघन गरेको आरोपमा दोषी ठहर […]