सिमीकोटमा दैनिक ११ घण्टा लोडसेडिङ, एसईईको तयारी गरिरहेका विद्यार्थीलाई समस्या

  ।   २०७७ पुष १९, आईतवार ०९:०६

हुम्ला । हुम्लाको सदरमुकाम सिमीकोटमा दैनिक ११ घण्टा लोडसेडिङ हुँदा एसईई तयारी गरिरहेका विद्यार्थी समस्यामा परेका छन् ।

लोडसेडिङले आउने जेठमा एसईई तयारी गर्नका लागि सिमीकोटमा ट्युसन पढ्न आएका विद्यार्थीसहित सदरमुकाम सिमीकोटवासीको दैनिकीमा समस्या भएको छ ।

कोरोना सङ्क्रमण त्रासले विद्यालय नखुलेर पढ्न नपाएका विद्यार्थीले हिउँदको समयमा सिमीकोटमा लामो समय लोडसेडिङ हुन थालेपछि एसईईमा नम्बर राम्रो नआउने भएको भन्दै चिन्ता गर्न थालेका छन् ।

हुम्लामा शैक्षिक सत्र खुलेको एक महिनापछि नेपाल सरकारले कोरोना त्रासका कारण गएको चैत ५ गतेदेखि देशभरका विद्यालय बन्द गरेसँगै यहाँका विद्यार्थीको पठनपाठन प्रभावित बनेको हो। हिउँदे ट्युसनको भरमा एसईईको तयारी गरिरहेका जिल्लाका विद्यार्थीलाई दैनिक ११ घण्टा लोडसेडिङ हुँदा निराशा छाएको छ ।

हिल्दुम साना जलविद्युत् आयोजनाको मुहानमा पानीको स्रोत कम भएपछि दैनिक ११ घण्टा लोडसेडिङ गर्नुपरेको नेपाल विद्युत् प्राधिकरण कार्यालय सिमीकोटका लालबहादुर लम्सालले जानकारी दिनुभयो ।

यस्तै दैनिक ११ घण्टा लोडसेडिङले जिल्लाका सरकारी कार्यालयको प्रशासनिक काम तथा व्यापार–व्यवसाय प्रभावित बनाएको छ । दिनमा तीन पटक लोडसेडिङ हुन थालेपछि सिमीकोटमा दाउराको माग बढेको छ ।

एक भारी दाउराको सिमीकोटमा एक हजार रुपैयाँ तिर्नुपर्ने अवस्था छ । लोडसेडिङले सदरमुकाम सिमीकोट, खार्पुनाथ गाउँपालिकामा सञ्चालित इलेक्ट्रोनिक पसल व्यवसाय गर्नेलाई पनि प्रभावित बनाएको छ । रासस

Next Post

राष्ट्रपति, प्रधानमन्त्री र सभामुखद्वारा अदालतमा लिखित जवाफ पेश

२०७७ पुष १९, आईतवार ०९:०६
काठमाडौं । राष्ट्रपतिलगायत कार्यालयले सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटन गर्नुपर्ने कारणसहित लिखित जवाफ पेश गरेका छन् । महान्यायाधिवक्ता कार्यालयमार्फत राष्ट्रपति र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय एवं प्रतिनिधिसभाका सभामुखबाट लिखित जवाफ हिजो दर्ता भएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक इजलासले […]