बर्दिया र दाङका ३ जना कोरोना संक्रमितको बाँकेमा मृत्यु

  ।   २०७७ कार्तिक २५, मंगलवार ०८:५९


बाँके । बाँकेमा उपचाररत तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । बर्दियाका दुई जना र दाङका एक जना संक्रमितको मृत्यु भएको हो ।

बर्दियाको ठाकुरद्वारा नगरपालिका–२ का २९ वर्षीय पुरुषको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको छ । कात्तिक २३ गते साँझ अस्पताल भर्ना भएका उहाँको सोमबार दिउँसो पौने २ बजे मृत्यु भएको र सोही दिन साँझ ६ बजे कोरोना पोजेटिभ रिपोर्ट आएको हो ।

प्री–आइसोलेसन युनिटमा भर्ना गरेर अक्सिजन र एन्टिबायोटिक लगायत सबैखाले उपचार विधि अपनाउँदा पनि उहाँलाई बचाउन नसकिएको कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरशेबाबु श्रेष्ठले बताउनुभयो । श्रेष्ठका अनुसार मृतकमा निमोनियाको समस्या थियो ।

यस्तै बर्दियाकै बाँसगढी नगरपालिका– ८ का ३५ वर्षीय पुरुषको वेस्टर्न अस्पताल नेपालगन्जमा मृत्यु भएको छ । खुट्टाको जोर्नी फुस्केको समस्या लिएर कात्तिक २३ गते साँझ अस्पताल भर्ना भएका थिए । सोमबार साँझ ५ बजे कोरोना संक्रमण पुष्टि भएको तीन घण्टापछि अर्थात् गएराति सवा ८ बजे उहाँको मृत्यु भएको हो ।

यस्तै दाङको घोराही उपमहानगरपालिका–१५ का ६४ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको छ । सोमबार बिहान अस्पताल भर्ना भएको उहाँको गएराति साढे ९ बजे मृत्यु भएको हो । उहाँको कोरोना परीक्षण रिपोर्ट भने राति १० बजे आएको हो ।

बाँकेका अस्पतालहरुमा बाहिर जिल्लाबाट उपचारका लागि आएका कोरोना संक्रमितको मृत्यु हुने संख्या ३२ पुगेको कोभिड संकट व्यवस्थापन केन्द्र बांकेले जनाएको छ ।

 

 

 

Next Post

राष्ट्रसंघीय महिलाविरुद्ध हुने भेदभाव अन्त्यसम्बन्धी समिति सदस्यमा बन्दना राणा निर्वाचित

२०७७ कार्तिक २५, मंगलवार ०८:५९
काठमाण्डौ । महिलाविरुद्ध हुने भेदभाव अन्त्यसम्बन्धी संयुक्त राष्ट्रसंघीय समितिको सदस्यमा बन्दना राणा निर्वाचित हुनुभएको छ । राति भएको चुनावमा उहाँ दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो । १ सय ८९ मध्ये राणाले १ सय ३७ मत प्राप्त गर्नुभयो । ११ सदस्यीय समितिका लागि २० जनाको उम्मेदवारी थियो । दोस्रो कार्यकालमा […]