राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी र दरबार हाइस्कुलको उद्घाटन गर्नुभएको छ । १२ बैशाख २०७२ मा गएको भूकम्पले क्षति भएको रानीपोखरीको २ माघ २०७२ मा राष्ट्रपति भण्डारीले शिलान्याश गर्नुभएको हो ।
त्यसबेला रानीपोखरी लगायत मुलुकका भुकम्पले क्षति भएका सांस्कृतिक सम्पदालाई बलियो र मौलिक स्वरुपमै पुनर्निर्माण गर्न लिएको अठोट पुरा भएको राष्ट्रपति भण्डारीले बताउनुभयो ।
प्रताप मल्लको पालामा निर्माण भएको रानीपोखरीका माध्यमबाट वर्तमान पुस्तालाई लोककल्याणकारी र सामाजिक क्षेत्रमा कार्य गर्न प्रेरणा मिल्दै आएको महशुस भएको राष्ट्रपति भण्डारीले बताउनुभयो ।
विगतको गुम्बज शैली, प्रताप मल्लको ग्रन्थकुट शैलीमा निर्माण भएको छ ।
राष्ट्रिय पुन निर्माण प्राधिकरणले परम्परागत प्रविधि, शैली र निर्माण सामग्रीको प्रयोग गरी पुनर्निर्माण गरेको रानीपोखरी र बालगोपालेश्वर मन्दिरले पुरातात्विक सम्पदाहरूको संरक्षण र पुनर्निर्माणको क्षेत्रमा एउटा उदाहरण प्रस्तुत गरेको उहाँले जानकारी दिनुभयो ।
प्राकृतिक एवं सांस्कृतिक सम्पदाले समृद्ध र प्राचीन सभ्यताको उद्गम स्थलको रुपमा रहेको काठमाडौंको विकासको लागि यो कार्य कोशेढुंगा सावित हुनेमा उहाँले विश्वास लिनुभएको छ ।
त्यस्तै दरबार हाइस्कुलले स्थापना भएपछि शैक्षिक चेतना र जागरण थपिएको उहाँले बताउनुभयो । यस विद्यालयले योग्य नागरिक तयार गरी मुलुकलाई सहयोग पु¥याएको उहाँले बताउनुभयो ।




