भेरी अस्पतालमा फोक्सो, सघन उपचार तथा निद्रा रोगसम्बन्धी विशेषज्ञ सेवा सुरु

  ।   २०८३ कार्तिक १८, मंगलवार १४:१६

बाँके । भेरी अस्पताल नेपालगञ्जले फोक्सो तथा श्वासप्रश्वास रोग, सघन उपचार (क्रिटिकल केयर) र निद्रा रोगसम्बन्धी विशेषज्ञ स्वास्थ्य सेवा सञ्चालनमा ल्याएको छ। अस्पतालले मंगलबारदेखि एकैसाथ तीन विधामा विशेषज्ञ सेवा प्रारम्भ गरेको हो।

फोक्सो तथा श्वासप्रश्वास रोग, सघन उपचार र निद्रा रोगसम्बन्धी विशेषज्ञ सेवा डा. रञ्जित पाण्डेबाट प्रदान गरिने अस्पतालले जनाएको छ। नयाँ विशेषज्ञ सेवाको अस्पताल विकास समितिका अध्यक्ष डा. लक्ष्मण सिग्देल, प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. नवीन दर्नाल, प्रमुख कन्सल्टेन्ट डर्माटोलोजिस्ट डा. बद्री चापागाईं, वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डे तथा नर्सिङ प्रमुख पदमा देवी देवकोटालगायतले संयुक्त रूपमा उद्घाटन गर्नुभएको थियो ।

अस्पतालका अनुसार उक्त विशेषज्ञ सेवा ओपीडी–७ (ए) बाट प्रत्येक हप्ताको मंगलबार र बिहीबार नियमित रूपमा उपलब्ध हुनेछ।

यस सेवाको सुरुवातसँगै फोक्सो तथा श्वासप्रश्वाससम्बन्धी विभिन्न रोग, जटिल स्वास्थ्य अवस्था भएका बिरामीको सघन उपचार तथा निद्रासम्बन्धी समस्याको पहिचान, परीक्षण र उपचारमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ। विशेषगरी यस्ता समस्याबाट प्रभावित बिरामीले विशेषज्ञ परामर्श तथा उपचारका लागि अन्य अस्पतालमा धाउनुपर्ने बाध्यता न्यूनीकरण हुने विश्वास गरिएको छ।

भेरी अस्पतालले पछिल्लो समय विशेषज्ञ स्वास्थ्य सेवाको विस्तारलाई प्राथमिकतामा राख्दै सर्वसाधारणलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित विभिन्न उपचार विधि तथा विशिष्टीकृत सेवाहरू विस्तार गर्दै आएको छ।

यसैबीच, अस्पताल विकास समितिका सदस्य डा. डक्ट प्रसाद धितालले नयाँ विशेषज्ञ सेवाको प्रारम्भले बाँकेसहित पश्चिम नेपालका नागरिकलाई फोक्सो, श्वासप्रश्वास तथा निद्रा रोगसम्बन्धी विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त गर्न थप सहजता प्रदान गर्ने बताउनुभएको छ।

उहाँले भेरी अस्पतालमा विशेषज्ञ सेवाको विस्तार हुनु यस क्षेत्रको स्वास्थ्य सेवा सुदृढीकरणका दृष्टिले महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै यसबाट सर्वसाधारण नागरिकले आफ्नै क्षेत्रको सरकारी अस्पतालबाट विशिष्टीकृत स्वास्थ्य सेवा प्राप्त गर्ने अवसर थप विस्तार हुने विश्वास व्यक्त गर्नुभएको छ।