बाल विवाह मुक्त समुदाय निर्माणका लागि हातेमालो गर्ने प्रतिवद्धता

  ।   २०८३ कार्तिक १८, मंगलवार १४:१३

बर्दिया,। सुरक्षित भविष्य परियोजना अन्तर्गत बालविवाह तथा हानिकारक परम्परागत अभ्यासहरूको अन्त्यमा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाहरूको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम मधुवनमा सम्पन्न भएको छ ।

उक्त कार्यक्रम बाँके युनेस्को क्लब, राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालन गरिएको हो । कार्यक्रममा नगर उपप्रमुखसहित स्वास्थ्य, शिक्षा, प्रशासन तथा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रतिनिधिहरू, मधुवन नगरपालिका अस्पतालका प्रतिनिधि तथा विभिन्न स्वास्थ्य संस्थाका प्रमुख गरी १८ जना सरोकारवालाहरूको सहभागिता रहेको थियो । अन्तरक्रियाले बालविवाह तथा हानिकारक परम्परागत अभ्यासहरूको न्यूनीकरणका लागि संस्थागत सहकार्य, अनुभव आदानप्रदान र साझा प्रतिबद्धता सुदृढ गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको थियो ।

कार्यक्रममा मधुवन नगरपालिकाका उपप्रमुख अनिता चौधरीले बाँके युनेस्को क्लबले समुदायस्तरमा सञ्चालन गर्दै आएका बाल संरक्षण सम्बन्धी पहलहरूको प्रशंसा गर्दै बालविवाह रोकथाम तथा जनचेतना अभिवृद्धि पु¥याएको सकारात्मक योगदानको सराहना गर्नुभयो । साथै, किशोर किशोरी तथा भावनात्मक र मनोसामाजिक चुनौतीहरूको सामना गरिरहेका व्यक्तिहरूलाई आवश्यक परामर्श तथा सहयोग उपलब्ध गराउने उद्देश्यले नगरपालिकाले मनोवैज्ञानिक परामर्श सेवा स्थापना गर्ने योजना रहेको जानकारी गराउनुभयो ।

त्यसैगरी, शिक्षा शाखा प्रमुख नारायण प्रसाद खनालले बालविवाह अन्त्यका लागि नगरपालिका अन्तर्गतका विभिन्न शाखाहरू, गैरसरकारी संस्थाहरू तथा समुदायमा आधारित क्लबहरूबीच प्रभावकारी समन्वय र सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिनुभयो । स्वास्थ्य शाखा प्रमुख गीता घिमिरेले विभिन्न स्वास्थ्य संस्थाका प्रतिनिधिहरूलाई समुदायस्तरका जनचेतनामूलक गतिविधिमा सक्रिय सहभागिता जनाउन, किशोर किशोरी मैत्री स्वास्थ्य सेवा प्रवाह गर्न, स्वास्थ्य संस्थामा सेवा लिन आउने किशोरकिशोरीलाई सम्मानजनक र संवेदनशील व्यवहार गर्न तथा तथ्याङ्क र अभिलेख व्यवस्थापनलाई व्यवस्थित बनाउन आग्रह गर्नुभयो ।

कार्यक्रमको अन्त्यमा समुदायस्तरमा नियमित अनुगमन गर्ने, बालविवाहका घटनाहरूको समयमै पहिचान तथा जानकारी गराउने, परामर्श सेवालाई थप सुदृढ गर्ने र स्वास्थ्य संस्था भन्दा बाहिर गई परिवार तथा समुदायसम्म पुग्ने गरी संयुक्त जनचेतनामूलक अभियान सञ्चालन गर्ने साझा प्रतिबद्धता व्यक्त गरियो । कार्यक्रमको सहजीकरण बाँके युनेस्को क्लब, सुरक्षित भविष्य परियोजनाका परियोजना संयोजक गोविन्द प्रसाद लामिछानेले गर्नुभएको थियो भने संरक्षण अधिकृत विजय शर्माले सहयोग गर्नुभएको थियो । कार्यक्रमको व्यवस्थापन तथा समन्वय फिल्ड सुपरभाइजरहरू मिनु थारु र दीक्षा बिष्टले गर्नुभएको थियो ।

 

Next Post

भेरी अस्पतालमा फोक्सो, सघन उपचार तथा निद्रा रोगसम्बन्धी विशेषज्ञ सेवा सुरु

२०८३ कार्तिक १८, मंगलवार १४:१३
बाँके । भेरी अस्पताल नेपालगञ्जले फोक्सो तथा श्वासप्रश्वास रोग, सघन उपचार (क्रिटिकल केयर) र निद्रा रोगसम्बन्धी विशेषज्ञ स्वास्थ्य सेवा सञ्चालनमा ल्याएको छ। अस्पतालले मंगलबारदेखि एकैसाथ तीन विधामा विशेषज्ञ सेवा प्रारम्भ गरेको हो। फोक्सो तथा श्वासप्रश्वास रोग, सघन उपचार र निद्रा रोगसम्बन्धी विशेषज्ञ सेवा डा. रञ्जित पाण्डेबाट प्रदान गरिने अस्पतालले जनाएको […]