काठमाडौं । नेपाल सरकार, गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) लाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरेको छ ।
गृह मन्त्रालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिम नेपाल सरकारको स्वीकृति लिई सञ्चालनमा रहेको एन–प्याब्सनले ऐनको दफा ५ बमोजिम मन्त्रालयबाट जारी निर्देशन पटक–पटक पालना नगरेको जनाएको छ ।
मन्त्रालयका अनुसार संस्थाका पदाधिकारीहरूले नेपाल सरकारबाट स्वीकृत विधान तथा संस्थाको मूल उद्देश्यविपरीतका गतिविधिसमेत गरेको पाइएको बताएको छ।
यस विषयमा मन्त्रालयले सम्बन्धित सरोकारवाला पक्षहरूसँग २०८३ असोज २३ गते छलफल गरी राष्ट्रिय निर्देशन ऐन, २०१८ तथा मन्त्रालयबाट २०८३ भदौ १३ गते जारी निर्देशनबमोजिम कार्य गर्न आग्रह गरेको थियो । तर, उक्त निर्देशनसमेत पालना नभएको निष्कर्ष निकाल्दै ऐनको दफा ५ बमोजिमको निर्देशन उल्लङ्घन भएको ठहर गरिएको सूचनामा उल्लेख छ ।
सोही आधारमा राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ६ को उपदफा (२) बमोजिम एन–प्याब्सनलाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरिएको गृह मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले सार्वजनिक गरेको सूचनामा निलम्बन अवधिमा संस्थाको नाममा कुनै पनि समूह वा गुटबाट हुने गतिविधि गैरकानुनी हुने र प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनीसमेत दिएको छ ।
गृह मन्त्रालयको यस निर्णयले निजी तथा आवासीय विद्यालयसँग सम्बन्धित शैक्षिक संगठनहरूको गतिविधि र संस्थागत सुशासनको विषयलाई पुनः चर्चामा ल्याएको छ ।



