सबिता चन्द
नेपालगन्ज, कात्तिक १० । नेपालगन्जमा आयोजित स्मृति कार्यक्रममा वक्ताहरूले दिवंगत नेताहरूको राजनीतिक निष्ठा, त्याग र योगदानको उच्च सम्मान गर्दै पुष्पलालको विचारलाई केन्द्रमा राखेर कम्युनिस्ट शक्तिहरू एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो।
वामपन्थी राजनीतिक आन्दोलनमा महत्त्वपूर्ण योगदान पुर्याउनुभएका नेकपा एमालेका स्वर्गीय नेता बाबुराम गौतम र नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय अनुशासन समितिका सचिब स्वर्गीय नेता अशोक रोकाय ‘संकल्प’को स्मृतिमा नेपालगन्जमा आयोजित कार्यक्रममा सहभागी नेताहरूले उहाँहरूको राजनीतिक निष्ठा, त्याग, सामाजिक योगदान र क्रान्तिप्रतिको प्रतिबद्धताको स्मरण गर्नुभयो ।
नेपालगन्जस्थित होटल द ग्यालेक्सी दरबारमा नागरिक सरोकार मञ्च, बाँकेको आयोजनामा सम्पन्न स्मृति कार्यक्रममा विभिन्न वामपन्थी नेता तथा राजनीतिक व्यक्तित्वहरूले उहाँहरूको जीवन, विचार र योगदानमाथि चर्चा गर्दै कम्युनिस्ट आन्दोलनमा एकता आजको ऐतिहासिक आवश्यकता भएको धारणा व्यक्त गर्नुभयो।
राजनीतिक विभाजनभन्दा एकता महत्त्वपूर्ण
वाम राजनीतिक विश्लेषक नरेन्द्र जंग पिटरले स्वर्गीय नेता बाबुराम गौतम र स्वर्गीय नेता अशोक रोकाय (संकल्प)को योगदानको स्मरण गर्दै राजनीतिक आन्दोलनमा देखिएका विभाजन र आपसी दूरीप्रति आत्मसमीक्षा गर्नुपर्ने बताउनुभयो । उहाँले राजनीतिक शक्तिहरूबीचका मतभेदभन्दा आन्दोलनको उद्देश्य र जनताप्रतिको जिम्मेवारी महत्त्वपूर्ण हुने धारणा राख्नुभयो ।
आजको दिनले नयाँ समझदारी र एकताको आधार तयार गर्न सक्ने उल्लेख गर्दै उहाँले विचारअनुसारको कर्म र प्रतिबद्धताको महत्त्वमाथि प्रकाश पार्नुभयो ।
स्वर्गीय अशोक रोकायको राजनीतिक यात्राबारे चर्चा गर्दै उहाँले रोकाय नामका लागि मात्र नभई आफ्नो विचार र उद्देश्यअनुसारको कर्म गर्न प्रतिबद्ध व्यक्तित्व हुनुहुन्थ्यो भन्ने धारणा व्यक्त गर्नुभयो । तत्कालीन नेकपा माओवादी आन्दोलनमा सक्रिय रहनुभएका रोकाय २०५२ सालदेखि माओवादी आन्दोलनमा आबद्ध भएर योगदान पुर्याउनुभएको र आफ्नै छोरासमेत क्रान्तिका लागि समर्पण गर्नुभएको प्रसङ्ग स्मरण गरिएको थियो ।
स्वर्गीय नेता गौतम र रोकायको राजनीतिक निष्ठाको प्रशंसा
कार्यक्रममा नेकपा एमालेका नेता देवराज भारले स्वर्गीय बाबुराम गौतमलाई लामो राजनीतिक इतिहास बोकेका, निष्ठावान् तथा सामाजिक रूपमा सक्रिय व्यक्तित्वका रूपमा स्मरण गर्नुभयो । विभिन्न समयमा कम्युनिस्ट आन्दोलनभित्र राजनीतिक धार र संगठन परिवर्तन भए पनि गौतमले आफूले स्वीकार गरेको विचार र आन्दोलनसँग निरन्तर सम्बन्ध कायम राख्नुभएको उहाँले बताउनुभयो ।
पुष्पलालसँग जोडिएको राजनीतिक धारदेखि विभिन्न कम्युनिस्ट संगठन हुँदै एमालेसम्मको राजनीतिक यात्राको प्रसङ्ग उल्लेख गर्दै भारले गौतमको जीवनलाई वैचारिक निष्ठा र प्रतिबद्धताको उदाहरणका रूपमा प्रस्तुत गर्नुभयो । उहाँ सामाजिक सम्बन्ध र जनतासँगको निकटताका कारण पनि स्मरणीय व्यक्तित्व हुनुहुन्थ्यो भन्ने धारणा उहाँले राख्नुभयो ।
त्यसैगरी, स्वर्गीय नेता अशोक रोकायलाई असल व्यक्ति र आत्मीय सहकर्मीका रूपमा स्मरण गर्दै उहाँले संविधानसभाको समयदेखि रोकायलाई नजिकबाट चिन्नुभएको बताउनुभयो । रोकायप्रति सम्मान व्यक्त गर्दै उहाँले उहाँलाई असल साथी र आफ्नै कमरेडका रूपमा स्मरण गर्नुभयो ।
आन्दोलनमा सबैलाई समेट्ने सोचका धनी नेता
पूर्वमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य नेता महेश्वर गहतराज ‘अथक’ले कमरेड बाबुराम गौतमसँगको पहिलो भेट र राजनीतिक सहकार्यको प्रसङ्ग स्मरण गर्नुभयो । सूर्य पराजुलीमार्फत गौतमसँग भेट भएको उल्लेख गर्दै उहाँले आन्दोलन सफल बनाउने र बाँके–बर्दियाका सबैलाई समेटेर अघि बढ्ने भावना गौतममा रहेको बताउनुभयो ।
स्वर्गीय नेता अशोक रोकायको योगदानबारे चर्चा गर्दै गहतराजले उहाँलाई क्रान्तिकारी युवाहरूमाथि विश्वास र भरोसा गर्ने नेताका रूपमा चित्रण गर्नुभयो । कम्युनिस्ट आन्दोलनमा रोकायले पुर्याउनुभएको योगदान अतुलनीय रहेको उल्लेख गर्दै उहाँले पुष्पलालको विचारलाई केन्द्रमा राखेर सबै कम्युनिस्ट शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
कम्युनिस्ट आन्दोलनको ऐतिहासिक विरासत जोगाउन वैचारिक स्पष्टता, आपसी विश्वास र सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो । वर्तमान राजनीतिक परिस्थितिमा कम्युनिस्ट एकतालाई ऐतिहासिक आवश्यकताका रूपमा लिनुपर्ने उहाँले बताउनुभयो ।
त्याग र प्रतिबद्धताबाट प्रेरणा लिनुपर्नेमा जोड
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य ढकालले स्वर्गीय नेता बाबुराम गौतम र कमरेड अशोक रोकाय दुवैको योगदान स्मरण गर्दै क्रान्ति र परिवर्तनको उद्देश्य पूरा गर्न सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभयो । उहाँहरूले देखाउनुभएको प्रतिबद्धताबाट प्रेरणा लिँदै सामूहिक उद्देश्यका लागि एकजुट हुनुपर्ने उहाँको धारणा थियो ।
त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य आइपी खरेलले व्यक्तिको योगदानको सम्मान उहाँ जीवित छँदै गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “मान्छे मरेपछि होइन, जिउँदै छँदा सम्मान गर्नुपर्छ ।”
उहाँको भनाइले राजनीतिक तथा सामाजिक क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरूको समयमै कदर र सम्मान गर्नुपर्ने आवश्यकतालाई उजागर गरेको थियो । नेता खरेलले स्वर्गीय नेता गौतम र रोकायको गहिरो स्मरण गर्नु भयो । दुबै नेतासँग गहिरो सम्बन्ध भएको बताउने नेता खरेलले २०५२ सालको स्मरण गराउनु भयो ।
खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक ‘तुफान’ले विश्व राजनीतिक परिवेशमा कम्युनिस्ट आन्दोलनको पुनःउदय र एकताको आवश्यकताबारे चर्चा गर्नुभयो । विभाजित भएर अघि बढ्नुभन्दा साझा उद्देश्यका लागि एकताबद्ध हुनुको विकल्प नरहेको उहाँले बताउनुभयो।
कार्यक्रममा सहभागी अन्य नेताहरूले पनि स्वर्गीय बाबुराम गौतम र स्वर्गीय अशोक रोकायको राजनीतिक जीवन, योगदान, त्याग र विचारको स्मरण गर्दै कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध, जनमुखी र उद्देश्यपरक बनाउनुपर्नेमा जोड दिनुभयो ।
स्मृति कार्यक्रमले दिएको एकताको सन्देश
कार्यक्रम दिवंगत नेताहरूको स्मरणमा मात्र सीमित नभई उहाँहरूले अघि सार्नुभएका राजनीतिक आदर्श, प्रतिबद्धता र सामूहिक परिवर्तनको आकाङ्क्षालाई वर्तमानमा कसरी आत्मसात् गर्ने भन्ने विषयमा विचार आदानप्रदान गर्ने अवसरसमेत बनेको थियो ।
वक्ताहरूका अभिव्यक्तिमा फरक–फरक राजनीतिक अनुभव र दृष्टिकोण देखिए पनि कम्युनिस्ट आन्दोलनमा बढ्दो विभाजनको समीक्षा गर्दै साझा विचार, उद्देश्य र जनताप्रतिको उत्तरदायित्वका आधारमा सहकार्य गर्नुपर्ने विषय प्रमुख रूपमा उठेको थियो।
पुष्पलालको विचारलाई केन्द्रमा राखेर कम्युनिस्ट शक्तिहरूबीच एकता कायम गर्नुपर्ने सन्देशसँगै सम्पन्न स्मृति कार्यक्रमले राजनीतिक योगदानको सम्मान, पुराना सहकर्मीबीचको सम्बन्ध र भावी पुस्तालाई आन्दोलनका अनुभव हस्तान्तरण गर्नुपर्ने आवश्यकतासमेत औँल्याएको छ ।
नागरिक सरोकार मञ्च, बाँकेको आयोजनामा सम्पन्न कार्यक्रमको अध्यक्षता नेकपा एमालेका नेता नन्दलाल रोकायले गर्नुभएको थियो ।


